मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २२ बिहीबार
  • Thursday, 04 June, 2020
टेकराज थामी काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:४७:००
मुख्य समाचार

वृद्धाश्रममा बेहोस महिलालाई प्रहरी, एम्बुलेन्स चालक र डाक्टरले समेत छुन मानेनन्, तीन घन्टामा गयो ज्यान

प्रहरी, एम्बुलेन्सचालक र डाक्टरले समेत छुन नमान्दा २८ वर्षीया युवतीको दुखान्त

टेकराज थामी काठमाडाैं
२०७६ चैत २५ मंगलबार ०८:४७:००

नयाँ पत्रिका रिपोर्ताज

यो कथा हो सामाखुसीस्थित आशीर्वाद वृद्धाश्रममा आश्रय लिएकी सरस्वती भुजेलको । उनको उमेर २८ वर्ष मात्र, तर वृद्धाश्रममा कसरी पुगिन् ? कथा सुरु हुन्छ सिन्धुपाल्चोकको बाह्रबिसेबाट ।

  • श्रीमानले कुटेर जंगलमा फाले । आफन्तले अस्पताल पुर्‍याए । अस्पतालबाट आश्रममा आएकी सरस्वती भुजेल बेहोस भइन् । कोरोनाको डरले उपचार पाइनन् र प्राण त्यागिन् ।

नाम मात्र सरस्वती, तर उनले विद्यालय गएर ज्ञान लिन पाइनन् । किनकि घरमा ‘लक्ष्मी’कै अभाव थियो । १४ वर्षमै बिहे भयो, १५ वर्षमा उनी आमा भइन् । छोरी दुई वर्षकी हुँदा दोस्रो सन्तानको रूपमा छोराको जन्म भयो ।

विपन्न परिवारकी छोरी उनी आफ्ना सन्तानलाई भने सुखी देख्न चाहन्थिन् । तर, श्रीमान् बेरोजगार थिए, घरको गुजारा चलाउन गाह्रो थियो । त्यसैले ऋण गरेर तीन वर्षअघि उनी वैदेशिक रोजगारीमा गइन् ।

कुवेतमा घरको भाँडा माझ्ने मात्र होइन, शेखका छोराछोरीको दिसा धोइदिने काम पनि उनैले गर्थिन् । दिनदिनै धोएर शेखका छोराछोरीलाई चमकदार लुगा लगाइदिन्थिन्, फकाई–फकाई खाना खुवाउँथिन् । यता गाउँमा भने उनका छोराछोरी नांगै–भोकै कुदिरहेका हुन्थे ।

कमाएको पैसा उनले श्रीमान्लाई पठाइरहिन् । गाउँको ऋण तिर्न भनिन्, छोराछोरीलाई दुईछाक मिठो खुवाउन भनिन् । पैसा बचत गर्न पनि श्रीमान्लाई अनुरोध गरिन् ।

दुई वर्ष कुवेतमा पसिना बगाएर उनी स्वदेश आइन् । तर, श्रीमान्ले न ऋण तिरेका थिए, न बचत गरेका थिए । छोराछोरीले झन् दुःख पाएका थिए । यो विषयले घरमा बेमेल भयो । सरस्वतीले दुई लाख रुपैयाँ नगद लिएर आएकी थिइन् । तर, श्रीमान्सँग झगडा हुने र मिल्ने क्रम चलिरहँदा त्यो पैसा पनि सकियो ।

एकातिर पैसा घट्दै गयो, अर्कोतिर श्रीमान्को यातना बढ्दै गयो । मदिरा खाएर श्रीमान्ले उनलाई बारम्बार कुट्न थाले । गत जेठमा त श्रीमान्ले यसरी कुटे, सरस्वती बेहोस भइन् । उनलाई अस्पताल लग्न छाडेर बाह्रबिसेको पात्लेसिंह जंगलमा फालेर श्रीमान् रमेश फरार भए ।

रक्ताम्मे सरस्वतीलाई गाउँलेले देखे । माइतीलाई खबर भयो । उनलाई उद्धार गरेर धुलिखेल अस्पताल ल्याइयो । अनेक प्रयत्न गर्दा पनि १९ दिनसम्म उनको होस आएन । दिदी चमेलीले नयाँ पत्रिकासँग भनिन्, ‘हामीले त माया मारेका थियौँ, तर २०औं दिनमा उसको होस आयो । ऊ बाँची, किनकि उसले दुःख पाउन अझै बाँकी रहेछ ।’

सरस्वतीको होस फर्कियो, तर मस्तिष्कमा गम्भीर चोट लागेकाले उनको बोली फर्किएको थिएन । शरीर अशक्त थियो । गाउँ फर्किएर गरिखान सक्ने स्थिति थिएन । त्यसमाथि फरार श्रीमान् गाउँ फर्किए ज्यान जोखिममा हुन सक्थ्यो । त्यसैले उनलाई काठमाडौंका आश्रममा राख्ने तयारी भयो ।

काठमाडौंस्थित हिमालयन हाउसले उनलाई स्विकार्‍यो । दिदी चमेली र हिमालयनकी रिमा सापकोटाले सरस्वतीलाई काठमाडौं लिएर आए । तर, आश्रममा भिडभाड थियो । उनको हेरचाह गर्न गाह्रो भयो । त्यसैले रिमाले आशीर्वाद वृद्धाश्रममा सम्पर्क गरिन् । आशीर्वादकी लीला गुरुङले सरस्वतीलाई आश्रय दिइन् ।

  • आश्रममा आएका प्रहरी, एम्बुलेन्सचालक र अस्पतालमा डाक्टरको असहयोग सम्झिएर आँसु पुछ्दै आशीर्वाद वृद्धाश्रमकी सञ्चालक लीला गुरुङ ।

सरस्वती २८ वर्षकी मात्र । आश्रममा अरू सबै वृद्धवृद्धा थिए । तर, कुटपिटले थिलथिलो भएकीले सरस्वती पनि वृद्धवृद्धाजस्तै थिइन् । उनीहरूको संगत मिलेको थियो । फेरि नजिकै ग्रिनसिटी अस्पतालमा उनको उपचार पनि भइरहेको थियो ।

योबीचमा उनको बोली पनि बिस्तारै फर्कँदै थियो, त्यसैले उनले बाह्रबिसेदेखि कुवेतसम्मको इतिवृत्तान्त लीलालाई सुनाएकी थिइन् । ‘अब म ठीकै हुँदै छु, आफैँ गरिखाने हुन्छु, छोराछोरीलाई हुर्काउँछु । तर, मलाई जंगलमा फालेर हिँड्नेलाई जेल पठाएरै छाड्छु भन्ने अठोट उसले मलाई पटकपटक सुनाई,’ लीलाले भनिन् ।

सरस्वती शारीरिक मात्र होइन, मानसिक रूपमा पनि बलियो हुँदै थिइन् । अघिल्लो सोमबार अपराह्न करिब ५ बजे आश्रमको माथिल्लो तलामा सबैले खाजा खाए । कसैको फोन आएको थियो, कुराकानी गर्दै उनी तल झरिन् । तर, त्यहीबीचमा बेहोस भइन् । लीला र उनकी सहयोगी नम्रताले सरस्वतीलाई पानी छम्किए, चिच्याएर बोलाए, तर अनेक गर्दा पनि उनको होस आएन ।

लकडाउन भएकाले बाहिर यातायात बन्द थियो । आत्तिँदै उनीहरूले प्रहरीलाई फोन गरे । तर, पाँच मिनेटको दूरीबाट प्रहरी आइपुग्न एक घन्टा लगायो । प्रहरी देखेर लीलालाई केही ढाडस मिल्यो, लौ न सर गाडीमा हालौँ भन्दै उनले आग्रह गरिन् । ‘तर, प्रहरीले भन्यो- गाडीमा राख्न मिल्दैन । कतिसम्म भने प्रहरी गेटबाट भित्र छिर्नसमेत मानेन । कोरोना होइन, अचानक बेहोस भएकी हो, टाउकोमा चोट थियो, त्यसैले होला भनेर हामीले सम्झाउन खोज्यौँ । तर, प्रहरीले गाडीमा राख्न मिल्दैन, घरभित्र छिर्न पनि मिल्दैन भनेर जिद्दी गरे,’  लीलाले भनिन्, ‘गाडीमा राख्न मिल्दैन, घरभित्र छिर्न पनि मिल्दैन भने प्रहरी किन आएको भनेर मैले सोधेँ, यसरी जीवनमरणको दोसाँधमा भएको मान्छेको महत्वपूर्ण समय उनीहरूले बर्बाद गरिदिए ।’

लीला र उनका सहयोगीले एम्बुलेन्सलाई फोन गरे । त्यसको करिब एक घन्टापछि एम्बुलेन्स आयो । ‘अब त अस्पताल लग्न पाइने भयो भनेर हाम्रो सास आएको थियो । तर, एम्बुलेन्सचालकले पनि बिरामीलाई छुन मानेनन् । कोरोना हुन सक्छ, सर्छ भनेर गाडीमा आफैँ राख्नुस् भने, हामीले पन्जा दिँदा पनि उनीहरूले छुन मानेनन्,’ लीलाले भनिन्, ‘औषधिको कारणले सरस्वतीको तौल निकै बढेको थियो, आश्रमका अरू सबै वृद्धवृद्धा आफैँ अशक्त छन्, त्यसैले हामीले प्रहरीसँग सहयोग माग्यौँ । तर, प्रहरीले हामीले छुन मिल्दैन भन्ने ठाडो जवाफ दिए ।’

उता सरस्वतीको मुटु चलिरहेको थियो, उनले सास फेरिरहेकी थिइन् । त्यसैले लीला र उनकी सहयोगीले माया मार्न सकेनन् । दुई महिलाले सकिनसकी उनलाई एम्बुलेन्समा राखे । प्रहरी र एम्बुलेन्सचालक पुरुषको समूह तमासे बनिरह्यो ।

अचेत सरस्वतीलाई बोकेर एम्बुलेन्स शिक्षण अस्पतालतर्फ अघि बढ्यो भने प्रहरी टोली सोह्रखुट्टे चौकीतिर । बेलुकी ८ बजे एम्बुलेन्स शिक्षण अस्पतालको आकस्मिक कक्षको मूलढोकामा रोकियो । स्ट्रेचरमा राखेर बिरामीलाई बाहिर निकालियो । तर, भर्ना लिन अस्पताल तयार भएन । त्यहीँ कोलाहल भयो । हारगुहारपछि एक चिकित्सक बाहिरै आए । त्यतिन्जेलसम्म सरस्वती अचेत भएको तीन घन्टा भइसकेको थियो । डाक्टरले बिरामीको घाँटी छामे । लगत्तै घोषणा गरे– बिरामीको मृत्यु भइसकेको छ । लीला र नम्रता स्तब्ध भए । एम्बुलेन्सले त अघि नै बाटो तताइसकेको थियो ।

हो, प्रहरीको पनि ज्यानको सुरक्षाको सवाल छ । त्यसैले कोरोना महामारीको वेला कसैलाई नछुनु अन्यथा होइन । तर, यही वेला कसैको हत्या गरेर अपराधी भाग्न खोज्यो भने प्रहरी के गर्छ ? नछुनु भनेर तमासे बन्छ ? अथवा आक्रमणमा परेको घाइते छटपटाइरहेको छ भने नछुनु भनेर रमिता हेर्छ ? तर, जनताको सुरक्षा गर्न र अपराधीलाई नियन्त्रणमा लिन नसक्ने हो भने लकडाउन अवधिभर प्रहरी कार्यालय बन्द किन नगर्ने ? 

यसरी एक संघर्षशील महिलाको जीवन सकियो, तर उनको दुःख अझै सकिएको थिएन । अचानक मृत्यु भएकाले उनको पोस्टमार्टम गर्नुपर्ने भयो । त्यसका लागि डाक्टरले ‘रिफर’ पनि गरिदिए । तर, शव पोस्टमार्टमस्थलसम्म लग्न कोही पनि तयार भएन । कोरोना होइन, अचानक अचेत भएकी बिरामीको मृत्यु भएको हो भनेर दोहोर्‍याउँदा पनि उनीहरूले अस्पतालका कसैको पनि मन पगाल्न सकेनन् । बाध्य भएर महिलाहरूले नै शव लिएर पोस्टमार्टमस्थलमा छिरे । सरस्वतीलाई ‘फ्रिजर’मा राखेर उनीहरू आश्रम फर्किए ।

राज्यकै छायामुनि विवश बन्नुपरेको पीडा सोमबार नयाँ पत्रिकालाई सुनाउँदा लीलाका आँखाबाट बलिन्द्रधारा आँसु झरिरहेका थिए । उनले भनिन्, ‘आफ्नै घरबाट लखेटिएर मेरो छत्रछायामा आश्रय लिएकी एउटी चेलीलाई मैले बचाउन सकिनँ, डेढ घन्टासम्म उसको सास चल्दै थियो, तर पाँच मिनेटको अस्पतालमा पनि समयमा पुर्‍याउन सकिनँ ।’

उता महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोषसिंह राठौरले घटना सम्बन्धमा जानकारी भएको, तर लकडाउन अवधिमा कसैलाई पनि नछुन माथिबाटै आदेश आएको बताए । ‘प्रहरीले त चेन अफ कमान्डमा चल्ने हो, यो अवधिमा कसैलाई पनि नछुनु भन्ने आदेश छ । हामीले पनि फिल्डमा जाने प्रहरीलाई त्यही आदेश दिएका छौँ,’ डिएसपी राठौरले भने ।

हो, प्रहरीको पनि ज्यानको सुरक्षाको सवाल छ । त्यसैले कोरोना महामारीको वेला कसैलाई नछुनु अन्यथा होइन । तर, यही वेला कसैको हत्या गरेर अपराधी भाग्न खोज्यो भने प्रहरी के गर्छ ? नछुनु भनेर तमासे बन्छ ? अथवा आक्रमणमा परेको घाइते छटपटाइरहेको छ भने नछुनु भनेर रमिता हेर्छ ? तर, जनताको सुरक्षा गर्न र अपराधीलाई नियन्त्रणमा लिन नसक्ने हो भने लकडाउन अवधिभर प्रहरी कार्यालय बन्द किन नगर्ने ? प्रहरीको पनि स्वास्थ्य सुरक्षा हुन सक्ने सामग्री सरकारले किन व्यवस्था गर्न नसकेको ? नयाँ पत्रिकाको यो प्रश्नमा एक प्रहरी अधिकारीले भने, ‘अस्पतालका डाक्टर र नर्सले त सुरक्षा सामग्री पाएका छैनन् भनेर तपाईंहरूले लेखिरहनुभएकाे छ, प्रहरीले कहाँबाट पाउनु ? बरु हाम्रोतर्फबाट पनि तपाईंहरूले आवाज उठाइदिनुहोला ।’ उनले भनेजस्तै एम्बुलेन्स लिएर आएका चालकसँग पनि सुरक्षा पोसाक थिएन । त्यसैले पनि उनी अघि बढ्न सकेनन् ।

उता शिक्षणजस्तो प्रतिष्ठित अस्पताल पुर्‍याएपछि पनि सरस्वतीको समयमा उपचार किन हुन सकेन ? निर्देशक प्रेम खड्गालाई हामीले सोधेका थियौँ । उनले यो विषयमा आफूलाई कसैले पनि जानकारी नदिएको बताए । उनले भने, ‘तपाईंमार्फत मैले यो घटनाबारे जानकारी पाएँ । त्यस्तो नहुनुपर्ने हो । के भएको रहेछ, म अवश्य बुझ्नेछु ।’ तर, अस्पतालको आकस्मिक कक्षले भने सरस्वतीलाई डाक्टरले हेर्दा उनको मृत्यु भइसकेकाले उपचार गर्न आवश्यक नभएको जानकारी दियो ।

कोरोनाले मानवको दायित्व र राज्यको जवाफदेहितालाई अहिले लकडाउन गरिदिएको छ । जिम्मेवार पदाधिकारीहरू बैठकपछि बैठक बसे पनि अस्पतालमा बिरामीहरू तिरस्कृत भइरहेका छन् । समाजले अस्पतालमाथि आक्रोश पोखिरहेको छ, अस्पतालले सरकारसँग गुनासो गरिरहेका छन् । अन्तिम दोषी को हो भनेर छिनोफानो होउन्जेल सरस्वतीजस्ता कति नागरिकले जीवनको मूल्य चुकाउनुपर्ने हो ? त्यही सुदूरभविष्यको साक्षी बन्न सरस्वतीका १० वर्षीय छोरा ठूलीआमा चमेलीको घरमा आश्रय लिएका छन्, १२ वर्षीया छोरी काठमाडौंका एक घरमा घरेलु मजदुरको रूपमा भाँडा माझ्दै छिन् । 

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका