१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केदार लाफा खोटाङ
२०७६ चैत २४ सोमबार १८:२१:००
Read Time : > 1 मिनेट
समाचार

कोरोना संक्रमित युवतीसँगै कतारबाट आएका व्यक्तिमा कोरोना नभएको पुष्टि

Read Time : > 1 मिनेट
केदार लाफा खोटाङ
२०७६ चैत २४ सोमबार १८:२१:००

कोरोना संक्रमित युवतीसँगै कतारबाट नेपाल फर्किएका खोटाङका दुईमध्ये एकजनामा कोरोना भाइरस (कोभिड– १९)को संक्रमण नभएको पुष्टि भएको छ ।

फ्रान्सबाट कतार हुँदै कतार एयरवेजको जहाजबाट नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ती युवती चढेकै जहाजमा कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का युवकको स्वाब परीक्षणका लागि पठाइएको थियो । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणकाे रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

घर फर्किएको दुई साता भइसके पनि कोरोना संक्रमण भए–नभएको यकिन गर्न उनको स्वाब परीक्षणका लागि पठाइएको कोरोना भाइरस (कोभिड– १९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । ‘कतिपय व्यक्तिमा लक्षण नदेखिए पनि कोरोना संक्रमण भएको पाइएको छ,’ उनले भने, ‘त्यसैले लक्षण नदेखिए पनि संक्रमण भए–नभएको यकिन गर्न उनको स्वाब परीक्षणमा पठाइएको थियो ।’

सोही जहाजबाट फर्किएका केपिलासगढी गाउँपालिकाका अर्का एक युवक भने धरानस्थित क्वारेन्टाइनमा छन् । क्युआर ६५२ कलसाइन रहेको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो ।

क्वारेन्टाइनमा १८ जना 
हलेसी तुवाचुङ नगरपालिकाको क्वारेन्टाइनमा उदयपुरको कटारीस्थित आइसोलेसनबाट भागेका एकसहित नौजनालाई राखिएको छ । कटारी अस्पतालको आइसोलेसनबाट नौ दिनअघि भागेका ताप्ली गाउँपालिकाका ३९ वर्षीय एक युवकसहित उनका आफन्तलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्य चाैकीको क्वारेन्टाइनमा राखिएको हो । उनलाई भारतको सिलिगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कने क्रममा कटारी आइसोलेसनमा राखिएको थियो ।

दश स्थानीय तह रहेको जिल्लाको साकेलामा एक, केपिलासगढीमा दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट जिल्ला भित्रिनेको संख्या धेरै भए पनि स्थानीय तहलगायत विभिन्न संस्थाले स्थापना गरेको क्वारेन्टाइनमा बस्नेको संख्या भने न्यून रहेको छ । जिल्लाका सबै स्थानीय तहमा गरी तीन सय चार बेडको क्वारेन्टाइन र १३ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । त्यस्तै २१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ ।