Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २६ बुधबार ०८:२५:००
Read Time : > 1 मिनेट
अर्थ

कोरोनाविरुद्ध जुध्न विश्व बैंकको साढे ३ अर्ब ऋण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २६ बुधबार ०८:२५:००

विश्व बैंकले कोरोना भाइरस रोकथाम, रोग पत्ता लगाउन तथा जुध्न नेपाललाई करिब ३ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण प्रदान गर्ने भएको छ । कोभिड–१९ आपत्कालीन प्रतिक्रिया तथा स्वास्थ्य प्रणाली तयारी परियोजनाका लागि विश्व बैंकले फास्ट ट्र्याकमा स्वीकृत गरेको २ करोड ९० लाख अमेरिकी डलर (करिब साढे ३ अर्ब रुपैयाँ) ऋण स्वास्थ्य मन्त्रालयले खर्च गर्नेछ ।

मंगलबार अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंक नेपालका प्रबन्धक फारिस हदाद जर्वोसले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । यो ऋण नेपाल सरकारले ३८ वर्षमा तिरिसक्नुपर्नेछ । 

कुल सहयोग रकममध्ये ८० प्रतिशत अर्थात् २ अर्ब ७८ करोड रुपैयाँ कोरोनाको परीक्षण तथा उपचारमा आवश्यक स्वास्थ्य सामग्री खरिदमा खर्च हुने विश्व बैंकले जनाएको छ । ‘परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण, आइसियू, आइसोलेन वार्ड तथा प्रयोगशाला निर्माण, भेन्टिलेटर खरिदलगायतमा यो सहयोगको अधिकांश रकम खर्च हुनेछ,’ विश्व बैंकले जानकारी दिएको छ । बाँकी रकम स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, बिरामी पत्ता लगाउन, सम्पर्क व्यक्ति खोज्नेलगायत काममा खर्च हुनेछ । 

विश्व बैंकको यो सहयोगबाट नेपाल सरकारले काम नै सुरु गरिसकेको विश्व बैंकका नेपाल प्रबन्धक जर्वोसले बताए । विश्व बैंक समूहले कोभिड–१९ को रोकथाम र रिकभरीका लागि घोषणा गरेको १४ अर्ब अमेरिकी डलर सहयोगअन्तर्गत नेपालले यो सहयोग पाएको हो ।

‘यो प्रारम्भिक चरणको सहयोग हो, विश्व बैंकका अध्यक्षले आउने १५ महिनामा १ खर्ब ६० अर्ब रुपैयाँ कोभिड–१९ पछिको पुनरुत्थानमा सहयोग गर्ने घोषणा गरिसकेका छन्, आगामी दिनको आवश्यकताका आधारमा नेपालले पनि थप सहयोग पाउनेछ,’ उनले भने ।  

छाेटो समयमै विश्व बैंकले दिएको सहयोगले नेपाललाई कोरोनासँग जुध्न मद्दत पुग्ने अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले बताए । यो सहयोगबाट हुने खरिद विश्व बैंक र नेपाल सरकारको मादण्डअनुरूप नै हुने जर्वोसले बताए । ‘कोरोनाविरुद्धको लडाइँमा हामीले चाँडो काम गर्नुपर्नेछ, तर त्यसो भनेर गुणस्तरमा सम्झौता हुनेछैन । उचित मूल्यमा उच्च गुणस्तरका सामान खरिद हुनेछ,’ उनले भने । 

अर्थमन्त्री र गभर्नरले ठूला दाताका उच्च अधिकारीसँग छलफल गर्ने

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्व बैंक, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंक तथा अन्तर्राष्ट्रिय मुद्राकोषका उपाध्यक्षहरूसँग छलफल गर्ने भएका छन् । यही शुक्रबार हुने त्यो छलफल, कोरोनाले थलिन सक्ने अर्थतन्त्रमा आवश्यक प्रोत्साहन र पुनरुत्थानका विषयमा केन्द्रित हुने विश्व बैंक नेपालका प्रबन्धक जर्वोसले बताए । यस्तै किसिमको छलफल यसअघि पनि एकपटक भइसकेको छ ।