मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कोरोना त्रासपछि पूरै देश लकडाउन भएयता आर्यघाटमा शव कम आउन थालेका छन्
टेकराज थामी काठमाडाैं
२०७६ चैत २३ आइतबार ०८:१८:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

पाँच कारण : काठमाडौंका घाटमा आउने शव ४२ प्रतिशत घटे

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७६ चैत २३ आइतबार ०८:१८:००

तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका 

लकडाउनले ट्राफिक दुर्घटना घटेको छ, विदेशबाट आउने शव रोकिएका छन्, उपत्यकाबाहिरबाट उपचार गर्न आउने र काठमाडौँमा मृत्यु हुने क्रम घटेको छ, काठमाडौँ वरिपरिका क्षेत्रबाट अन्त्येष्टि गर्न पशुपति ल्याउने क्रम रोकिएको छ र अत्यावश्यक बाहेकका अप्रेसन रोकिएकाले ‘मेडिकल इरर’बाट हुने मृत्यु पनि घटेको छ

कोरोना संक्रमण नियन्त्रणका लागि देश लकडाउनमा हुँदा काठमाडौंमा मृत्यु हुनेको संख्या नाटकीय रूपले घटेको छ । विदेशबाट आउने शव रोकिनु, उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने क्रम घट्नु र सडक दुर्घटना प्रायः शुन्य हुनुलगायतले मृत्यु हुने संख्या घटेको अनुमान गरिएको छ । पशुपतिलगायतका घाटहरूमा दैनिक हुने शव दहनको संख्या करिब ४२ प्रतिशतले घटेको छ ।

पशुपतिनाथ मन्दिरस्थित भष्मेश्वरघाट उपत्यकाभित्र सबैभन्दा व्यस्त घाट हो । लकडाउन हुनुअघिका दश दिनमा यहाँ दाउरा र विद्युतीय शव दहन गृहमा एक सय ८१ शव दहन भएका थिए । तर, लक डाउन भएपछिका ११ दिनमा १७ मात्रै शव दहन भएका छन् । 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार सामान्य अवस्थामा भष्मेश्वरघाटमा दैनिक २५ देखि ३५ वटासम्म शव दहन हुन्थे । तर, अहिले कुनै दिन त जम्मा ४ वटा मात्रै शव दहन भएका छन् । ‘मृत्यु हुनु दुःखद् होे, तर, यो टार्न सक्ने विषय पनि होइन । लकडाउनमा भने अचम्मैले टरेको देखियो । कसरी यस्तो भयो, खोजीको विषय हो,’ खतिवडाले भने ।

धेरै शव दहन हुने उपत्यकाको अर्को स्वम्भूनाथ मन्दिरको स्वयम्भू मार्गस्थित चिप्लेटीघाट हो । यहाँ पनि शव दहन नाटकीय ढंगले घटेको देखिन्छ । लकडाउन हुनुभन्दा अघिल्लो दश दिनमा २१ शव दहन भएको यो घाटमा लकडाउनपछिको ११ दिनमा ८ शव मात्रै दहन भएका छन् । यो संख्या अघिल्लो दश दिनको तुलनामा ३८ प्रतिशतले कम हो । 

चिप्लेटीघाटका लागि दाउरा डिपो चलाइरहेका नानी तामाङले लकडाउन भएयता शव आउन निकै कम भएको बताए । ‘यो घाटमा पाँचवटा ओदान छन् । ती खाली हुँदैनथे, शव जलाउन पालो पखर्नुपर्थ्याे । तर, अहिले शव नै आएका छैनन् । कुनै वेला त ओदान नै खाली भएको पनि देखियो । किन यस्तो भयो, बुझ्न सकिएको छैन,’ उनले भने ।

टेकुस्थित पचली भैरवघाटमा पनि शव आउने क्रम घटेको छ । अरू वेला दैनिक २ वटा शव दहन हुने यो घाटमा लकडाउन भएपछिको ११ दिनमा जम्मा दुईवटा मात्रै शव दहन भएको घाट सुधार समितिको तथ्यांकबाट देखिन्छ । ‘यहाँ दैनिक दुई–तीनवटा शव आउँथे । तर, अहिले निकै कम भएको छ । मैले गन्दा पछिल्ला ११ दिनमा जम्मा दुईवटा शव दहन भएका छन्,’ घाटका कर्मचारी कान्छा लामाले भने । 

शंखमूलस्थित मसानघाटको तथ्यांक पनि टेकुको जस्तै छ । घाटे अर्जुन बनकाअनुसार दैनिक २–३ वटा शव आउने यो घाटमा लकडाउनयता दुईवटा मात्रै शव दहन भएका छन् । उनले भने, ‘मान्छे नमरेर त यस्तो भयो होला नि ।’

विष्णुमती नदी किनारस्थित शोभाभगवती घाटमा पनि लकडाउन भएयता जम्मा दुईवटा मात्रै शव दहन भएका छन् । जब कि यो घाटमा पनि हप्तामा कम्तीमा २ वटा शव दहन हुने गर्थे । मन्दिरस्थित शोभाभगवती प्रहरी बिटका प्रहरी जवान शिव बुढाले लकडाउन भएयता शव दहन निकै कम भएको बताए ।

यस कारण घट्यो  शव दहन

केन्द्रीय तथ्यांक विभागका निर्देशक डा. जिष्णुमोहन भट्टराईले लकडाउन भएयता मृत्यु नै कम भएको बताए । यसबाहेक विदेशबाट आउने शव रोकिनु, उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने क्रम घट्नु, सडक दुर्घटना प्रायः शून्य हुनु, लगायतले शव दहन पनि घटेको उनले बताए । काठमाडौँ वरिपरिका क्षेत्रबाट अन्त्येष्टि गर्न पशुपति ल्याउने क्रम रोकिएको छ र अत्यावश्यक बाहेकका अप्रेसनसमेत रोकिएकाले मेडिकल इररबाट हुने मृत्यु पनि घटेको छ ।

‘अहिले सडक दुर्घटना प्रायः शून्य भएका छन् । विदेशबाट आउने शव पनि रोकिएका छन् । अर्को, उपत्यकाबाहिरबाट आउने बिरामीको संख्या पनि अत्यन्तै घटेको छ । यिनै कारणले शव दहन पनि कम भएका हुन सक्छन्,’ भट्टराईले भने ।

तर, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाल भने दुर्घटना र  विदेशबाट आउने शव रोकिएकै कारण शव दहनको संख्या घटेको मान्न तयार छैनन् । निजी अस्पतालले बिरामी भर्ना लिन अटेर गरिरहेका वेला मृत्यु हुनेको संख्या नै घट्नुले पश्चिमा चिकित्सकीय पद्धतिलाई नै चुनौती दिएको उनको दाबी छ । 

‘हामीकहाँ पश्चिमा चिकित्सकीय पद्धतिअनुसार उपचार हुँदै आएको छ । जीवन शैली पनि सोहीअनुसार विकास भएका छन् । अब यसलाई पुनर्विचार पो गर्ने हो कि ! अहिलेको अवस्थामा शव घट्नुलाई सामान्य ढंगले मात्रै नहेरौँ । यसमा साँच्चै रिसर्च हुन आवश्यक देखियो । उपचार पद्धतिमा कतै हाम्रै पूर्वीय दर्शन पो ठीक थियो कि ?’ ढकालको दाबी छ । 

ढकालका अनुसार आर्यघाटमा प्रत्येक दिन विदेशबाट ल्याइएको एक शव दहन हुने गर्छ । तर, यही कारण शव दहन घटेको मान्न उनी तयार छैनन् । भन्छन्, ‘विदेशबाट शव आउन रोकिएको छ । आर्यघाटमा त्यस्तो शव एउटा आउँथ्यो । त्यहीकारणले मात्रै यहाँ दहन हुने शव कम भयो भन्नु गलत हुन जान्छ । त्यहीकारण घटेको हो भने त एक–दुई शव मात्रै घट्नुपर्ने थियो । तर, यहाँ त झन्डै आधा घटेका छन् । यसको त खोजी हुन जरुरी छ ।’

सडक दुर्घटनामा हुने दैनिक एकको मृत्यु रोकियो
महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार मुलुकभर सवारी दुर्घटनाका कारण दैनिक सातको मृत्यु हुन्छ । उपत्यकाभित्र भने दैनिक एकको मृत्यु हुन्छ । तर, लकडाउन भएयता उपत्यकामा सवारी दुर्घटनाबाट कसैको पनि मृत्यु भएको छैन । 

‘उपत्यकामा दुर्घटनाबाट दैनिक एकको मृत्यु हुन्थ्यो । तर, लकडाउन भएयता कसैको पनि दुर्घटनामा मृत्यु भएको छैन । यसले मृत्युलाई घटाएको छ,’ महाशाखा प्रमुख एसएसपी भीम ढकालले भने ।

‘मेडिकल इरर’का कारण अमेरिकामा मात्रै प्रत्येक वर्ष दुई लाख ५० हजारको मृत्यु

अमेरिकामा प्रत्येक वर्ष चिकित्सकको कमजोरीले दुई लाख ५० हजार सर्वसाधारणको ज्यान जाने गरेको अनुसन्धानले देखाएको छ । स्थापित रिसर्च सेन्टर हकिन्स स्टडीले सन् २०१६ मा गरेको अनुसन्धानले यस्तो देखाएको हो । हकिन्सको रिपोर्टअनुसार अमेरिकामा मृत्यु हुने मुख्य कारणमध्ये मेडिकल इरर तेस्रो हो । यसबाहेक मृत्युको मुख्य कारण हर्टअट्याक र क्यान्सर हुन् । अमेरिकाको स्वास्थ्य तथा मानवीय सेवा विभागले समेत प्रत्येक सातजना बिरामीमा एक बिरामी मेडिकल इररको पीडित हुने गरेको देखाएको छ । 

तर, पशुपति क्षेत्र विकास कोषका निर्देशक डा.घनश्याम खतिवडालाई शव घट्नुमा कम सवारी दुर्घटनालाई मान्न तयार छैनन् । उनी भन्छन्, ‘उपत्यकामा सवारी दुर्घटनाका कारण मृत्यु हुने संख्या प्रत्येक दिन एकजना हो । दुर्घटनामा मरेका जति सबै पशुपति नै आउँथे भन्ने पनि छैन । ल मानौँ, आए । त्यसो हुँदा घट्ने संख्या त एक हो । तर, यहाँ त झन्डै आधा घटेका छन् । यसले हाम्रो उपचार पद्धति, जीवन शैली ठीक नभएको संकेत गर्छ ।’

कोरोनाबाट संसारभर  साढे ६२ हजारको मृत्यु

कोरोना भाइरसबाट संसारभर ६२ हजार चार सय ४४ को मृत्यु भएको छ । शनिबार रातिसम्म संक्रमित हुनेको संख्या ११ लाख ६२ हजार पुगेको छ भने निको हुने दुई लाख ४१ हजार छन् ।

एसियामा ८२१८ को मृत्यु

एसियामा दैनिक एक सय ११ जनाको कोरोना भाइरसका कारण मृत्यु हुने गरेको छ । चीनको वुहान सहरमा ३१ डिसेम्बर २०१९ बाट फैलिएको कोरोनाले २० जनवरीमा पहिलोपटक मानिसको मृत्यु भएको थियो । संसारका दुई सय देशमा फैलिएको कोरोनाबाट एसियामा मात्रै आठ हजार दुई १८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा नौजनामा संक्रमण देखिएको छ । जसमा एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी आठजनाको उपचार भइरहेको छ । मृत्यु कसैको पनि भएको छैन ।  

*समाचारमा भुलबस अत्यावश्यक अप्रेशनसमेत भन्ने भएकाेमा अत्यावश्यक बाहेक बनाइएकाे छ ।