१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७६ चैत २३ आइतबार २०:५७:००
Read Time : > 1 मिनेट
विश्व

कोरोनाविरुद्धको खोप अफ्रिकामा परीक्षण गर्ने फ्रान्सेली चिकित्सकको भनाइप्रति डब्ल्युएचओको आपत्ति  

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २३ आइतबार २०:५७:००

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनका क्षेत्रीय प्रमुख र रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुखले दुई फ्रान्सेली चिकित्सकको कोरोना भाइरसको खोप परीक्षण अफ्रिकामा गर्नुपर्ने भनाइप्रति आपत्ति जनाएका छन् । ती चिकित्सकमाथि जातिवादको आरोप पनि लागेको छ । 

उनीहरूले ती डाक्टरको भनाइ ‘गम्भीर चिन्ताजनक’ र ‘दुर्भाग्यपूर्ण’ रहेको पनि बताएका छन् । 

फ्रान्सेली टेलिभिजन एलसिआईमा बोल्दै प्रोफेसर जीन पल मिरा र क्यामिली लोचले भाइरसविरुद्धको खोप अफ्रिकामा परीक्षण गर्नुपर्ने बताएका थिए । उनीहरूले भनेका थिए, ‘त्यहाँ मास्कको अभाव छ, उपचारको कुनै भरपर्दो सेवा छैन, आइसियू छैन ।’

विश्व स्वास्थ्य संगठनकी अफ्रिका क्षेत्रकी प्रमुख डा. मात्सिडिसो मोइटीले आफू चिकित्सकको भनाइले निकै निराश भएको बताएकी छिन् । उनले कोरोना भाइरससम्बन्धी सबै अनुसन्धान सिद्धान्त र नैतिकतामा आधारित हुनुपर्ने बताइन् । 

सिडिसी अफ्रिकाका प्रमुख जोन नेकेन्सङले दुर्भाग्यपूर्ण भनाइ भन्दै यसको कडा निन्दा गरेका छन् । 

पेरिसस्थित कोचिन अस्पतालका चिकित्सक मिरा र स्वास्थ्य तथा चिकित्सा अनुसन्धान संस्थानका निर्देशक लोचले अफ्रिकामा यौनकर्मीबीच एड्स अध्ययन गरेजस्तै कोभिड– १९ को अध्ययन र परीक्षण पनि गर्नुपर्ने बताएका थिए । अफ्रिकीहरूले आफ्नो सुरक्षा आफैँ गर्न नसक्ने भएकाले पनि त्यहाँ खोप परीक्षण गर्न सकिने धारणा उनीहरूको थियो ।  

ती चिकित्सकहरूले युरोपेली देश र अष्ट्रेलियामा परीक्षण भइरहेको कोरोना भाइरसविरुद्धको सम्भावित बिसिजी खोपलाई संकेत गर्दै यस्तो भनेका थिए ।

डब्ल्युएचओ र सिडिसीले यसमा आपत्ति जनाएपछि इन्सेर्मले उक्त टेलिभिजनले लिएको अन्तर्वार्ताको भिडियो काटेर गलत अर्थमा प्रयोग गरिएको भन्दै ट्विट गरेको थियो । चिकित्सक मिराले आफ्नो भनाइप्रति क्षमायाचना पनि गरेका छन् । 

तर, अफ्रिकी फुटबल खेलाडीहरू डिडियर ड्रोग्बा, समुएल इटो, डेम्बा बा, क्रिश्चियन इत्सुलगायतले सामाजिक सञ्जालमा ती चिकित्सकलाई जातिवादी भन्दै टिप्पणी गरेका छन् । 

अफ्रिका परीक्षण प्रयोगशाला नभएको भन्दै उनीहरूले कठोर शब्दले यस्तो जातिवादको निन्दा गर्ने बताएका छन् ।