मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पेप ग्वार्डिओला, इंग्लिस टोली म्यानचेस्टर सिटीका प्रशिक्षक
एजेन्सी म्याड्रिड
२०७६ चैत २६ बुधबार ०६:५४:००
Read Time : < 1 मिनेट
खेलकुद

कोरोना भाइरसकाे संक्रमणबाट प्रशिक्षक ग्वार्डिओलाकी आमाको निधन 

Read Time : < 1 मिनेट
एजेन्सी म्याड्रिड
२०७६ चैत २६ बुधबार ०६:५४:००

इंग्लिस टोली म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । उनकी आमा डोलोर्स साला कारियोको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको म्यानचेस्टर सिटीले जानकारी गराएको हो ।

‘क्लबसँग सम्बन्धित सबैले यो कठिन घडीमा पेपलाई समवेदना पठाएका छन्,’ म्यान सिटीले विज्ञप्तिमा भनेको छ । ग्वार्डिओलाकी आमा कारियोको ८२ वर्षको उमेरमा सोमबार बार्सिलोनामा मृत्यु भएको हो । स्पेनमा सोमबार मात्रै कोरोना भाइरस संक्रमणबाट ग्वार्डिओलाकी आमासहित ६ सय ३७ जनाको मृत्यु भएको थियो ।

ग्वार्डिओलाले गत महिना मात्रै कोरोना भाइरसविरुद्धको लडाइँका लागि १० लाख युरो सहयोग गरेका थिए । उनको त्यो सहयोग रकम कोरोना भाइरस संक्रमणबाट अस्पतालमा भर्ना भएकाहरूका लागि आवश्यक उपचार सामग्री खरिदमा प्रयोग गरिनेछ । 

कोरोना भाइरसविरुद्धको अभियानका लागि ठूलो आर्थिक सहयोग गरेका ग्वार्डिओलाले आफ्नी आमालाई भने भाइरसबाट बचाउन सकेनन् । गार्डिओलाकी आमा कारियो बस्दै आएको बार्सिलोना स्पेनमै सबैभन्दा बढी कोरोना भाइरसबाट संक्रमित भेटिएको ठाउँ हो ।

ग्लार्डिओलाको यो दुःखद समयमा अन्य क्लबहरूबाट पनि समवेदना आएका छन् । ‘यो दुःखद समाचारबाट क्लब परिवार स्तब्ध छ,’ छिमेकी म्यानचेस्टर युनाइटेडले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ, ‘यो दुःखद घडीमा क्लब परिवार हार्दिक समवेदना प्रकट गर्न चाहन्छ ।’

ग्वार्डिओला सन् २०१६ देखि म्यान सिटीका प्रशिक्षकको जिम्मेवारीमा छन् । त्यसअघि उनले स्पेनी टोली बार्सिलोना र जर्मन टोली वायर्न म्युनिखलाई पनि प्रशिक्षण दिलाएका थिए । 

लामो समय नेतृत्वमा रहेर ठूला सफलता दिलाएको क्लब बार्सिलोनाले पनि दुःख व्यक्त गरेको छ । ‘कारियोको मृत्युको खबरले हामीलाई पनि निकै दुःख महसुस भएको छ,’ क्लबले ट्विटरमा लेखेको छ, ‘यो समयमा हामी ग्वार्डिओला, उनको परिवार र साथीभाइप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौँ ।’