मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रभात भट्टराई
२०७६ चैत २५ मंगलबार ०७:१६:००
Read Time : > 6 मिनेट
पालिका अपडेट

सुरुको खेलाँचीले अमेरिकाले भोग्दै छ दुष्परिणाम

कोरोना भाइरसको नयाँ इपिसेन्टरबाट

Read Time : > 6 मिनेट
प्रभात भट्टराई
२०७६ चैत २५ मंगलबार ०७:१६:००

अहिले अमेरिकी कम्पनीले उत्पादन गरेका स्वास्थ्य उपकरण खरिद गर्न राज्य सरकारहरूबीच नै होड चलेको छ

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले युरोप र अमेरिकालाई इपिसेन्टर बनाएको छ । सोमबार रातिसम्म संसारभर १२ लाख ९० हजार संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ७० हजार नाघिसकेको छ । अमेरिकामा मात्र तीन लाख ३७ हजार संक्रमित छन् । मृतकको संख्या नौ हजार ६ सय नाघेको छ । जब कि चीनमा करिब ८२ हजार संक्रमित हुँदा ३३ सयले ज्यान गुमाएका छन् । अहिले चीनमा नयाँ रोगी थपिने क्रम नगण्य छ । अमेरिकामा दैनिक २० हजारभन्दा बढीमा कोरोना भाइरस पोजेटिभ देखिइरहेको छ । एक साता यता दैनिक एक हजारभन्दा बढीले ज्यान गुमाइरहेका छन् । यो तथ्यांकले अमेरिकाको साँच्चिकै भयावह अवस्था दर्साएको छ । सुरुमा गम्भीर नबनेकै कारण यतिवेला अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्न पुगेको छ ।

२० जनवरीमै अमेरिकामा देखिएको थियो पहिलो कोरोना संक्रमण

अमेरिकामा कोरोना भाइरसको पहिलो संक्रमण जनवरीमा २२ मा देखिएको थियो । चीनले कोरोनाबाट अत्यधिक प्रभावित सहर वुहान लकडाउन घोषणा गरेको अघिल्लो दिन थियो त्यो । वुहान लकडाउन र अमेरिकामा भाइरस देखिएसँगै यहाँका जनस्वास्थ्य विज्ञदेखि मिडिया र विपक्षी डेमोक्र्याटिक नेतासम्मले गम्भीरतापूर्वक लिनुपर्ने आवाज उठाउन थालिसकेका थिए । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका लागि यो एउटा बनावटी समस्या मात्र थियो । उनी पटक–पटक कोरोना भाइरस अमेरिकामा पूर्ण नियन्त्रणमा रहेको र त्यसले कुनै प्रभाव पार्न नसक्ने दाबी गरिरहेका थिए । २८ फेब्रुअरीमा अमेरिकामा ६८ जना संक्रमित व्यक्ति फेला परिसकेका थिए । तर, ट्रम्पले एक चुनावी सभामा भने, ‘यसले (भाइरस)ले संकट ल्याउँछ भन्नु डेमोक्र्याट्सको नयाँ बनावटी हल्ला (होक्स) मात्र हो ।’ 

एकातिर ट्रम्पको राजनीतिलक्षित अभिव्यक्ति अर्कातिर भाइरस जाँचमा ढिलाइ भइरहेको जनस्वास्थ्य अधिकारीहरूको चिन्ताबीच ५ फेब्रुअरीपछि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले देशका विभिन्न भेगमा जाँच उपकरण (टेस्ट किट)हरू पठाउन थाल्यो, तर तिनले सही नतिजा दिन सकेनन् । चीनलगायत सबै देशले शतप्रतिशत नतिजा दिने किट बनाइसक्दा पनि अमेरिका किन पछाडि छ भनेर विज्ञहरूले प्रश्न उठाए पनि ट्रम्प प्रशासनले तत्काल समाधान खोजेन । विश्व स्वास्थ्य संगठनले प्रयोग गरिरहेको प्रणाली लिएर जाँचमा तीव्रता दिन पनि ट्रम्प प्रशासनले आवश्यक ठानेन । केही नियमनकारी व्यवस्था हटाएर निजी अस्पताल र ल्याबलाई आफ्नै जाँच प्रणाली विकास गर्ने अनुमति पनि दिन सकिन्थ्यो, तर त्यो पनि गरिएन । नतिजास्वरूप कोरोना जाँचमा दक्षिण कोरिया, सिंगापुर र चीनभन्दा पछि पर्‍यो अमेरिका । भाइरसले देशभर विस्तारको मौका पायो ।

‘हामीले कोरोना भाइरसलाई व्यापक बन्न एकपछि अर्को अवसर दिइरह्यौँ,’ हार्भर्ड विश्वविद्यालयका सरुवा रोगविज्ञ विलियम हेनेजले केही समयअघि लेखेका थिए । फेब्रुअरीभरि नै ट्रम्प भाइरसले अमेरिकालाई प्रभाव नपार्ने र छिटै नियन्त्रणमा आउने दाबी गरिरहे । ‘जब अप्रिलमा केही न्यानो बढ्छ यो स्वतः नियन्त्रणमा आउँछ,’ १० फेब्रुअरीमा चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले भनेका थिए । २३ फेब्रुअरीमा भाइरस पूर्णतया नियन्त्रणमा रहेको दाबी उनले फेरि दोहोर्‍याए । उनको निरन्तर भनाइको एउटै सार थियो, ‘कोरोना भाइरस सामान्यभन्दा सामान्य समस्या हो, यसले अमेरिकालाई केही गर्न सक्दैन ।’ 

राष्ट्रपति ट्रम्पजस्तै सबै सरकारी अधिकारीले सामान्य ठाने

ट्रम्प मात्र होइन, उनको सरकारका सबै अधिकारीले कोरोना भाइरसलाई खेलाँची ठानेका थिए । नेपालका पर्यटनमन्त्री योगेश भट्टराईले भाइरसको संवेदनशीलता नबुझी नेपाललाई विश्वभर ‘कोरोना फ्री जोन’का रूपमा प्रचार गर्ने भनेजस्तै ट्रम्प प्रशासनका मन्त्रीहरू भाइरसले अमेरिकाको आर्थिक उन्नति हुने भन्दै जुँगामा ताउ लगाउन तल्लीन थिए । अमेरिकी वाणिज्यमन्त्री (कमर्स सेक्रेटरी) विलबर रोसले ३१ जनवरीमा एक टिभी अन्तर्वार्ता दिँदै भाइरसका कारण चीनका फ्याक्ट्री बन्द भएर उत्पादन रोकिँदा उत्तर अमेरिकी क्षेत्रमा रोजगारी बढ्ने दाबी गरेका थिए । 

५ फेब्रुअरीपछि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)ले देशका विभिन्न भेगमा जाँच उपकरण (टेस्ट किट)हरू पठाउन थाल्यो, तर तिनले सही नतिजा दिन सकेनन् । चीनलगायत सबै देशले शतप्रतिशत नतिजा दिने किट बनाइसक्दा पनि अमेरिका किन पछाडि छ भनेर विज्ञहरूले प्रश्न उठाए पनि ट्रम्प प्रशासनले तत्काल समाधान खोजेन ।

सरकार यस्तै प्रचारमा अलमल गरिरहँदा जाँच उपकरणको अभावमा भाइरस तीव्र रफ्तारमा फैलिइरहेको थियो । सबै वैज्ञानिक संकेतले अवस्था भयावह हुन सक्ने देखाए पनि राज्य सञ्चालकहरू यसप्रति सहमत थिएनन् । २३ फेब्रुअरीमा विश्व स्वास्थ्य संगठनले भाइरस ३० देशमा विस्तार भएर झन्डै ७९ हजारलाई संक्रमित बनाइसकेको घोषणा गर्‍यो । 

मार्च लाग्दासम्म भाइरसले विश्वभर तत्काल काबुमा नआउने प्रस्ट संकेत दिइसकेको थियो । तर, ट्रम्प अझै गम्भीर थिएनन् । अमेरिकामा संक्रमण बढ्दै जाँदा फेब्रुअरी अन्त्यदेखि नै आर्थिक मन्दीको भयले सेयर बजार घट्न थाल्यो । डोनाल्ड ट्रम्प भाइरस विस्तारभन्दा बजारको घट्दो गतिप्रति चिन्तित भए । उनले सिएनएन, एमएसएनबिसीजस्ता सञ्चारमाध्यमलाई भाइरसबारेका समाचार धेरै बजाएर बजारलाई ‘प्यानिक’ बनाएको आरोप लगाए । साथै, साउथ क्यारोलिनामा आयोजित चुनावी सभामा उनले डेमोक्र्याटहरूको सीमानाका खुला गर्ने नीतिका कारण भाइरस अमेरिका छिरेको आरोपसमेत लगाए । मार्च दोस्रो साता जब स्थिति नियन्त्रणबाहिर जाने लक्षण देखिन थाल्यो, तब उनले बाराक ओबामा प्रशासनलाई दोष दिन थाले । ओबामा प्रशासनले जाँच किटहरू उत्पादन प्रक्रिया सुस्त बनाएका कारण चाहिएजति उपलब्ध गराउन नसकिएको उनको दाबी थियो । जब कि ट्रम्पले सत्ता सम्हालेको तीन वर्ष नाघिसकेको छ । 

ट्रम्पको छिटै नियन्त्रण हुने दाबीविपरीत कोरोना संक्रमितको संख्या ४५ सय पुगेपछि १६ मार्चमा पत्रकारहरूले गरेको एक प्रश्नको जवाफ दिँदै आफूले भाइरस नियन्त्रणमा उत्कृष्ट काम गरेको र आफूलाई १० मा १० नम्बर नै दिने दाबी उनले गरेका थिए । फेब्रुअरी अन्तिम साता त उनले दिनहुँ जस्तो ‘भाइरस नियन्त्रणमा रहेको’ भनाइ दोहोर्‍याए । २६ फेब्रुअरीमा ट्रम्पको भनाइ थियो– ‘हामी राम्रै गतिमा तलतिर (संक्रमितको संख्यामा) गइरहेका छौँ, माथि होइन ।’ फेब्रुअरी २७ मा फेरि भने– ‘यो (भाइरस) छिटै हराउनेछ, एक दिन यो चमत्कार नै भएर जानेछ ।’ २९ फेब्रुअरीमा नयाँ तुरुप फाले– ‘यसको (भाइरस) भ्याक्सिन धेरै छिटो उपलब्ध हुनेवाला छ, हामीले साँच्चिकै प्रभावकारी काम गरेका छौँ, यस्तो नतिजा त अरू कुनै पनि देशले निकाल्न सकेका छैनन् ।’ विज्ञहरूले एकदेखि डेढ वर्षअघि भ्याक्सिन तयार नहुने बताइरहँदा उनले यो दाबी गरेका थिए जसमा कुनै सत्यता थिएन ।

जनस्वास्थ्यबारे गाइडलाइन नै ट्रम्प प्रशासनले पालना गरेन

जर्जडब्लु बुस सरकारले अमेरिकामा झन्डै दुई दशकअघि जनस्वास्थ्य संकटका वेला जनतालाई सूचना सम्प्रेषण गर्न गाइडलाइन तय गरेको थियो । सिडिसीअन्तर्गत तय गरिएको चार सय ५० पृष्ठ लामो गाइडलाइनको एउटै पनि नियम ट्रम्प प्रशासनले पालना नगरेको रिपोर्ट वासिङ्टन पोस्टले मार्च दोस्रो साता प्रकाशित ग¥यो । गाइडलाइनको मूल अवधारणामा जनस्वास्थ्य संकट सम्बोधनमा ‘पहिलो हुने (बी फस्र्ट), तथ्यपरक हुने (बी राइट), विश्वासिलो हुने (बी क्रेडिबल), सम्मान गर्ने (सो रेस्पेक्ट) र तीव्र कदम चाल्ने (प्रमोट एक्सन)’ रहेको छ । 

वेलैमा समस्या समाधानका लागि कदम नचालेको प्रश्न विषयान्तरका लागि अहिले उनले जनवरी मसान्तमै चीन भ्रमण गरेका या त्यहाँबाट आउने विदेशीलाई अमेरिका प्रवेशमा रोक लगाएको दाबी गर्न थालेका छन् । जनस्वास्थ्य विज्ञहरूले सुझाब दिनुभन्दा पनि अगाडि आफूले उक्त निर्णय लिएर कैयन् संक्रमितलाई अमेरिका छिर्न नदिएको उनको भनाइ छ । तर, त्यस्ता को व्यक्ति अमेरिका आउन लागेका थिए र उनका निर्णयका कारण रोकिए भन्ने प्रमाण ट्रम्प प्रशासनले दिन सकेको छैन । 

कोरोना देखिएको झन्डै दुई महिनापछि संकटकाल घोषणा

मार्च दोस्रो साता बल्ल ट्रम्पले अवस्थाप्रति केही गम्भीर भएको संकेत गरे । ११ मार्चमा उनले देशवासीलाई सम्बोधन गर्दै एक महिनाका लागि युरोपेली देशबाट अमेरिकामा यात्रा प्रतिबन्धको घोषणा गरे । इटालीलगायत देशमा स्थिति भयावह भइसकेपछिको उनको कदम थियो त्यो । १३ मार्चमा उनले कोरोना भाइरस संक्रमणलाई राष्ट्रिय संकटकाल घोषणा गरे । १७ मार्चमा ट्रम्पले दुई साताका लागि सामाजिक दूरी कायम गर्ने आदेश जारी गरे । त्यसअन्तर्गत देशवासीलाई सकेसम्म घरैबाट काम गर्न र १० जनाभन्दा बढी भेला नहुन आह्वान गरिएको थियो । तर, आदेश जारी भएको एक सातामै अर्थतन्त्र चालू गर्न यो नीति नलम्ब्याउने तर्क ट्रम्पले अघि सारे । अप्रिल दोस्रो साताअगावै अर्थतन्त्र पूर्ववत् सुचारु गर्ने उनको जोडलाई विज्ञहरूको अथक प्रयासले पछि हटाएको छ । ट्रम्पले अप्रिल महिनाभरका लागि सामाजिक दूरी निरन्तरताको निर्णय लिएका छन् । 

पछिल्ला तीन महिनामा ट्रम्पलाई कोरोना भाइरसप्रति गम्भीर बनाउन र सत्य बोलाउन अहोरात्र खटेका व्यक्ति हुन्, डा. एन्थोनी फाउसी । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिज (एनआइएआइडी)का निर्देशक फाउसी ट्रम्पप्रति कति हैरान छन् भन्ने ह्वाइटहाउसको दैनिक कोराना भाइरस ब्रिफिङमा उनको हाउभाउबाट पटक–पटक झल्किएको छ । त्यति हुँदा पनि उनी आफ्नो जिम्मेवारी पूरा गरेर अमेरिकीलाई सुरक्षित राख्न निरन्तर खटिइरहेका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्प भाइरस विस्तारभन्दा बजारको घट्दो गतिप्रति चिन्तित भए । उनले सिएनएन, एमएसएनबिसीजस्ता सञ्चारमाध्यमलाई भाइरसबारे धेरै समाचार बजाएर बजारलाई ‘प्यानिक’ बनाएको आरोप लगाए ।

७९ वर्षका यी वृद्ध डाक्टरले तीन महिनादेखि अमेरिकामा भाइरसको जाँच पर्याप्त नभएको आवाज निरन्तर उठाए । तर, ट्रम्पले त्यसलाई सुनुवाइ गरेनन् । सुरुमा पर्याप्त जाँच नगरेकै परिणामस्वरूप देशभर भाइरस विस्तार हुन पाएको फाउसीको ठम्याइ छ । सन् १९८४ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले एनआइएआइडी निर्देशक नियुक्त गरेका फाउसी त्यसयता लगातार सरुवा रोगसम्बन्धी अनुसन्धान र नीति तर्जुमामा सक्रिय छन् । ६ जना राष्ट्रपतिसँग काम गरिसकेका उनले ट्रम्पलाई झेल्नुपर्दाको कहानी कोरोना कहर सकिएपछि कुनै दिन पक्कै सार्वजनिक गर्लान् । किनभने अघिल्लो साता साइन्स म्यागेजिनले सोधेको ‘ह्वाइटहाउस ब्रिफिङमै ट्रम्पले कतिपय अवैज्ञानिक एवं झुटो तर्क पेस गर्दा किन हेरिरहेको’ भन्ने प्रश्नको जवाफ दिँदै फाउसीले भनेका थिए, ‘हामीले (सत्य) बोल्न सुझाव दिने हो, पोडियममै गएर उनको माइक्रोफोन त खोस्न सक्दैनौँ ।’

आफ्ना सबै तर्क र अपेक्षा विफल भइसकेपछि ट्रम्प अन्ततः फाउसीलगायत विज्ञ टोलीको सुझाब मान्न तयार भएका छन् । तत्कालै सामाजिक दूरी कायम गर्ने नीति हटाउँदा १० लाखसम्म मारिने तथ्यांक विज्ञहरूले प्रस्तुत गरेपछि ट्रम्प तुरुन्तै अर्थतन्त्र सुचारु गरेर नोभेम्बरको चुनाव आफ्नो पक्षमा पार्ने रणनीतिबाट पछि हटेका हुन् । 

कोरोना नियन्त्रण गर्ने स्वास्थ्य उपकरणको अभाव, चीनबाट खरिद गरिँदै

भाइरस सुरुमा देखिएको र कसरी नियन्त्रण गर्ने भन्ने उपाय पनि तय भइनसकेको अवस्थामा चीनले संक्रमित ८० हजार र मृत्यु तीन हजारमा सीमित गर्दा चीनभन्दा दुई महिनापछि बल्ल विस्तार हुन थालेको अमेरिकामा कसरी यस्तो भयावह अवस्था उत्पन्न भयो भन्ने गम्भीर प्रश्न खडा भएको छ । त्यो प्रश्नले ट्रम्प मात्र होइन, सिंगो रिपब्लिकन पार्टीलाई नोभेम्बरको चुनावमा पिरोल्नेछ । त्यही भएर रिपब्लिकन नेताहरूले ट्रम्पविरुद्धको महाअभियोगका कारण सरकारले भाइरसलाई सुरुमै ध्यान दिन नपाएको दाबी गर्न थालेका छन् । तर, ट्रम्पले भने महाअभियोग नभए पनि अहिलेभन्दा बढी काम गर्न सकिन्थ्यो भन्नेमा आफूलाई विश्वास नभएको बताइसकेका छन् । अझै पनि राज्य सरकारहरूबाट चाहिएजति स्वास्थ्य उपकरण नपाएको गुनासो व्याप्त छ ।

सबैभन्दा धेरै संक्रमण देखिएको न्युयोर्कका गभर्नर एन्ड्र्यु कुम्मोले केन्द्र सरकारसँग जाँच उपकरण, भेन्टिलेटर, स्वास्थ्यकर्मीका लागि मास्क, पन्जाजस्ता व्यक्तिगत सुरक्षा सामग्री अपुग भएको पटक–पटक गुनासो गरे । ‘डिफेक्स प्रोडक्सन एक्ट’ कार्यान्वयन गरेर अमेरिकी कम्पनीहरूलाई पर्याप्त उत्पादनको आदेश दिन राष्ट्रपतिलाई गरेको आग्रह सुनुवाइ नभएपछि कुम्मोले चीनबाट १७ हजार थान भेन्टिलेटर २५ हजार डलरका दरले खरिद गर्न ‘अर्डर’ दिएका छन् । 

अहिले अमेरिकी कम्पनीले उत्पादन गरेका स्वास्थ्य उपकरण खरिद गर्न राज्य सरकारहरूबीच नै होड चलेको छ । पर्याप्त उत्पादन नहुँदा राज्यहरूले नै बडाबडमा उपकरण खरिद गर्नुपरेको गुनासो कुम्मोले गरे पनि ट्रम्पले ‘जति भए पनि नपुग्ने’ टिप्पणी गरेर टारिदिएका छन् । डेमोक्र्याटिक गभर्नर भएका राज्यले उपकरण नपुगेको गुनासो तीव्र पारेर केन्द्र सरकारलाई दबाब दिए पनि रिपब्लिकन गभर्नरहरू ट्रम्पप्रतिको कृतज्ञतामै सीमित छन् । सोही कारण रिपब्लिकन शासित फ्लोरिडा, टेक्सासजस्ता घनाबस्ती भएका राज्यमा पर्याप्त जाँच हुन पाएको छैन ।

संक्रमितको संख्या तीव्र गतिले बढेपछि फ्लोरिडाले गत सातामात्र गरिकलाई ‘घरमै बस्ने’ आदेश जारी गर्याे । अहिले उक्त राज्यमा संक्रमितकाे संख्या १३ हजार नाघेकाे छ । गत सातासम्म अमेरिकामा १० लाखको कोरोना भाइरस जाँच भएको छ । यो भनेको प्रति ३५० व्यक्तिबराबर एकजनाको जाँच हो । भाइरसप्रति सुरुमै गम्भीर भएर जाँचमा तीव्रता दिएको दक्षिण कोरियाले प्रति १७० जनाबराबर एक जाँच गरेको थियो ।