मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रोबर्ट डी. कप्लान
२०७५ माघ ९ बुधबार ०९:४४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

अमेरिकी सेना अफगानिस्तानबाट निस्कने समय

अमेरिकाले जे हासिल गर्छु भनेर अफगानिस्तान प्रवेश गरेको थियो, त्यो हासिल हुने सम्भावना अब छैन

Read Time : > 3 मिनेट
रोबर्ट डी. कप्लान
२०७५ माघ ९ बुधबार ०९:४४:००

सिरियासँगै पाकिस्तानमा रहेका सात हजार अमेरिकी सेनालाई फिर्ता बोलाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको अचानकको घोषणाले अमेरिकामा नयाँ चिन्ता सिर्जना गरेको छ । तल्कालीन अमेरिकी विदेशमन्त्री जिम म्याटिसको सल्लाहविपरीत ट्रम्पले यस्तो निर्णय लिएपछि म्याटिसले राजीनामा नै दिइसकेका छन् । वास्तवमा, अफगानिस्तानबाट आफ्ना सेनासँगै अमेरिका बाहिरिने समय आउन धेरै टाढा देखिन्न ।

अफगानिस्तानले झैँ विश्वका अन्य कुनै राष्ट्रले अमेरिकी साम्राज्यवादको पतनलाई प्रतिबिम्बित गर्न सक्दैन । तालिवानविरुद्ध अमेरिकाले जित हात पार्ने सम्भावना देखिँदैन । अफगानी जनतालाई सहयोग गर्न गएका अधिकांश अमेरिकी सेना नै आफ्नो रक्षा गर्न स्टिलजडित कंक्रिट पर्खालपछाडि लुकेर बस्नुपरेको छ । तर, अमेरिकी सरकार, वासिंटन र मिडिया वृत्तमा यो वास्तविकता नगण्य मात्रामा बहसको विषय बनेको छ । अनि, अफगानिस्तानका लागि आफ्नै लज्जाको पर्खालपछाडि लुक्ने सहर वासिंटन बनेको छ । 

चीन, पाकिस्तान, भारत र इरानले आफगानिस्तानमा प्रतिस्पर्धात्मक ऊर्जा तथा खनिज प्रोजेक्ट सञ्चालन गरिरहँदा अफगानिस्तान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च गर्ने अमेरिकाको यस देशमा अत्यन्तै कम व्यापारिक भविष्य देखिएको छ । ब्राउन विश्वविद्यालयका अनुसार आफगानिस्तान युद्धमा अमेरिकाको दीर्घकालीन खर्चलाई अनुमान गर्र्दा २० खर्ब अमेरिकी डलरभन्दा बढी पुग्न सक्छ । अर्कातर्फ, अफागानिस्तानको अस्थिर सरकारलाई आर्थिक सहायोग नगर्ने हो भने सरकार धराशयी हुने अवस्था छ ।

सन् २००३ को इराक आक्रमणपछि अफगानिस्तान पुनर्निर्माणबाट अमेरिका नमोडिएको भए वा भिन्न सैन्य तथा विकास नीति प्रयोग गरेको भए अफगानिस्तानमा तालिवानलगायत पृथक्तावादी धार परास्त हुने थियो । पाकिस्तानी पत्रकार अहमेद रसिदका अनुसार अमेरिकाले अफगानिस्तानको निर्वाचन प्रक्रियालाई मात्र जोड दियो । तर, आफगानिस्तान निर्माणमा खासै ध्यान दिएन । विशेषतः सन् १९५० को दशक र सन् १९९७ को सोभियत आक्रमणपछि अफगानी नगारिकले गुणस्तरीय आधारभूत भौतिक पूर्वाधार तथा कृषिमा रमाउन पाएका छैनन् । 

अफगानी जनतालाई सहयोग गर्न गएका अधिकांश अमेरिकी सेना आफ्नै रक्षा गर्न स्टिलजडित कंक्रिट पर्खालपछाडि लुकेर बस्नुपरेको छ, तर अमेरिकी सरकार, वासिङ्टन र मिडिया वृत्तमा यो वास्तविकता नगण्य मात्रामा बहसको विषय बनेको छ 

निराश नै भइहाल्नुपर्ने स्थिति त छैन । तर, अहिले अमेरिका जुन स्थितिमा छ, त्यो हुनुपर्ने ठाउँ हैन । युद्धभूमिमा अझै पनि तालिवानले बलियो पकड बनाइरहेको छ । शान्तिवार्ता हुँदा अमेरिकी समर्थन पाएका अफगानी राष्ट्रपति असरफ घानी सरकारले शक्ति बाँडफाँड गर्नुपर्ने नत्र सरकार नै फेर्नुपर्ने माग तालिवानको छ । अफगानिस्तानका लागि अमेरिकी विशेष सल्लाहकार जाल्मे खालिल्जादले कूटनीतिक समाधान खोज्ने प्रयास गरिरहेका छन्, जसका कारण अफगानिस्तानमा रहेका अमेरिकी सेनाको आकार घटाउन सकियोस् ।

सन् १९७५ दोहोरिने भयले पेन्टागनलाई सताएको छ । सो समय दक्षिण भियतनामबाट अमेरिका निस्किएसँगै उत्तर भियतनामी सैन्य बलले दक्षिण भियतनामी सहर सैगनमा कब्जा जमाएपछि दक्षिणी भियतनामी जनसंख्यामा मच्चिएको कोलाहलजस्तै भय दोहोरिने त हैन भन्ने सन्त्रास पेन्टागनलाई छ । सन् १९९१ को पर्सियन गल्फ युद्धमा विजय पाएपछि मात्रै अमेरिकी सैन्य बलले आफूले पाएको अपमानको बदला लिएको अनुभव ग¥यो । यस्तो इतिहासलाई माध्यनजर राखेर हेर्दा अफगानिस्तानबाट अचानक अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी ‘हार्ड पावर’ ओरालो लागेको संकेत दिएको छ । 

यसैगरी, अस्तव्यस्ततामा रहेको अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादी समूहलाई सेम्टेम्बर ११ को आक्रमणझैँ अर्को शक्तिशाली आक्रमण गर्ने आधारस्थल बन्ने त्रास पनि छाएको छ । अमेरिकालक्षित यस्तो आतंकवादी आक्रमणको तयारी गर्ने स्थलका रूपमा यमन र सोमालियालगायत ठाउँ प्रयोग हुन सक्ने खतरा छ । यस्तो खतराबीच अफगानिस्तानमा बस्दा स्थिति सुधार हुने अपेक्षा पूरा हुनुको साटो झनै भयंकर नजिता आउन सक्छ । यसर्थ, अफगानिस्तानी मूलका अमेरिकी विशेष सल्लाहकार खालिल्जादले अफगानिस्तानको स्थायित्वका लागि मध्यस्तको भूमिका खेल्नेछन् भन्ने एक मात्र आशा वासिंटनले गर्न सक्छ । 

वास्तवमा, अमेरिकाले अफगानिस्तानमा चलाएको सैन्य कारबाहीबाट अमेरिकाले पाउने लाभभन्दा धेरै लाभ चीन, पाकिस्तान, रुस, भारत र इरानले लिनेछन् । अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थितिले यी देशका ऊर्जा तथा यातायात कोरिडोरलाई पर्याप्त सुरक्षाको प्रत्याभूति गराउनेछ । साथै, आफ्नो दक्षिणी सीमामा रहेर इस्लामिक आतंकवादलाई रोक्न बसेका रुसी सीमा बललाई पनि अमेरिकी उपस्थितिले बल पु-याएको छ ।

यसकारण, अमेरिकाको पतनोन्मुख साम्राज्यको आडमा अमेरिकी शत्रु तथा प्रतिस्पर्धीले आफ्नै साम्राज्य बनाइरहेका छन् । कसैले तर्क गर्न सक्छ, काबुलको अमेरिकापरस्त सरकार ढले यी मुलुकलाई अफगानिस्तानमा अझ दरिलो खुट्टा टेक्ने मौका मिल्नेछ । तर, अमेरिका निस्किएपछिको अस्थिर अफगानिस्तानको स्थायित्वको जिम्मा यिनै मुलुककै समस्या बन्नेछ । 

प्रशासनको सहयोगमा एकजना प्रतिभाशाली अमेरिकी कूटनीतिज्ञले अफगानिस्तान र यसका छिमेकी राष्ट्रसमेतलाई सामेल गराएर अन्तर्राष्ट्रिय शान्ति सम्मेलन आयोजना गर्न सक्छन् । तर, भद्रगोेल र अक्षमताले भरिएको वर्तमान अमेरिकी प्रशासनबाट यस्तो अपेक्षा गर्न सकिने स्थिति छैन, त्यसमा पनि विदेशमन्त्री म्याटिसले प्रशासन छाडेपछि त झनै छैन । अमेरिकाले जे हासिल गर्छु भनेर अफगानिस्तान प्रवेश गरेको थियो, त्यो हासिल हुने सम्भावना अब छैन भनी अफगानी जनतालाई भन्ने कि नभन्ने ?

खर्बौं अमेरिकी डलर खर्च गरेर तथा हजारौँ अमेरिकी सेना परिचालन गर्दा पनि अफगानी संकट अन्त्य हुनेभन्दा झनै जटिल बनिरहेको यथार्थलाई मध्यनजर गर्दा खर्च र सेना परिचालनको नीति दिगो हुन सक्दैन । बरु, अफगानिस्तानको युद्धमा अमेरिकाले गरिरहेको खर्चको सानो मात्र हिस्सा एसियाको आधुनिक भौतिक पूर्वाधार निर्माणका लागि लगानी गरे अमेरिकाले राम्रो प्रतिफल प्राप्त गर्न सक्छ ।

उदाहरणका लागि भियतनामको तरल प्राकृतिक ग्यास तथा बन्दरगाहमा लगानी गर्न सकिन्छ, जसबाट अमेरिकाले चीनको समुद्री बेल्ट एन्ड रोड इनिसिएटिभसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ । यसर्थ, अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्नुपर्छ तर हडबडाएर हैन । अमेरिकी विशेष सल्लाहकार खालिल्जादलाई हाम्रा गुटराष्ट्रसँग संवाद गर्ने समय दिनुपर्छ । अमेरिका लामो समयसम्म अफगानिस्तानमा बस्नु भने हुँदैन ।