मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ११:२५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

साना बच्चाका अभिभावकले यसरी गर्न सक्छन् ‘वर्क फ्रम होम’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २५ मंगलबार ११:२५:००

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिएसँगै ‘वर्क फ्रम होम’को संस्कृति सुरु भएको छ । प्रायः अफिसका काम घरबाटै गर्न थालिएको छ । तर, के अफिसको जस्तो वातावरण घरमा हुन्छ ? पक्कै भिन्न हुन्छ । अफिसजस्तै स्कुल पनि बन्द छन् । यसकारण, बालबालिका भएका घरमा यो समय केही असहज भने हुन्छ । काम सोचेअनुसार सरल र सहज नहुन सक्छ । यद्यपि, यस्ता उपाय अपनाएमा बच्चाबच्ची भएका अभिभावकले सन्तानको राम्रो ख्याल गरेरै अफिसको कामसमेत गर्न सक्छन् ।

घर र अफिसका लागि कुन–कुन समय उपयुक्त हुन्छ । यस्तो समयको पहिचान गरी समयतालिका बनाउन सके घर तथा कार्यालयका दुवै काम सहज रूपमा सञ्चालन हुन सक्छन् ।  

- बच्चाबच्ची भएका घरमा अफिसको र घरायसी कामबारे राम्रो बातचित हुनुपर्छ । अफिसको काम कस्तो प्रकृतिको हो, यसका लागि कस्तो वातावरणको आवश्यकता पर्छ, सबै सदस्यलाई स्पष्टसँग बुझाउनुपर्छ जसमा बच्चाबच्चीलाई पनि समावेश गरौँ ।  निश्चित समयका लागि बच्चाबच्चीलाई अलग राख्न अपिल गर्ने, जसबाट परिवारका सदस्यबाट अफिसको समयमा कुनै प्रकारको बाधा नआओस् । 

- स्कुले तथा स–साना बच्चाको हकमा अफिसका कामलाई  बिहानको पहिलो समयमा सकाउन सकिन्छ । जुन समय बच्चाहरू निदाइरहेका हुन्छन् । ता कि दिउँसोको समय उनीहरूलाई दिन सकियोस् । 

- अफिसको जस्तो वातावरण घरमा जति नै प्रयास गरे पनि हुन सम्भव छैन । आँखाअगाडि देखिने सानातिना कामले ध्यान भंग गर्ने गर्छ । हुर्किरहेका बच्चा भएको घरमा बढी ख्याल गर्नुपर्ने हुन्छ । यसकारण पति–पत्नीबीच सल्लाह गरी बच्चा र घरायसी कामकाजको बाँडफाँड गर्दा अझ प्रभावकारी हुन्छ ।

- बच्चाबच्चीलाई सिर्जनात्मक कार्यमा संलग्न गराउनु अर्को तरिका हुन सक्छ । बच्चा प्रायः आफ्ना आमाबुबासँग बस्न र खेल्न रुचाउने हुन्छन् । यसकारण, आफूसँगै उनीहरूलाई पनि चित्र बनाउने, रंग भर्ने वा नयाँ क्रियाकलापमा ध्यान केन्द्रित गराउने प्रकारका खेलमा  संलग्न गराउन सकिन्छ । 

- अफिसमा हामी लामो समय बसेर काम मात्र गर्दैनौँ । चिया, खाजाजस्ता विभिन्न बहानामा ब्रेक लिएकै हुन्छौँ । त्यस्तै, ब्रेक ‘वोर्क फ्रम होम’मा पनि लिन सकिन्छ । दिनको केही समय बच्चाबच्चीसँग रमाउने, खाजा खाने, उनीहरूसँगै नुहाउने, योगा गर्ने, उनीहरूका कुरा सुन्ने गर्नुपर्छ । यस्ता क्रियाकलाप अभिभावक र बच्चा दुवैका लागि अविस्मरणीय हुन्छन् । 

- समय विभाजन अर्को प्रभावकारी उपाय हो । घर र अफिसका लागि कुन कुन समय उपयुक्त हुन्छ । यस्तो समयको पहिचान गरी समयतालिका बनाउन सके घरपरिवार तथा कार्यालयका काम दुवै सहज रूपमा सञ्चालन हुन सक्छन् ।