मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २३ आइतबार १२:१६:००
Read Time : > 1 मिनेट
विश्व

घर बसाइ सदैव व्यर्थ मात्र हुँदैन, ‘प्लेग महामारी’मा न्युटनले आफ्नै घरको क्वारेन्टाइन बसाइमा पत्ता लगाएका थिए ‘क्याल्कुलस’ 

Read Time : > 1 मिनेट
२०७६ चैत २३ आइतबार १२:१६:००

के तपाईं कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाइएको लकडाउनका वेला घर बस्दाबस्दा दिक्क हुनुभएको छ ? 

परिस्थितिले सिर्जना गरेको अनिवार्य घर बसाइका कारण तपाईंलाई अवश्य केही दिक्क लागेको हुन पनि सक्छ । 

तर, यस्तै विपतका वेला बाध्य भएर घरमा बस्नुपर्ने समय सदैव खराब भने मान्नुहुँदैन । जसरी महान् वैज्ञानिक सर आइज्याक न्युटनले यस्तैखाले अनिवार्य घर बसाइको समयलाई सदुपयोग गरेर विश्वलाई महान् सिद्धान्त प्रदान गरे । 

सर आइज्याक न्युटन मात्र २० वर्षका थिए, जब बेलायतमा प्लेगको महामारी फैलियो । त्यतिवेला उनले ‘सर’ उपाधि पनि पाइसकेका थिएनन् । उनी क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजका विद्यार्थी मात्रै थिए ।

१७औँ शताब्दीमा प्लेग महामारी गराएको ब्याक्टेरिया, झन्डै दुई सय वर्षपछि १९औँ शताब्दीमा पत्ता लागेको थियो । तर, रोग के–कसरी लाग्दै छ ? भनेर स्पष्ट थाहा नहुँदा, त्यतिवेला पनि मानिसलाई अहिलेजस्तै लकडाउनमा अर्थात् सबैलाई घरमै बस्न भनिएको थियो ।

संक्रमणबाट बच्न मानिस घरघर जान थालेका थिए । त्यसवेला क्याम्ब्रिज विश्वविद्यालयले पनि विद्यार्थीलाई घरमै गएर पढ्न बिदा दियो । न्युटन पनि क्याम्ब्रिजबाट ९६ किलोमिटर टाढा रहेको आफ्नै परिवारसँग बस्न घरमा गए । करिब एक वर्षभन्दा बढी समयको घर बसाइलाई न्युटनले चमत्कारी बनाए ।

उनले कुनै प्रोफेसरको सहयोगविना नै क्याल्कुलस र अप्टिक्सका सिद्धान्त विकास गरे । उनले क्याम्ब्रिज विश्वविद्यालयमा सुरु गरेको गणितीय समस्याहरूमाथि घरमा लगातार काम गरे, र अन्तत: ती समस्यामा नै ‘क्याल्कुलस’ लेखे ।

क्याल्कुलस अर्थात् गणितीय मानहरूको परिवर्तनलाई बुझ्ने तरिका हो । यसअन्तर्गत लिमिट र कन्ट्युनिटी, डेरिभेटिभ र एन्टिडेरिभेटिभ पर्छ । त्यस्तै, न्युटनले अर्काे उल्लेख्य काम पनि महामारीकै वेला घरभित्र बसेको समयमा गरेका थिए । 

उनले आफ्नै सुत्ने कोठामा पिरामिडको प्रयोग गरेर हामीले सेतो देख्ने प्रकाशमा अन्य रङ पनि हुन्छन् भन्ने सिद्धान्त अघि सारेका थिए । अप्टिक्सका लागि न्युटनको यो ठूलो खोज मानिन्छ, उनले इन्द्रेणीबारेको बुझाइअनुसार प्रकाशमा अन्य रङको परीक्षण गरेका थिए । 

क्याल्कुसलको प्रयोग, इन्जिनियरिङ, अन्तरिक्ष, स्पेस फ्लाइट इन्जिनियरिङ, आर्किटेकलगायतका क्षेत्रमा हुन्छ । न्युटन यी दुई विषयका सिद्धान्त बोकेर सन् १६६७ मा क्याम्ब्रिज गए, त्यसको दुई वर्षभित्र उनी प्रोफेसर बनेका थिए ।

यसबाहेक अन्य समयमा न्युटनले गुरुत्वाकर्षण बल, गतिसम्बन्धी नियमलगायतका क्षेत्रमा उल्लेख्य योगदान दिएका थिए । तर, गोटफ्राइड लेबनिजलाई क्याल्कुलसका पिता मानिन्छ । खासमा, न्युटन र लेबनिजले क्याल्कुसनको कल्पना भने गरेका हाेइनन्, यसका माध्यमबाट समस्या हल गर्ने प्रणालीको विकास उनीहरूले गरेका हुन् । 

त्यसकारण तपाईं पनि लकडाउनमा घरमा हुनुहुन्छ भने अप्ठ्यारो महसुस नगर्नुहोस् । बरु सके न्युटनजस्तै बन्ने कोसिस गर्नुहोस् । नभए पनि कम्तीमा यस महामारीको सन्त्रासका बीचको घर बसाइलाई तपाईं सिर्जनशील बनाउन सक्नुहुनेछ । 

अंग्रेज इतिहास हेर्दा सन् एक सयको बीचतिरबाटै महामारी फैलिएको लेखेको पाइन्छ । त्यतिवेलादेखि नै महामारीका कारण ज्यान गुमाउनेको संख्या लाखौँदेखि करोडौँसम्म छ । १७औँ शताब्दीमा बेलायतभरि फैलिएको प्लेगलाई ‘ग्रेट प्लेग अफ लन्डन’ पनि भनिन्छ । सन् १६६५ देखि सन् १६६६ सम्म उक्त प्लेगले त्यहाँको करिब आधा जनसंख्या सखाप पारेको थियो । (एजेन्सी)