ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आफ्नो क्षेत्रका नागरिकलाई आवश्यक पर्ने औषधि घरघरै पुर्याउने भएको छ ।
विभिन्न स्वास्थ्य समस्या भएका नागरिकले नियमित सेवन गर्ने औषधि लकडाउनका कारण किनेर ल्याउन समस्या हुन सक्ने भन्दै गाउँपालिकाले औषधि घरघरसम्मै पुर्याइदिने भएको हो ।
गाउँपालिकावासीले औषधि नपाएर समस्यामा परेको जानकारी आएपछि मागअनुसारको औषधि ल्याउने योजना बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले बताए ।
‘लकडाउनको समयमा औषधि ल्याउन नसकेर गाउँमा भएका बिरामीहरू समस्यामा छन् भन्ने सुनियो, त्यसैलाई मध्यनजर गर्दै औषधि ल्याउन सहजीकरण गर्ने योजना बनाएका हौँ,’ भट्टराईले भने, ‘सवारी आवागमन नभएको यो वेलामा औषधि नपाएर चिन्तामा कोही नबस्नुस्, हामीलाई औषधिको नाम र मात्रा सकेसम्म पुरानो औषधिको खोलसमेत जानकारी गराउनुस्, हामी घरैमा ल्याएर सहयोग गरिदिन्छौँ ।’
गाउँपालिकाले लकडाउनका कारण औषधि किन्न र ल्याउन नसक्ने बिरामीलाई औषधिको नाम र परिणाम नजिकको स्वास्थ्य संस्था र वडाध्यक्षहरूमार्फत गाउँपालिकामा टिपाउन अनुरोध गरेको छ ।
औषधि खरिद गर्दा लाग्ने दस्तुर भने बिरामी आफैँले व्यहोर्नुपर्नेछ ।