मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:२०:००
Read Time : > 4 मिनेट
अर्थ

पेट्रोल २७ रुपैयाँमा किनेर ९६ रुपैयाँमा बिक्री

२७.५७ रुपैयाँमा किनेको एक लिटर पेट्रोलमा सरकारलाई डेढ गुणा अर्थात् ४२.७३ रुपैयाँ कर, आयल निगमलाई करिब ६० प्रतिशत अर्थात् १६.१७ र पेट्रोलपम्पलाई ३.७० रुपैयाँ नाफा, उपभोक्तालाई करिब चार गुणा मूल्य

Read Time : > 4 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:२०:००

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा एकैपटक १० रुपैयाँ मूल्य घटाए पनि अझै चरम नाफा खाइरहेको खुलेको छ । इन्डियन आयल कर्पोरेसनले १५ दिनअगाडिको तुलनामा १६ रुपैयाँ ७५ पैसा घटाएर पेट्रोल दिए पनि निगमले १० रुपैयाँ घटाएको छ । निगमले पेट्रोलमा ५९ प्रतिशत नाफा राखेर बिक्री मूल्य तय गरेको हो ।

अझ गरिबले खाना बनाउन र बत्ती बाल्न प्रयोग गर्ने मट्टीतेलमा निगमले ९५ प्रतिशत नाफा राखेर बिक्री गरिरहेको छ । अर्कातिर, अन्तर्राष्ट्रिय उडानका जहाजले हाल्ने हवाई इन्धनमा त निगमले अकल्पनीय रूपमा अढाई गुणा नाफा खाइरहेको छ । मट्टीतेलको खरिद मूल्य ३८ रुपैयाँ ६७ पैसा छ भने बिक्री मूल्य ८५ रुपैयाँ तोकिएको छ । सरकारले मट्टीतेलमा कर छुट दिएका कारण २ रुपैयाँ ८८ पैसा मात्रै कर तिरे पुग्छ, तर निगमले भने  ३६.७७ नाफा खाने गरेको छ ।

गरिब जनताले प्रयोग गर्ने मट्टीतेलमा त निगमलाई ९५ प्रतिशत नाफा, बाह्य हवाई इन्धनमा अढाई गुणा नाफा । 

त्यस्तै, २९ रुपैयाँ ९५ पैसामा खरिद गरेको हवाई इन्धन निगमले ६९ रुपैयाँ ६२ रुपैयाँ नाफा खाएर अन्तर्राष्ट्रिय विमान कम्पनीलाई ९५ सेन्ट अर्थात् १ सय १४ रुपैयाँमा बिक्री गर्छ । आइओसीले बुधबार नयाँ मूल्य पठाउँदा १५ दिनअघिको तुलनामा पेट्रोल १६.५७ रुपैयाँ, डिजेल १०.९० रुपैयाँ, मट्टीतेल १६.२० रुपैयाँ प्रतिलिटर घटाएको छ ।

निगमले उपभोक्तालाई गर्ने शोषणका अतिरिक्त सरकार स्वयंले पेट्रोलमा खरिद मूल्यको डेढ गुणभन्दा बढी कर असुलिरहेको छ । आइओसीसँग साढे २७ रुपैयाँमा किनेको पेट्रोलमा नेपाल सरकारले ४२ रुपैयाँ ७५ पैसा कर असुल्ने गरेको छ ।    

खपत नै नभएका वेला मूल्य घटाउने स्टन्ट

मुलुक लकडाउनमा भएका वेला डिजेल तथा पेट्रोलजस्ता इन्धनको खपत अत्यन्तै न्यून छ । तर, सामान्य अवस्थामा पेट्रोल, डिजेलको मूल्य २–३ रुपैयाँ घटाएर १५ दिनमै १ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको निगमले यसपटक लकडाउनको समयमा पेट्रोल–डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएर सस्तो लोकप्रियता कमाउन खोजेको छ । तर, अहिले उपभोक्ताले सबैभन्दा बढी खपत गर्ने एलपी ग्यासको मूल्य घटेर आए पनि निगमले त्यसमा भाउ घटाएन ।

नेपालमा सामान्य अवस्थामा दैनिक १४ लाख लिटर पेट्रोल र ३७ लाख लिटर डिजेल खपत हुन्छ । तर, झन्डै १० दिनदेखि भइरहेको लकडाउनमा सरकारी र अत्यावश्यक साधन मात्र सञ्चालनमा हुँदा दैनिक करिब डेढ लाख लिटर पेट्रोल र ५ लाख लिटर डिजेल खपत भइरहेको छ । खपत न्यून भएको समयमा निगमले इतिहासमै सबैभन्दा बढी दरमा मूल्य घटाएर पेट्रोल ९६ र डिजेल ८५ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । तर, पेट्रोल ९ वर्षयताकै सस्तो हुँदा पनि आमउपभोक्ताले रतीभर लाभ लिन पाएका छैनन् ।

यसअघि २८ फागुन ०६७ मा पेट्रोलको भाउ ९७ रुपैयाँ प्रतिलिटर थियो । निगमले यसपटक पनि आगामी १५ दिनमा ५ करोड ४१ लाख रुपैयाँ नाफा राखेर भाउ घटाएको स्रोतले जनायो । निगमले पेट्रोलमा १६.१७ रुपैयाँ, डिजेलमा १२.९० रुपैयाँ, मट्टीतेलमा ३६.७७ रुपैयाँ प्रतिलिटर नाफा कमाउने प्रक्षेपण गरेको छ । खाना पकाउने एलपी ग्यासमा भने १ सय ९५ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान रहेको निगमको दाबी छ ।

ग्यासको खरिद मूल्य घट्यो, घटेन बिक्री मूल्य

आइओसीबाट खाना बनाउने ग्यासको मूल्य पनि प्रतिसिलिन्डर ९१.४५ रुपैयाँ घटेर आएको थियो । ग्यासमा निगमले यसअघि नै २ सय ९१ रुपैयाँ प्रतिसिलिन्डर नोक्सान खेपिरहेको थियो । त्यसैले थप नोक्सान नखेप्न निगमले ग्यासको मूल्य यथावत् राखेको छ । निगमले ग्यास प्रतिसिलिन्डर १ हजार १४ रुपैयाँ खरिद गर्न थालेको छ । यो मूल्य १५ दिनसम्म कायम रहन्छ ।

विज्ञहरूका अनुसार निगमले चाहेको भए बुधबार घटेर आएको ९१.४५ रुपैयाँ प्रतिसिलिन्डरसम्म ग्यासको मूल्य घटाउन सकिन्थ्यो । ‘अहिले उपभोक्तालाई ग्यासको खाँचो छ । त्यसैले निगमले ग्यासको मूल्य घटाएको भए धेरै राहत हुने थियो,’ उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा क्रुड आयलको मूल्यमा ठूलो गिरावट आइरहेकाले यसपटक ठूलो दरले ग्यासको मूल्य घटाउँदा निगमले कुनै चिन्ता लिनुपर्ने थिएन ।’

तर, आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले भने जुन वस्तुको मूल्य घटेर आएको छ, सोहीअनुसार नेपाली बजारमा समायोजन गरिएको प्रस्टीकरण दिए । ‘आइओसीले पेट्रोल, डिजेलको मूल्य धेरै घटाएर पठाएको छ । त्यसैले, हामीले सोहीअनुसार नेपाली बजारमा मूल्य समायोजन गरेका हौँ,’ उनले भने । ग्यासमा पहिलेदेखि नै घाटा खाइरहेका कारण थप नोक्सान नहुने गरी मूल्य यथावत् राखेको उनले जिकिर गरे ।

साढे ८ महिनामा डेढ खर्बको इन्धन आयात गर्दा ७ अर्ब नाफा

निगम स्रोतका अनुसार चालू आवको चैत १९ सम्म (करिब नौ महिना) १ खर्ब ४० अर्ब रुपैयाँको इन्धन आयात भइसकेको छ । यो इन्धन आयातबाट निगमले करिब ७ अर्ब रुपैयाँ नाफा कमाइसकेको छ । निगमले प्रतिमहिना औसतमा करिब ५० करोड रुपैयाँ नाफा राख्दै आएको छ ।

निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन गरी उपभोक्तालाई राहत दिनुको साटो प्रचुर नाफा गर्ने र लगानीकर्ताका रूपमा रहेको सरकारी निकायलाई खुसी बनाउने काम गरिरहेको छ । गत आवमा निगमले सरकारलाई २ अर्ब २० करोड लाभांश वितरण गरेको थियो । गत आवसम्मको नाफा ११ अर्बलाई पुँजी वृद्धि गर्न प्रयोग गरेको थियो । 

भारतमा ग्यासको मूल्य प्रतिसिलिन्डर ९८ घटाइयो

भारतमा अप्रिलदेखि लागू हुने गरी पेट्रोल, डिजेलमा घट्न सक्ने मूल्यसमेतलाई आधार मानी एलपी ग्यासको भाउ घटाइएको छ । भारतको सबैभन्दा ठूलो तेल कम्पनी इन्डियन आयल कर्पोरेसन (आइओसी)ले अनुदानमा उपलब्ध गराउँदै आएको ग्यासको मूल्यमा प्रतिसिलिन्डर (१४.२ किलो) ६१.५० भारु (९८.४० नेपाली रुपैयाँ) घटाएको छ । मूल्य घटेपछि भारतमा अनुदानमा आधारित एलपी ग्यासको मूल्य ७ सय ४४ भारु प्रतिसिलिन्डर कायम भएको छ ।

त्यसैगरी, व्यावसायिक प्रयोजनका लागि खपत हुने ग्यास सिलिन्डर (१९ किलो)को मूल्यसमेत ९६ भारु (१५३.६० नेपाली रुपैयाँ) घटाएर १८ सय ८५ भारु कायम गरिएको छ । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयका अनुसार डिजेल, पेट्रोलको मूल्य घटाउनुको सट्टा एलपी ग्यासमा राहत दिइएको हो । ‘अहिले ग्यासको भन्दा पेट्रोल, डिजेलको मूल्य घट्ने देखिएको थियो, तर पेट्रोल, डिजेलको खपत नै छैन । यस्तो वेलामा पेट्रोल, डिजेलमा घटाउने मूल्य ग्यासमा लगेर घटाइएको हो,’ मन्त्रालयका एक अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तेल भण्डार गर्दा ४० करोड नोक्सान भएको पेट्रोलपम्पहरूको दाबी

निगमको दबाबमा ठूलो मात्रामा पम्पहरूमा पेट्रोलियम भण्डारण गरेका कारण आफूहरूलाई करिब ४० करोड नोक्सान भएको दाबी पम्प सञ्चालकहरूले गरेका छन् । लकडाउनका वेला पनि निगमले भारतबाट पर्याप्त इन्धन ल्याएका कारण भण्डारण गर्ने ठाउँ नभएपछि पेट्रोलपम्पहरूलाई धमाधम पठाएको थियो ।

लकडाउन खुल्लानाथ पेट्रोल, डिजेलको माग ह्वात्तै बढ्न सक्ने भएकाले पम्पहरूलाई पर्याप्त स्टक राख्ने गरी निगमले तेल वितरण गरेको थियो । तर, निगमले एकैपटक १० रुपैयाँ मूल्य घटाएपछि पम्पहरूलाई नोक्सान परेको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले दाबी गरे ।

‘निगमको दबाबपछि देशभरका १ हजार ४ सय ५८ पम्पले औसतमा २० हजार लिटर तेल अन्डरट्यांकीमा मौज्दात राखेका छन्,’ उनले भने, ‘त्यो तेल १० रुपैयाँ सस्तोमा बिक्री गर्दा करोडौँ नोक्सान हुन्छ ।’ उपत्यकाका पम्प व्यवसायीले पेट्रोल १०१.४८ र डिजेल ९१.५४ रुपैयाँमा किनेर स्टक गरेका थिए ।

निगमले मूल्य घटाइदिएपछि पम्प व्यवसायीले पेट्रोल ९५ र डिजेल ८५ रुपैयाँमा बिक्री गर्र्नुपर्नेछ । ‘निगमले अप्ठ्यारो अवस्थामा सघाउनुस् भनेर निर्देशन दिएकैले पम्पमा तेल राखियो । अहिले निगमबाटै हामीलाई ठूलो नोक्सानी खेप्ने स्थिति बनाइँदै छ,’ उनले भने । निगमलाई उचित क्षतिपूर्ति दिन आग्रह गरेको समेत प्रधानले बताए । 

जुनमा घटेर आउँछ, त्यसैको मूल्य घटाउने हो : वैकुण्ठ अर्याल, सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

सामान्य अवस्थामा इन्धनको मूल्य खासै नघटाउने, तर अहिले खपत नै नभएको अवस्थामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय व्यावहारिक भएन कि भन्नेलाग्दैन ?

हामीले कहाँबाट इन्धन किन्छौँ, त्यसले के–कस्तो मूल्य पठाउँछ । सोहीअनुसार नेपाली बजारमा समायोजन गर्ने हो । हामीले इन्धन किन्दै आएको इन्डियन आयल कर्पोरेसनले पेट्रोलमा १६.७५ रुपैयाँ घटाएर पठाएको छ । डिजेलको पनि त्यस्तै छ । त्यसैले, यसको लाभ उपभोक्तालाई दिने गरी पेट्रोल, डिजेलको मूल्य घटाइएको हो । 

इन्डियन आयल कर्पोरेसनले त पेट्रोल, डिजेलको खपत घटेको भन्दै मूल्य स्थिर राख्यो र ग्यासको खपत बढेको भन्दै ठूलो अन्तरले मूल्य घटायो । हामीले पनि त्यसै गर्न सक्थ्यौँ नि ? 

यो कुरामा चाहिँ हाम्रो भनाइ केही छैन । हामीले किनेको जुन वस्तुमा घट्छ, त्यसमा थपघट गर्ने हो । हाम्रो लागत मूल्यका आधारमा उपभोक्ता मूल्य तलमाथि गर्ने हो ।

खपत अत्यन्त न्यून रहेका वेला डिजेल, पेट्रोलको मूल्य  यति धेरै घटाउँदा व्यावहारिक भएन र उपभोक्ताले लाभै लिन पाएनन् भन्ने गुनासो बढेको सुन्नुभएकै होला ?

अहिलेको समायोजन अव्यावहारिक भन्ने नै छैन । मैले, तपाईंले जे भने नि, त्यही कुरा ठीक हो । व्यावहारिक भएन भन्ने थाहा भएन । जुन प्रोसेसमा मूल्य आउँछ, हामीले त्यही गर्ने हो ।