मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २४ सोमबार ०७:३८:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनबाट प्रभावित श्रमिकलाई उद्योग वाणिज्य महासंघको राहत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २४ सोमबार ०७:३८:००

कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी लकडाउनका समयमा श्रमिक–कामदारहरूको सहयोगार्थ नेपाल उद्योग वाणिज्य महासंघले पहिलो चरणमा ४ हजार प्याकेट राहत सामग्री वितरण गरेको छ । बाँचौँ र बचाऔँ अभियानअन्तर्गत कोरोना भाइरसविरुद्ध सहयोग अभियान २०२० सञ्चालन गरी राहत सामग्री संकलन तथा वितरण गरेको महासंघले जनाएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र महासंघका अध्यक्ष भवानी राणाले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच संयुक्त रूपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् । राहत सामग्रीमा प्रतिप्याकेट १० केजी चामल, १ केजी दाल रहेको छ । 

राहत सामग्री उद्योग वाणिज्य संघ काभ्रे, काठमाडौं महानगरपालिका वडा नम्बर ३१, मध्यपुर ठिमी वडा नम्बर ३ र ६, काठमाडौं महानगरपालिका वडा नम्बर १६, उत्पीडित सुकुम्बासी बस्ती, वडा नम्बर ११ थापाथली, अन्तर्राष्ट्रिय आप्रवासी समुदाय, डोलेश्वर महादेव समिति, कामनपा वडा नम्बर १ र २०, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसीसमेतको टोल, सुन्दरीजल चाइना गेट, पशुपति क्षेत्र आश्रम सबै,  नवजीवन चिल्ड्रेन होम हात्तीवन ललितपुरलगायतका संघ–संस्थामार्फत वितरण गर्ने गरी हस्तान्तरण गरेको महासंघले जनाएको छ । 

महासंघले यसअघि ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ५० लाख नगद सहयोग गर्नुका साथै बा“की १ करोडबराबरको स्वास्थ्य तथा खाद्यान्नलगायत सामग्रीसहित जम्मा १ करोड ५० लाखबराबरको सहयोग गर्ने घोषणा गरेको थियो । सोही सहयोगअन्तर्गत नै महासंघले केही समयअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयलाई १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो भने थप स्वास्थ्य सामग्री संकलनमा पनि महासंघ लागिरहेको छ । 

महासंघले लकडाउनको समयमा अत्यावश्यक उद्योगहरू सुरक्षाका उपायहरू अवलम्बन गर्दै सञ्चालन गर्न आग्रहसमेत गरेको छ । कठिन अवस्थामा मानव स्वास्थ्यको संवेदनशीलतासमेतलाई ख्याल गरी व्यक्तिगत स्वास्थ्यप्रति अधिकतम सजगता अपनाउँदै सुरक्षित रहन सबै उद्योगी–व्यवसायी, कामदार, कर्मचारीलाई अपिल गर्दै कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा निर्मूल गर्न नेपाल सरकारले जारी गरेका सबै नीति, कार्यक्रम, स्वास्थ्य योजना तथा निर्णयहरूमा आफ्नो ऐक्यबद्धता प्रकट गर्दै आ–आफ्ना स्थानबाट सहयोग गरी सफल पार्न महासंघले आफ्ना सबै सदस्य संघ–संस्था, उद्योग–प्रतिष्ठानसहित सबैमा आग्रहसमेत गरेको छ ।

त्यसैगरी, महासंघले कोरोनाको सम्भावित जोखिम नियन्त्रण गर्न नेपाल सरकारले ल्याएका सबै कार्यक्रम, नीति तथा स्वास्थ्य योजनाहरूको प्रभावकारी कार्यान्वयनमा महासंघले आफ्ना सबै संयन्त्रको प्रभावकारी परिचालनमार्फत सहयोग पु-याउँदै आएको छ ।

महासंघका सबै सदस्य संघ–संस्था, उद्योग–प्रतिष्ठानलाई अत्यावश्यक सामग्रीहरूको पारदर्शी र निष्पक्ष रूपमा बिक्री–वितरण गर्न तथा आमजनमानसमा अनावश्यक रूपमा अत्यावश्यक सामग्रीहरूको भण्डारण नगर्न आग्रह गर्दै सरकारलाई पनि अत्यावश्यक सामग्रीहरूको बिक्री–वितरणलाई प्रभावकारी बनाई जनमानसमा निर्धक्क हुने वातावरण बनाउन आग्रहसमेत महासंघले गरेको छ ।