मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७५ माघ ९ बुधबार १३:४८:००
Read Time : > 1 मिनेट
विश्व

क्यानडेलीलाई रिहा गर्न १९ देशका कूटनीतिज्ञले पठाए चीनलाई पत्र

Read Time : > 1 मिनेट
एजेन्सी
२०७५ माघ ९ बुधबार १३:४८:००

विश्वका ११६ प्राज्ञ र दुई दर्जनभन्दा बढी पूर्वकूटनीतिज्ञहरूले चीनमा थुनामा रहेका दुईजना क्यानडेली नागरिकलाई तत्काल रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी जिन पिङलाई खुला पत्र लेखेका छन् । १९ देशका २७ पूर्वकूटनीतिज्ञ र ११६ प्राज्ञिकले संयुक्त रूपमा राष्ट्रपति सीलाई मंगलबार खुला पत्र पठाएका हुन् ।

किन थुनामा राख्यो बेइजिङले ?
बेइजिङविरुद्ध गुप्तचरी गरेको आरोपमा चीनले मिसेल कोभरिङ र मिसेल स्पाभोरलाई डिसेम्बर १० देखि थुनामा राखेको छ । कोभरिङ पूर्वकूटनीतिज्ञ हुन् भने स्पाभोर व्यापारी हुन् । चीनको राष्ट्रिय सुरक्षामा गम्भीर जोखिम बढाएको र गोप्य सूचना चुहाएको भन्दै चीन सरकारले उनीहरूलाई थुनामा राखेको छ । स्पाभोरको उत्तर कोरियासँग गहिरो सम्बन्ध छ । उत्तर कोरियासँग चीन, क्यानडा र अमेरिकाको सम्बन्ध सुमधुर बनाउन विगतमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए । 

हुवावेकी प्रमुखलाई पक्राउ गरेको बदला
दुवै क्यानडेली नागरिकलाई डिसेम्बर १० मा चीनमा पक्राउ गरिएको थियो । उनीहरूलाई हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिकाको अनुरोधमा क्यानडामा गरिएको पक्राउको बदलास्वरूप थुनामा राखिएको अनुमान गरिएको छ । इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको हुवावेले उल्लंघन गरेको आरोप क्यानडाले १ डिसेम्बरमा मेङलाई पक्राउ गरेको थियो । सो आरोप हुवावेले अस्वीकार गर्दै आएको छ ।

चीन–क्यानडा सम्बन्धमा दरार
डिसेम्बर १ मा चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेकी वित्तीय प्रमुखको पक्राउपछि चीन र क्यानडाको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । उनको पक्राउलगत्तै चीनले दुई क्यानडेली नागरिक पक्राउ गरेको थियो । उनीहरूको पक्राउपछि दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भइरहेका बेला पूर्वकूटनीतिज्ञ र प्राज्ञिकहरूको पत्र सार्वजनिक भएको छ । चीनमा आफ्ना नागरिकमाथि विनाकसुर, एकपक्षीय कानुनी कारबाही गरेको क्यानडाले आरोप लगाएको छ । चीन भ्रमण गर्नुअघि सावधानी अपनाउन पनि क्यानडाले आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

हस्ताक्षर गर्ने चर्चित प्राज्ञिकहरूमा जोन हप्किन्स स्कुल अफ इन्टरनेसनल स्टडिजका अमेरिकी अनुसन्धानकर्ता डेभिड ल्याम्पटन, सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका बोनी ग्लासर, न्युयोर्क युनिर्भसिटीका प्राध्यापक जिरोम कोहेन छन् । पत्रमा हस्ताक्षर गर्नेमा रसिया, जापान, सिंगापुर, फिलिपिन्सलगायत देशका प्राज्ञिक छन् । 

मृत्युदण्ड पाएका क्यानडेलीलाई माफी दिन अनुरोध
लागुऔषध ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानेडेली नागरिकलाई माफी दिन क्यानडाले बेइजिङसमक्ष आग्रह गरेको छ । क्यानेडेली नागरिक रोबर्ट लोयड सेलेन्बर्गलाइ क्षमा दिन क्यानडाले आग्रह गरेको छ । 

चीनको एक अदालतले यसै साता ३६ वर्षीय रोबर्टलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ‘रोबर्टलाई तत्काल रिहा गर्न हामीले क्यानडास्थित चिनियाँ राजदूतसमक्ष आग्रह गरेका छौँ,’ क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले भनिन् । क्यानडाले लामो समयदेखि मृत्युदण्डको सजाय नदिइएको विदेशमन्त्री फ्रिल्यान्डले बताइन् ।

सो सजाय सुनाएलगत्तै चीन र क्यानडाबीच कूटनीतिक विवाद चुलिएको छ । चीनमा हरेक वर्ष कम्तीमा दुईजना विदेशीले मृत्युदण्डको सजाय पाउने गरेको एक तथ्यांकले देखाएको छ । 

के लेखिएको छ पत्रमा ?
अंग्रेजी र चिनियाँ भाषामा लेखिएको सो पत्रमा चीनमा थुनामा रहेका कोभरिङ स्पाभोरले चीनको बारेमा थप अध्ययन गरी अन्य देशसँगको सम्बन्धमा थप सहयोग पु¥याएको उल्लेख छ ।

रचनात्मक कार्य गर्दागर्दै पनि उनीहरू पक्राउ परेकाले आगामी दिनमा चीनमा बसेर अनुसन्धनात्मक कार्य गर्न जोखिम रहेको सन्देश चीनले दिएको पत्रमा जनाइएको छ । पत्रमा विश्वका १९ देशका १४३ जना पूर्वकूटनीतिज्ञ र प्राज्ञले हस्ताक्षर गरेका छन् ।