Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी म्याड्रिड
२०७६ चैत २८ शुक्रबार ०६:२१:००
Read Time : > 2 मिनेट
खेलकुद

धमाधम खेलाडीको तलब कटौती

कोरोना भाइरसका कारण आर्थिक संकटबाट बच्न खेलाडी, प्रशिक्षक र पदाधिकारीको तलब कटौती गर्दै युरोपियन क्लब

Read Time : > 2 मिनेट
एजेन्सी म्याड्रिड
२०७६ चैत २८ शुक्रबार ०६:२१:००

युरोपियन फुटबलमा कोरोना भाइरसको प्रत्यक्ष असर परेको छ । युरोपका बलिया क्लबले आफ्नो खर्च धान्न धमाधम खेलाडीको पारिश्रमिक कटौती गरिरहेका छन् । प्रारम्भिक चरणमा घरेलु फुटबल प्रतियोगिता स्थगित हुँदा धनी क्लबहरूले खेलाडीको पारिश्रमिक कटौती नगर्ने सोच बनाएका थिए । तर, अहिले फुटबल गतिविधि सुरु हुने छाँटकाँट नदेखिँदा उनीहरूले धमाधम खेलाडीको पारिश्रमिक नै कटौती गर्न बाध्य भएको जनाएका छन् । 

यसअघि मध्यम र सामान्य क्लबले कोरोना भाइरस महामारीका रूपमा फैलुनअघि नै तलब कटौती सुरु गरेका थिए । तर, युरोपियन फुटबलका शीर्ष डिभिजन क्लबहरू नै अहिले आफ्ना खेलाडीलाई तलब कटौतीमा सहमति गराइरहेका छन् । 

रियलमा १० देखि २० प्रतिशत कटौती

स्पेनमा करोना भाइरस चर्को रूपमा फैलिइरहेको छ । यही महामारीका कारण यहाँ खेलकुद गतिवधि ठप्प छ । आर्थिक रूपमै विश्वमै सम्पन्न मानिएको रियल म्याड्रिडले खेलाडी तथा पदाधिकारीसँगको छलफलपछि १० देखि २० प्रतिशतसम्म तलब कटौती गर्ने भएको छ । म्याड्रिडका खेलाडी र प्रशिक्षकको वार्षिक १० देखि २० प्रतिशत तलब कटौती हुने भएको छ । अहिले स्पेनमा संकटकाल घोषणा गरिएको छ । रियल म्याड्रिडको बास्केटबल टोलीले पनि तलब कटौतीमा सहमति जनाएको छ । 

रियल म्याड्रिडका निर्देशक एन्जेल सान्चेजले खेलाडीसँग तलब कटौतीका विषयमा छलफल गर्दै आएका थिए । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोससहित छलफल भएको थियो । कप्तान रामोसले प्रस्तुत गरेको खेलाडीको सुझाबअनुसारै क्लब १० देखि २० प्रतिशतसम्म तलब कटौती गर्ने पक्षमा पुगेको हो । यसैबीच केही खेलाडीको पाँच प्रतिशत मात्र तलब कटौती गर्नेबारे वार्ता भएको छ । रामोस र प्रशिक्षक जिनेदिने जिदानले १० प्रतिशत मात्र तलब कटौतीमा जोड दिए । यो सिजन पुनः सुरु नहुँदा २० प्रतिशत तलब कटौती हुनेछ ।

वायर्नले ग-यो २० प्रतिशत कटौती

यसअघि नै जर्मनीको बुन्डेस क्लब वायर्न म्युनिखका खेलाडीको तलब २० प्रतिशत कटौती गर्ने निर्णय भइसकेको थियो । कोरोना भाइरस महामारीका कारण  वायर्नले खेलाडीलाई तलब कटौतीमा सहयोग गर्न आग्रह गरेको थियो । खेलाडीबाट कटौती गरिएको तलबले क्लबका अन्य कामदारलाई आर्थिक सहयोग गरिने म्युनिखले जानकारी दिएको थियो । वायर्नका स्ट्राइकर रोबर्टो लेवान्डोस्कीले कोरोना प्रभावितलाई १० लाख युरो सहयोग गर्ने घोषणा गरेका थिए । त्यस्तै, बोरुसिया मोन्चेनग्लाडवाच र बोरुसिया डर्टमुन्डका खेलाडी पनि तलब कटौती गर्न सहमत भएका थिए ।

सिरी एको सर्वसम्मत निर्णय

इटालीको सिरी ए लिग सञ्चालकले आफ्ना सबै सदस्यलाई तलब कटौतीमा सहमत गराएको छ । अवरुद्ध लिग सिजन पुनः सुरु भएमा दुईदेखि तीन महिना र सिजन रद्द भएको अवस्थामा खेलाडीको एकतिहाइ पारिश्रमिक कटौती गर्न क्लबहरूले सहमति जनाएका छन् । सिरिए च्याम्पियन युभेन्ट्सले यो निर्णय हुनुअगावै खेलाडीसँग चार महिनाको तलब कटौती गर्ने निर्णय गरिसकेको थियो । यसबाट क्रिस्टियानो रोनाल्डोले मात्रै नौ मिलियन पाउन्ड गुमाउनेछन् । खेलाडीसँगको सहमतिपछि युभेन्ट्सलाई ८१ मिलियन पाउन्ड राहत मिलेको एजेन्सीहरूले जनाएका छन् । 

बार्सिलोना र एट्लेटिकोले गरे ७० प्रतिशत कटौती

स्पेनिस क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडका खेलाडीले ७० प्रतिशत तलब कटौती गर्न सहमति गरेका छन् । उनीहरूले खेलकुदमा प्रत्यक्ष सहभागी नहुने कामदारलाई पूर्ण तलब दिनका लागि आफ्नो तलबमा उल्लेखनीय कटौती गर्न सहमति जनाएका हुन् । एट्लेटिकोले चार सय ३० कर्मचारीलाई तलब वितरण गर्न आफ्ना खेलाडीको ७० प्रतिशत तलब कटौती गरेको हो । एट्लेटिकोको सिनियर पुरुष र महिला टिम, एट्लेटिकोको बी टिम तथा प्रशिक्षकले तलब कटौतीको विषयमा क्लबसँग आन्तरिक सहमति गरेका छन् । एट्लेटिकोले सिजन पुरा हुने वा रद्द हुने दुई विकल्पमा खेलाडीसँग सम्झौता गरिएको जनायो । 

समस्या समाधानका लागि क्लबको पहिलो टोलीले आधा रकमको योगदान गर्दा क्लब व्यवस्थापनमा रहेका सिइओ र निर्देशकहरूले आधा रकमबराबरको योगदान गर्ने क्लबले जनाएको छ । स्पेनिस क्लब बार्सिलोनाले पनि कोरोना भाइरस महामारीबाट पर्ने आर्थिक संकटसँग जुध्न भन्दै खेलाडीलाई ७० प्रतिशत तलब कटौतीका लागि सहमत गराएको थियो

इंग्लिस क्लब छलफलमा

इंग्लिस प्रिमियर लिगले कोरोना भाइरसविरुद्धको लडाइँमा तलब कटौतीमा सहमत भए पनि खेलाडीसँग कति तलब कटौती गर्ने विषयमा सहमत बनाउन सकेको छैन । खेलाडीको तलब कटौतीको विषयमा प्रिमियर लिगले प्रोफेसनल फुटबलर्स एसोसियसन (पिएफए)सँग छलफल गरे पनि आधिकारिक निर्णय भएको छैन । क्लबले खेलाडीलाई तलब कटौतीको प्रस्ताव गरेपछि प्रिमियर लिगले पिएफएसँग छलफल गरेको हो । खेलाडीलाई वार्षिक कुल ३० प्रतिशतसम्म तलब कटौतीका लागि सहमत गराउने प्रयास भइरहेको छ ।