मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
काठमाडौंबाट सेनाको जहाजमा सुदूरपश्चिम प्रदेशमा पठाइएको पिसिआर मेसिन धनगढी विमानस्थलमा निकालिँदै
अर्जुन अधिकारी काठमाडाैं
२०७६ चैत २७ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

काठमाडौंमा थन्किएका कोरोना जाँच्ने पिसिआर मेसिन धनगढी, नेपालगन्ज र पोखरा पठाइयो

Read Time : > 2 मिनेट
२०७६ चैत २७ बिहीबार ०६:२४:००

नयाँ पत्रिका समाचार प्रभाव

काठमाडौंमा प्रयोगविहीन राखिएका कोरोना जाँच्ने पिसिआर मेसिन सरकारले प्रदेशका प्रयोगशालामा पठाएको छ । एकैपटक ९७ नमुना परीक्षण गर्ने क्षमताका मेसिन सुदूरपश्चिमको धनगढी, गण्डकीको पोखरा र प्रदेश ५ को नेपालगन्जमा पठाएको हो । 

कोरोना परीक्षण सुस्त हुँदा सरकारले भने २४ पिसिआर मेसिन प्रयोगविहीन राखेको समाचार बुधबार नयाँ पत्रिकाले प्रकाशित गरेको थियो । बुधबार नै तीन प्रदेशमा एक–एक मेसिन पठाइएको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले धनगढी, पोखरा र नेपालगन्जमा बुधबार नै ठूला मेसिन जडान गर्ने काम सुरु भएको बताए । ‘पोर्टेबल पिसिआरबाट परीक्षण सुस्त भयो, त्यसैले परीक्षणको दायरा बढाउन काठमाडौंमा थन्किएका ठूला पिसिआर मेसिन प्रदेशमा जडान गर्न थालिएको छ,’ प्रवक्ता डा. देवकोटाले भने, ‘वीर अस्पतालमा पनि चाँडै पिसिआर सञ्चालनमा ल्याउने तयारी भएको छ ।’

धनगढीमा बिहीबारबाटै पिसिआरबाट नमुना परीक्षण गर्ने तयारी छ । सेनाको स्काई ट्रकबाट मेसिन धनगढी पु¥याइएको थियो । पशुरोग अन्वेषण प्रयोगशालामा जडान सुरु गरिएको र सम्भवतः बिहीबारबाटै नमुना जाँच सुरु हुने सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्र कार्कीले बताए । 

देशभर २९ पिसिआर रहेकामा पाँचवटा मात्रै सञ्चालनमा छन् । बुधबार तीनवटा धनगढी, पोखरा र नेपालगन्ज लगेपछि पनि २१ मेसिन अझै प्रयोगविहीन छन् । वीर, पाटन र ठिमी अस्पतालदेखि त्रिभुवन विश्वविद्यालय र विभिन्न अनुसन्धान केन्द्रहरूमा ती मेसिन थन्किएका छन् । सरकार भने एकपटकमा १५ मात्रै नमुना परीक्षण गर्न सक्ने क्षमताको चिनियाँ पोर्टेबल पिसिआर प्रयोग गरिरहेको छ । 

चिनियाँ मेसिनबाट जाँच्न ढिला हुँदा हालसम्म दुई हजार तीन सय ६६ नमुना परीक्षण मात्रै भएको छ । उपत्यकाभित्र एक हजार नौ सय ६५ र उपत्यकाबाहिर चार सय एकको परीक्षण भएको हो । अहिलेसम्म नेपालमा नौ संक्रमित भेटिएका छन् । तर, पछिल्लो समय नयाँ संक्रमित फेला नपरेको डा. देवकोटाले बताए ।

सुदूरपश्चिममा एकै दिन पाँच सय ४४ नमुना संकलन, संक्रमितसँग आएकाहरू क्वारेन्टाइनबाहिरै हुँदा जोखिम

कोरोना संक्रमणको उच्च जोखिम आकलन गरिएको सुदूरपश्चिममा नमुना संकलन तीव्र पारिएको छ । बुधबार एकैदिन पाँच सय ४४ जनाको नमुना संकलन गरिएको छ । 

डोटीमा तीन सय ३२, कञ्चनपुरमा एक सय चार, अछाममा ६८, कैलालीमा ३८ र डडेल्धुरामा दुईवटा नमुना संकलन गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले बताइन् । मंगलबार दुई सय २६ नमुना संकलन भएको थियो । 

सुदूरपश्चिममा बुधबारसम्म एक हजार एक नमुना संकलन भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख एवं कोरोना फोकल पर्सन नरेन्द्र कार्कीले बताए । एक सय ८४ को परीक्षण भएकोमा चारजनामा कोरोना पोजेटिभ देखिएको छ । 

तर, संक्रमितसँगै बाहिरबाट आएकाहरू अझै पनि क्वारेन्टाइनबाहिरै हुँदा संक्रमण फैलिने जोखिम झन् बढेको छ । कैलालीको लम्कीका संक्रमित युवा १२ चैतमा गौरीफन्टा नाका भएर भित्रिएका थिए । भारतबाट आउने नौ सय ९९ जनाको भीडमा उनी पनि एक दिन नाकामा थुनिएका थिए । तर, उनीसँग फर्किएका सबै अहिलेसम्म क्वारेन्टाइनमा छैनन् । 

‘संक्रमितसँगै फर्केकाहरूको विवरण जिल्लामा पठाएका छौँ । खोजी भइरहेको जानकारी आएको छ,’ स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘अहिलेसम्म कति क्वारेन्टाइनमा छन् भन्ने विवरण पनि आएको छैन ।’ मन्त्रालयले उनीहरूलाई सीमामा रोक्न खटिएका सुरक्षाकर्मीको पनि नमुना संकलन गर्ने जनाएको छ । 

भारतबाटै फर्किएका कञ्चनपुरका अर्का संक्रमित युवासँग फर्किएका ११ जना भने क्वारेन्टाइनमा छन् । मन्त्रालयले भारतबाट संक्रमितसँगै आएको भीडलाई सीमामा रोक्न खटिएका सुरक्षाकर्मीको पनि नमुना संकलन गर्ने जनाएको छ । 

अर्का संक्रमित दुबईबाट काठमाडौं हुँदै धनगढी आएका थिए । उनको परिवारका एक सदस्यलाई पनि संक्रमण देखिएको छ । हाल प्रदेशभर दुई हजार तीन सय ९९ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ ।