१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत २५ मंगलबार १५:३२:००
Read Time : > 1 मिनेट
समाचार

राहत वितरणबारे विवाद हुँदा मिर्चैयामा झडप

Read Time : > 1 मिनेट
२०७६ चैत २५ मंगलबार १५:३२:००

सिराहाको मिर्चैया नगरपालिका– २ मल्हनियाँखोरीमा राहत वितरणको विषयमा सोमबार साँझ झडप भएको छ । झडपमा घाइते भएका दुईजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तु जैसवालका अनुसार एकद्वार प्रणालीअन्तर्गत राहत वितरण गरिरहेको नगरपालिका र वडा कार्यालयसँग असन्तुष्ट भएकाहरूले आफ्नै ढंगले राहत वितरण गरेपछि विवाद उत्पन्न भएको हो । 

कोरोना महामारीको कारण संकटपूर्ण अवस्था भएकाले झडपमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको उनले बताए । मिर्चैया नगरका प्रमुख श्रवणकुमार यादवले मिर्चैया– १ का अमोदसहित कासिन्द्र महतो, गंगा महतोलगायतका व्यक्तिहरूले आइतबार नगरले बाँडेको राहत फिर्ता गर्न लगाएपछि विवाद भएको उल्लेख गरे ।

नगरले बाँडेको राहत बुझेर घर फर्किएका मिर्चैया– १ का किशोरी भनिने भोला कापैर, मागैन कापैर र बतहा कापैरलाई एक घन्टापछि नै पुन: फिर्ता गर्न लगाई मिर्चैया नगर कांग्रेसले सामाजिक सञ्जालमा पोष्ट गरेपछि छानबिनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइएको वडाध्यक्ष धनिकलाल यादवले बताए । 

‘एकद्वार प्रणालीमा राहत बाँड्न नगरले गरेको आग्रह लत्याएपछि विवाद भएको हो,’ वडाध्यक्ष यादवले भने, ‘त्यसमा प्रदेश सांसद दिलीपकुमार साहले पनि समन्वय गर्नुभन्दा उक्साए ।’

आफ्नै ढंगले राहत बाँड्दा विवाद
कांग्रेसका मिर्चैया नगर सभापति रमेशप्रसाद न्यौपानेका अनुसार नगरले बाँडेको राहत पर्याप्त नभएपछि पार्टी समर्थक युवाहरूको पहलमा आइतबार वडा नम्बर १ मा र सोमबार ४० घरधुरी मजदुर परिवारका दलितहरूलाई राहत बाँडिएको थियो । 

‘राहत बाँडेर फर्किने क्रममा वडा २ को मल्हनिया स्वास्थ्य चौकीनजिक सोमबार साँझ करिब ५ बजेतिर विवाद भएको हो,’ नगर सभापति न्यौपानेले भने, ‘नगरले विपत् व्यवस्थापन कोषमा दाखिला गरेर बाँड्न भने पनि हामीले आफ्नै ढंगले बाँड्यौँ, विवाद त्यहीँबाट भएको हो ।’

नगरप्रमुख यादवले नगरको विपत् व्यवस्थापन समिति कोषका लागि ५० लाख रुपैयाँ जम्मा गरी १२ वडाका तीन सय परिवारलाई तत्काल १५ किलो चामल, दुई किलो दाल, दुई किलो आलु, दुई किलो चिउरा, एक किलो नुन, साबुन, तेल राहतस्वरूप बाँडिएको बताए । 

‘पहिलो चरणमा हरेक वडामा २५–२५ घरधुरीका लागि बाड्यौँ,’ नगरप्रमुख यादवले भने, ‘वडास्तरमा नाम संकलनपछि पुन: पाँच सय घरधुरीलाई बाँड्ने योजना छ ।’