१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०९:३६:००
Read Time : > 4 मिनेट
सेयर बजार

नेप्सेमा सामान्य सुधार

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ९ बुधबार ०९:३६:००

गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव शून्य ७ प्रतिशत बढेर बन्द भएको छ । नेप्से उकालो लागे पनि यस दिन कारोबार रकममा भने कमी आएको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम २० दशमलव ५३ प्रतिशत घटेको छ । लगानीकर्ता अहिले ‘पर्ख र हेर’को अवस्थामा रहेका छन् । दोस्रो त्रैमासको अन्त्यसँगै कम्पनीहरूले सो अवधिसम्मको वित्तीय विवरण प्रकाशित गर्छन् । सोही विवरणका आधारमा लगानीकर्ताले लगानीको रणनीति बनाउँछन् । हाल केही कम्पनीहरूले मात्र वित्तीय विवरण प्रकाशित गरेका छन् । लगानीकर्ता अरू कम्पनीहरूको वित्तीय विवरणको पर्खाइमा रहेको एक ब्रोकरले बताए । यस दिन बजार खुलेको केही समयपछि नै नेप्से ओरालो लागेको थियो । तर, कारोबारको एक घन्टापछि भने नेप्से तीव्र गतिमा उकालो लागेको थियो । 

बजार सारांश : नेप्से परिसूचक यस दिन शून्य दशमलव ७८ अंक बढेर १ हजार १ सय ६८ दशमलव ८३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ४३ अंक बढेर २ सय ४८ दशमलव शून्य ५ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १ अंक बढेको छ । यस दिन १ सय ५६ कम्पनीको ७ हजार ४ सय ८८ पटकको कारोबारमा २९ करोड २२ लाख १४ हजार ३ सय ४५ रुपैयाँबराबरको १० लाख २४ हजार ६ सय १५ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ४२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन १ दशमलव ४४ रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५६ कम्पनीमध्ये ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ । 

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ६३ दशमलव ५४ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय ५८ दशमलव २६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ७३ दशमलव ३० बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ७७ दशमलव ७८ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

 घटेन अपर तामाकोसीको माग
सूचीकृत भएर कारोबार भएको पहिलो दिनदेखि नै अत्यधिक माग रहेको अपर तामाकोसीको सेयरमा यस दिन पनि लगानीकर्ताको आकर्षण देखियो । कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा यस दिन पनि अपर तामाकोसी नै अगाडि रहेको छ । सो कम्पनीको यस दिन ३ हजार ६ सय ९१ पटकको कारोबारमा ५ करोड ४७ लाख ६८ हजार रुपैयाँबराबरको २ लाख १७ हजार ३ सय ११ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

दुई कम्पनीको सेयर मूल्य घटेर सर्किट
यस दिन दुई कम्पनीहरूको सेयर मूल्य घटेर सर्किट ब्रेक लागेको छ । कञ्चन डेभलपमेन्ट बैंक र नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको सेयर मूल्य यस दिन १० प्रतिशतको हाराहारीमा घटेको हो । त्यसैगरी, युनिलिभर नेपाल लिमिटेडको सेयर मूल्य यस दिन ७ दशमलव ७ प्रतिशत घटेको छ । यस दिन कमाउने कम्पनीहरूको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढ्न सकेन । यस दिन समता माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स कम्पनी, नागबेली लघुवित्त र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ । 

७ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका १० समूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन लघुवित्त समूहको परिसूचक १ दशमलव २५ प्रतिशत, जीवन बिमा समूहको १ दशमलव ११ प्रतिशत, होटेल समूहको शून्य दशमलव ८७ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३२ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २ प्रतिशत र वाणिज्य बैंक समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक भने यस दिन शून्य दशमलव १९ अंक बढेको छ । 

उत्पादनमूलक समूहको परिसूचक यस दिन सर्वाधिक ४ दशमलव १७ प्रतिशत घटेको छ । जलविद्युत्् समूहको परिसूचक यस दिन शून्य दशमलव ४२ प्रतिशत र वित्त समूहको शून्य दशमलव २९ प्रतिशत घटेको छ ।

२९ प्रतिशत बढ्यो कुमारीको नाफा
गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कुमारी बैंक लिमिटेडको नाफा २९ दशमलव ५४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकले ६७ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यसैगरी, बैंकको वितरण योग्य मुनाफा समीक्षा अवधिमा २५ दशमलव ७४ प्रतिशत बढेको छ । सो अवधिसम्ममा कम्पनीको वितरण योग्य मुनाफा ६० करोड ३८ लाख रहेको छ । 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६६ दशमलव ९६ प्रतिशत र सञ्चालन मुनाफा ३५ दशमलव शून्य ४ प्रतिशत बढेको छ । सो अवधिमा बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख रहेको छ भने जगेडा कोष ४ अर्ब २९ करोड रहेको छ । बैंकले ७५ अर्ब ४४ करोड ८५ लाख निक्षेप संकलन गरी ७० अर्ब ७७ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । गत आवको पुस मसान्तसम्ममा १६ दशमलव शून्य ९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी यस आवको सोही अवधिमा बढेर १८ दशमलव ६२ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात भने घटेर १३ दशमलव ५९ मा सीमित भएको छ । 

 युनाइटेडको नाफा २१९ प्रतिशत बढ्यो
गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा युनाइटेड फाइनान्स लिमिटेडको नाफा २ सय १९ दशमलव २० प्रतिशत बढेको छ । सो अवधिसम्ममा कम्पनीले ३ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी बढे पनि कम्पनीको नाफा बढ्न पुगेको हो । सो अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ८० करोड ५ लाख १९ हजार रहेको छ भने जगेडा कोष २१ करोड ६८ लाख ९५ हजार रहेको छ । कम्पनीले ५ अर्ब ९७ करोड निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५१ दशमलव २६ प्रतिशत बढेको छ । गत आवमा ऋणात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा यस वर्ष १ करोड ८६ लाख धनात्मक भएको छ । पुस मसान्तमा कम्पनीको प्रतिसेयर आम्दानी ८ दशमलव ३३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १ सय २७ दशमलव शून्य ९ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात भने १९ दशमलव ८१ रहेको छ । 

नेपाल इन्भेष्टमेन्टको नगद लाभांश बैंक खातामा
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले २२ प्रतिशत नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले पुस २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीको बैंक खातामा सो लाभांश जम्मा गरेको हो । पुस २९ गते सम्पन्न बैंकको साधारणसभाले सो लाभांश पारित गरेको थियो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई बैंकले शीघ्र सेयर अभौतिकीकरण गरी हितग्राही खाता र बैंक खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । बैंकको सेयर रजिस्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।