मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २३ आइतबार १०:५६:००
Read Time : < 1 मिनेट
समाचार

बाग्लुङमा आइतबारदेखि थप कडाइ, लकडाउन उल्लंघन गर्ने ४० प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
२०७६ चैत २३ आइतबार १०:५६:००

बाग्लुङमा दुईजनामा कोरोना देखिएसँगै  आइतबारदेखि थप कडाइ गरिएको छ । संक्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालयले जिल्ला सदरमुकामका साथै बाहिरी क्षेत्रमा पनि थप थप कडाइ गर्न थालेको हो ।  

सदरमुकाममा आइतबार मात्र लकडाउन उल्लंघन गर्ने ४० जनालाई प्रहरीले पक्राउ गरेको छ । पटकपटक आग्रह गर्दा पनि बजारमा खुलेआम हिँड्ने र सवारी चलाउनेहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

 प्रहरीले आइतबार बिहानदेखि थप कडाइ गर्दै घरबाहिर ननिस्कन, फलफूल तथा तरकारीसमेत फोनबाट घरमै मगाउन आग्रह गरेको छ । ‘यदि कोही–कसैले सूचनाको बेवास्ता गरी लकडाउनको उल्लंघन गरेको फेला परेमा पक्राउ गरिरहेका छौँ,’ प्रहरी प्रमुख भट्टले भने, ‘दूधजन्य पदार्थ, तरकारी तथा फलफूल माग गरेमा घर घरमै पुऱ्याउने व्यवस्था मिलाउन विक्रेताहरूलाई भनेका छौँ ।

उनीहरूलाई दुई–दुईजनाको दरले सम्झाइबुझाई र आगामी दिनमा बाहिर ननिस्कने प्रतिबद्धतासहित छाडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार नै सार्वजनिक सूचना प्रवाह गर्दा पनि त्यसको व्यवस्था गरी खुलेआम हिँड्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

हालसम्म बाग्लुङका दुईजनासहित नेपालमा नाैजनामा कोरोना संक्रमण देखिएको छ ।   बाग्लुङ देखिएका एकजना किशोरी र एकजना वृद्धकोे धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शनिबार कोरोना संक्रमित पहिचान भएका कैलालीका युवासँगै भारतको गौरीफन्टाबाट आएका तीनजनासमेत रहेको चर्चापछि बाग्लुङ थप तरंगित छ ।

उनीहरूको जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर खोजी तथा पहिचान सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लामा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण र रोकथामका लागि सबैलाई घरभित्रै बसी सहयोग गर्न प्रहरीले आग्रह गरेको छ ।