१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत २३ आइतबार १२:२१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउनलाई साथ दिएका सुकुम्बासी भन्छन् ‘तत्काल राहत नपाए भोकै मर्नुको विकल्प छैन’

Read Time : > 1 मिनेट
२०७६ चैत २३ आइतबार १२:२१:००

कोरोना भाईरस(कोभिड-१९) राेकथामका लागि सरकारले घोषणा गरेको लकडाउनलाई पोखराका सुकुम्बासी बस्तीहरुले पूर्ण साथ दिएका छन् । बाहिरी मानिसलाई टोल भित्र छिर्न नदिने र प्रवेश गर्दा  साबुन पानीले हातमुख धाेएर सेनिटाइजरको प्रयोग अनिवार्य गरिएकाे छ । 

वडा नम्बर ९को बसपार्क छेउमा रहेको कृष्ण टोलमा दुईसय भन्दा धेरै घर(छाप्रा)मा सुकुम्वासी बस्छन् । ती मध्ये तत्कालै ५ घर परिवारको चुलोमा आगो जलाउन समस्या देखिएको उक्त टोलका निवर्तमान अध्यक्ष अग्नीप्रसाद तिवारी बताउँछन् । उनका अनुसार ५१ परिवारको दुई/चार दिनमै छाक रोकिने अवस्था छ । ‘यहाँ दुइ सय भन्दा धेरै घरपरिवार बस्छन्, त्यसमध्ये ५१ परिवारलाई तत्काल खाद्य सामग्री चाहिएको छ । र, त्यसमा पनि पाँच परिवारको अवस्था अत्यन्त दयनीय छ,’ उनले भने ‘पाँच परिवारलाई छरछिमेकीले भरथेग गरेर छाक टारिदिएका छन् । छिमेकीकै रासन सकिएपछि के गर्ने ?’ 

कृष्ण टोल नजिकैको गणतन्त्र टोलमा बस्ने ७२ वर्षीय फूलमती परियार टोलकै बसपार्कमा प्लाष्टिक उठाउँथिन् र आफ्नो परिवारको विहान बेलुकाको गज्रो टार्ने गर्थिन । लकडाउनका बेला प्रहरीले बाहिर निस्कन राेक लगाएकाे छ । ‘बसपार्कमा फोहोर प्लाष्टिक बटुल्थेँ । अहिले पुलिसले राेक्छ । हामी दुइ आमाछोरा छौं । अब के ल्याउने र पकाउने हो ?’ उनले प्रश्न गरिन् । 

फूलमती र उनी जस्तै केही परिवारलाई सहारा क्लव पोखराले ५ केजी चामल, आधा किलो दाल, एक पोका तेल र नून दिएको थियो । त्यो सामग्री पनि सकिने अवस्थामा छ । ज्यामि काम गर्ने ६३ वर्षीय प्रेम रानामगरकी श्रीमती लालमायाँ विगत १२ वर्षदेखि प्यारालाइसिसले थलिएकी छन् । लकडाउनकै कारण रानागमर काममा निस्कन पाएका छैनन् । सहारा क्लवले दिएकाे राहतबाट अहिले उनकाे छाक टारेको छ । ‘सहाराले दिएको ५ किलो चामल सकियो, अब के खाने कहाँबाट ल्याउने थाहा छैन । श्रीमतिको अवस्था यस्तो छ,’ नयाँपत्रिकासंग उनले बह पोखे । 

पोखराको बसपार्क वरपरमात्र ७ वटा टोलमा सुकुम्बासी बस्छन् । त्यसैगरी पोखराको सेती किनार, फिर्के किनारमा अधिकाँस सुकुम्बासी बस्ती छ । यी सबै बस्तिमा बस्ने सुकुम्बासी राहतको पर्खाइमा छ । 

पोखरा १७ छोरेपाटनको नमुना टोलमा बस्ने ७६ वर्षीय टेकबहादुर लामा सुख लुकाउन सजिलो तर दुख लुकाउन निकै कठिन रहेको बताउँछन् । खोले खाएर छाक टारेको सुनाएका उनले राहत दिन्छौं भनेर नाम टिप्न आउनेहरुले कहिले दिन्छन् भनेर आफूहरुले पर्खिरहेको बताए । ‘नाम टिपेर लगेका छन् । कहिले ल्याउँछन् अनि भात खाउँला हामी केही दिनदेखि खोले खाएर ज्यान बचाएका छौं ’ उनले भने । उक्त टोलमा ६४ घरपरिवार छन् । अधिकांशको छाक रोकिने अवस्था रहेको टोल सुधार समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेतीले जानकारी दिए ।