मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:०५:००
Read Time : > 2 मिनेट
अर्थ

निगमको अस्ट्रेलिया चार्टरमा अख्तियारको छानबिन 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २३ आइतबार ०९:०५:००

नेपाल वायुसेवा निगमको अस्ट्रेलिया चार्टरमा एजेन्ट घुसाएर कमिसन लिएको विषयमा निगम नेतृत्व छानबिनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र निगमको वाणिज्य विभागका सहायक निर्देशक दिक्पाल सुवेदीसँग शुक्रबार बयान लिएको छ ।

निगम स्रोतका अनुसार शुक्रबार ११ बजेपछि अख्तियार चन्द र सुवेदी अफिस टंगालमा गएका थिए । वाणिज्य विभागका निर्देशक टंकनिधि दाहाललाई बोलाइएको भए पनि दाहाल बिदामा बसेका कारण सुवेदी गएका थिए । 

निगम नेतृत्वले अस्ट्रेलिया दूतावासले गरेको चार्टरमा जहाज उड्ने अघिल्लो दिन मात्रै मिलोमतोमा बोन ट्राभल्सलाई एजेन्ट बनाएर साढे ४५ लाख रुपैयाँ कमिसन लिएको विषयमा अख्तियारले छानबिन सुरु गरेको हो । अस्ट्रेलियन दूतावासले सीधै निगमको जहाज चार्टर गरेकोमा बोन ट्राभल्सलाई चार्टर पार्टी बनाएर कमिसन लिएको तथ्य सार्वजनिक भएको थियो ।

अस्ट्रेलियन र न्युजिल्यान्डका नागरिक लिएर निगमको जहाज बुधबार ६ बजे काठमाडौं–क्वालालम्पुर–ब्रिसवेन उडेको थियो । जहाज बिहीबार फर्किएको थियो ।

अस्ट्रेलिया दूतावासले गरेको चार्टरमा जहाज उड्ने अघिल्लो दिन मात्रै मिलोमतोमा नेपाल वायुसेवा निगम नेतृत्वले बोन ट्राभल्सलाई एजेन्ट बनाएर साढे ४५ लाख रुपैयाँ कमिसन लिएको विषयमा अख्तियारले छानबिन सुरु गरेको हो । 

जाने र फर्किने उडान करिब २६ घन्टाको अवधि रहने उक्त उडान सुरुमा अस्ट्रेलियन दूतावाससँग प्रतिघन्टा १८ हजार १ सय अमेरिकी डलर पाउने गरी गरी छलफल भएको थियो । तर, निगम नेतृत्वकै चलखेलमा बोन ट्राभल्सलाई चार्टर गर्न लगाएर प्रतिव्यक्ति भाडादर तोकेर उडान गरिएको थियो । उडानमा २ सय ५७ जना थिए । 

यो दरअनुसार निगमले एकमुष्ट ४ लाख ७० हजार ६ सय डलर पाउने पक्का थियो । बुधबारको अमेरिकी डलर दरअनुसार ५ करोड ७१ लाख १२ हजार १६ रुपैयाँ हुन जान्छ । निगमका वाणिज्य विभागका निर्देशक दाहालले अस्ट्रेलियाले नै बोनमार्फत चार्टर गर्न भनेको बताएका थिए । तर, विमानस्थल र नागरिक उड्डयन प्राधिकरणमा उडान अनुमति प्रयोग भएका कुनै पनि कागजपत्रमा चार्टर पार्टी बोन ट्राभल्स उल्लेख गरिएको थिएन । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने छानबिनका विषय सार्वजनिक गर्न नमिल्ने बताए । ‘उजुरी परेपछि विभिन्न शाखाहरूले छानबिन गरिरहेका हुन्छन्, अन्तिम चरणमा नपुगेसम्म सार्वजनिक गर्न मिल्दैन,’ कोइरालाले भने । प्रवक्तालाई अन्तिम चरणमा मात्रै सार्वजनिक गर्नका लागि सूचना आउनेसमेत बताए । 

निगमले बोन ट्राभलमार्फत १४ जना बिजनेस क्लासका लागि टिकट बिक्री ग¥यो । जसको रकम प्रतिव्यक्ति २३ सय डलरका दरले ३२ हजार २ सय डलर हुन्छ । त्यस्तै, ट्राभल्सले २ सय ३६ यात्रुलाई इकोनोमी क्लासको टिकट बिक्री गरेको थियो ।

जसको रकम १ हजार ७ सय ९५ डलरका दरले ४ लाख २३ हजार ७ सय २० डलर लिनेछ । सबै यात्रुको रकम जम्मा बोन ट्राभल्सले ४ लाख ५५ हजार ८ सय २० डलर लिएको थियो । बुधबारको डलरको भाउ १ डलरको १ सय २१ रुपैयाँ ३६ पैसा राष्ट्र बैंकले तोकेको छ । जसको भाडा ५ करोड ५३ लाख १८ हजार ३ सय १५ रुपैयाँ हुन्छ । बोन ट्राभलले उक्त रकमको ५ प्रतिशत कमिसन सीधै पाउने व्यवस्था छ । जसअनुसार ट्राभलले २७ लाख ६५ हजार ९ सय १५ रुपैयाँ कमिसन पाउनेछ । 

निगम नेतृत्वले एजेन्ट खडा गर्दा निगमलाई ४५ लाख ५९ हजार ६ सय १६ रुपैयाँ सोझै घाटा लागेको छ । अस्ट्रेलियन दूतावासमार्फत गर्दा निगमले ५ करोड ७१ लाख १२ हजार १६ रुपैयाँ पाउने थियो । तर, एजेन्ट खडा गरेर यात्रुको हिसाब गर्दा सोझै १७ लाख ९३ हजार ७ सय १ रुपैयाँ घटाइयो । त्यसमा पुनः कमिसनबापतको २७ लाख ६५ हजार ९ सय १५ रुपैयाँसमेत घट्ने भए पनि निगमको हातमा ५ करोड २५ लाख ५२ हजार ४ सय रुपैयाँ मात्र पर्नेछ ।