मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
वसन्त खतिवडा
२०७५ माघ ९ बुधबार ०९:३१:००
Read Time : > 1 मिनेट
खेलकुद

थ्री स्टार सिमरा गोल्डकपको सेमिफाइनलमा

Read Time : > 1 मिनेट
वसन्त खतिवडा
२०७५ माघ ९ बुधबार ०९:३१:००

थ्री स्टार क्लब सिमरा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार भएको क्वार्टरफाइनल भिडन्तमा सहिद स्मारक ए डिभिजन लिगको उपविजेता संकटा क्लबलाई २–० ले पराजित गर्दै थ्री स्टारले प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गरेको हो ।

१३औँ मिनेटमा नै अग्रता
थ्री स्टारले बलियो संकटाविरुद्ध सुरुवातमा नै अग्रता बनाउन सफल भयो । विदेशी खेलाडी फोफाना फोडेले १३औँं मिनेटमा नै रञ्जन विष्टको आकर्षक पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एकपछि अर्को राम्रा मौकाहरूका बाबजुद थ्री स्टार र संकटाले थप गोल गर्न सकेनन् । यद्यपि दोस्रो हाफमा थ्री स्टारले अग्रता दोब्बर बनाउँदै सेमिफाइनल निश्चित ग-यो । ७८औँ मिनेटमा फोफाना फोडेको स्थानमा मैदान छिरेका सुसान श्रेष्ठले ८५औँ मिनेटमा टिमको अग्रता दोब्बर बनाए । थ्री स्टारका रुपेश केसीले २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार संकटाका डिफेन्डरले क्लियर गर्न नसक्दा पाएको मौकालाई श्रेष्ठले सदुपयोग गरेका थिए ।

संकटा असफल
थ्री स्टारविरुद्धको खेलमा पाएका आकर्षक मौका सदुपयोग गर्न नसक्दा आठौँ संस्करणको विजेता संकटा प्रतियोगिताबाट बाहिरियो । पहिलो हाफमा इन्जुरी समयको अन्तिम मिनेटमा सरोज दाहालको आकर्षक प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाउँदा संकटा पहिलो हाफको सम्भावित बराबरीबाट टाढिएको थियो ।

संकटाले विदेशी खेलाडी क्रेडिक अब्बालेले पनि केही राम्रा मौका चुकाए । दोस्रो हाफमा पनि संकटाका केही राम्रा प्रहार असफल हुँदा थ्री स्टारले पनि खेलमा केही राम्रा मौका सदुपयोग गर्न सकेन । संकटाका राम्रा प्रहारलाई असफल बनाएका थ्री स्टारका डिफेन्डर अडामा डाम्बिया म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजारसहित ट्रफी हात पारे ।

ए डिभिजन लिगपछि थ्री स्टारबाट बाहिरिएका नीराजन खड्कालाई संकटाले मैदानमा उतारेको थियो । तर, उनले पूर्वक्लबविरुद्ध कुनै चामत्कारिक प्रदर्शन देखाउन भने सकेनन् । संकटाका प्रशिक्षक खड्गीले खड्का संकटासँग अनुबन्धनको प्रक्रियामा रहेको जानकारी दिएका थिए । 

सुरुवाती गोल नै पराजयको कारण

हारपछि संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुवातमा खाएको गोलका कारण टिम खेलमा फर्कन नसकेको बताए । उनले भने, ‘खेलाडीले सुरुवातमा नै गोल खाए त्यसपछि पनि सोचेअनुसारको प्रदर्शन हुन सकेन ।’ खड्गीले थ्री स्टारका खेलाडीले संकटाविरुद्ध राम्रो प्रदर्शन 
गरेको बताए ।

लगातारको प्रतियोगिताले थकान
जितपछि उत्साही देखिएका थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लगातारको प्रतियोगिताले खेलाडीमा थकान देखिएको बताए । उनले थकानका कारण सोचेअनुरूप प्रदर्शन नभए पनि जितले टिमको आत्मविश्वास बढेको बताए । उनले भने, ‘लिगपछि टिममा केही नयाँ खेलाडी आएका छन् । उनीहरू टिममा ‘एडजस्ट’ हुन बाँकी रहेको छ ।’ उनले सेमिफाइनलमा टिम राम्रो लयका साथ मैदान उत्रने विश्वास व्यक्त गरे । थ्री स्टारले अब फाइनल प्रवेशका लागि हिमालयन शेर्पाको सामना गर्नेछ । बुधबार पहिलो सेमिफाइनलमा आयोजक नवजनजागृति सिमराले त्रिभुवन आर्मीविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।