१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २७ बिहीबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिम प्रदेश सरकारले विपन्नलाई प्रतिपरिवार तीन हजार दिने

Read Time : < 1 मिनेट
२०७६ चैत २७ बिहीबार १८:३१:००

कोरोना संक्रमण फैलन नदिन गरिएको लकडाउनले प्रभावित विपन्न परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले राहतस्वरूप नगद वितरण गर्ने भएको छ ।

विपन्न, श्रमिक, असहाय र ज्यालादारीमा काम गर्ने मजदुरका परिवारलाई प्रतिपरिवार तीन हजार रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको हो । स्थानीय तहहरूमार्फत वितरण गरिने राहतका लागि १६ करोड रुपैयाँ निकासा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए ।

प्रदेश सरकारले तोकेको मापदण्डअनुसार विपन्न परिवार छनाेट स्थानीय तहले गर्नेछन् । लामो लकडाउनले दैनिक काम गरेर गुजारा चलाउने वर्ग समस्यामा परेकाले राहत दिन लागिएको मन्त्री शाहले बताए ।

बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै कोरोना संक्रमित तथा शंकास्पद बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा फिल्डमा खटिने सुरक्षाकर्मीका लागि संघीय सरकारको बाहेक १५ लाखको जीवन बिमाको व्यवस्था पनि सरकारले गरेको छ । १५ लाखको जीवन बिमा समाचार संकलनमा खटिने सञ्चारकर्मीका लागि पनि गरिएको मन्त्री शाहले जानकारी दिए ।

कोरोना संक्रमणको रोकथामका लागि व्यवस्थापकीय खर्च भनेर जिल्ला प्रशासन कार्यालयहरूलाई पाँच–पाँच लाख रुपैयाँ दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ । यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई १५–१५ लाख रुपैयाँका दरले उपलब्ध गराइने शाहले जानकारी दिए । त्यस्तै प्रदेश सरकारलाई फागुन मसान्तसम्म तिरिसक्नुपर्ने कर, शुल्क र दस्तुर बुझाउने म्याद वैशाख मसान्तसम्म थप गरिएको छ ।