मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
भवानीश्वर गौतम काठमाडाैं
२०७६ चैत २३ आइतबार ०९:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब  आठ हजार नेपाली विद्यार्थी समस्यामा

Read Time : > 2 मिनेट
२०७६ चैत २३ आइतबार ०९:०९:००

-समस्या महसुस गरे स्वदेश फर्कन अस्ट्रेलियन प्रधानमन्त्रीको आह्वान

-अध्ययन गरेर आवश्यक निर्णय लिन शिक्षा मन्त्रालयले बनायो कमिटी

अध्ययनका लागि अस्ट्रेलिया गएको एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी समस्यामा पर्ने देखिएका छन् । कोरोना भाइरसको महामारी चलिरहेका वेला यस्ता विद्यार्थीलाई अस्ट्रेलियन सरकारले कुनै राहत नदिने बताएको छ । एक वर्षभन्दा बढी भएका विद्यार्थीका लागि भने प्याकेजको घोषणा गरिसकेको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई बढी प्राथमिकता दिनुपर्ने भएकाले एक वर्ष नपुगेका विदेशी विद्यार्थीलाई सरकारले हेर्न नसक्ने बताएका छन् । यस्तो अवस्थामा अप्ठ्यारो महसुस गर्ने विद्यार्थीलाई स्वदेश फर्कन उनले आह्वान गरेका छन् । अस्ट्रेलियन प्रधानमन्त्रीको यस्तो घोषणाले काम गरेर अध्ययनखर्च जुटाउने उद्देश्यसहित त्यहाँ पुगेका विद्यार्थी समस्यामा पर्ने देखिएका छन् । 

अस्ट्रेलियामा एक वर्ष नपुगेका करिब आठ हजार नेपाली विद्यार्थी रहेको अनुमान गरिएको छ । शिक्षा मन्त्रालयका अनुसार ०७६ वैशाखयता अस्ट्रेलिया अध्ययनका लागि १६ हजार सात सय ६८ ले नो अब्जेक्सन लेटर लगेका छन् । ०७० साउनयता एक लाख ३४ हजार तीन सय ८४ विद्यार्थीले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् । सबैभन्दा धेरै ०७५ मा ४१ हजार चार सय ८० विद्यार्थीले एनओसी लगेका थिए । अस्ट्रेलियास्थित नेपाली राजदूतावासले समस्यामा परेका विद्यार्थीलाई सहयोग गर्न ‘इमर्जेन्सी रजिस्ट्रेसन फर्म’ भराउन सुरु गरेको छ । 

विदेशी विद्यार्थीका सम्बन्धमा अस्ट्रेलियन सरकारको नीतिले नेपाली विद्यार्थीमा कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन गरी आवश्यक निर्णय लिन शिक्षा मन्त्रालयले सहसचिव रामशरण सापकोटाको संयोजकत्वमा कमिटी बनाएको छ । ‘अस्ट्रेलियन प्रधानमन्त्रीले एक वर्ष नपुगेका विद्यार्थीलाई अप्ठ्यारो परेमा आफ्नो देश फर्कन सक्ने भन्नुभएको छ, एक वर्ष नपुगेका कति छन्, के प्रभाव पर्छ र मन्त्रालयले के निर्णय लिनुपर्छ भनेर कमिटी बनाएका छौँ,’ शिक्षासचिव महेशप्रसाद दाहालले भने । 

कमिटीलाई समस्याको विश्लेषण गर्ने, शैक्षिक परामर्श व्यवसायी संस्थाका पदाधिकारीसँग छलफल गर्ने र आवश्यक निर्णय लिन जिम्मेवारी दिइएको उनले बताए । अस्ट्रेलियाका कुन विश्वविद्यालय/कलेजमा कति नेपाली विद्यार्थी गएका छन् भन्ने विवरण पनि कमिटीले तयार गर्नेछ ।

नेपाली विद्यार्थीले एक वर्षका लागि खान, बस्न, ट्युसन फीलगायतका खर्चको सुनिश्चितता गरेर जाने भएकाले अस्ट्रेलियन सरकारले एक वर्ष पुगेका विद्यार्थीलाई मात्रै सहयोग हुने निर्णय गरेको सचिव दाहालले बताए । मन्त्रालयले अस्ट्रेलियास्थित नेपाली राजदूतावासबाट पनि ‘अपडेट’ मागेको छ । त्यस्तै, एनआरएन र विद्यार्थी संगठनहरूसँग पनि सहयोग लिन पहल भइरहेको सचिव दाहालले बताए । 

मन्त्रालयका सहसचिव तथा अध्ययन कमिटीका संयोजक रामशरण सापकोटाले कन्सल्टेन्सीलगायत सरोकारवालाहरूसँग सहयोग लिएर काम गर्ने बताए । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियामा खान नपाएर मर्ने स्थिति नभएको बताए । आफूहरूले पनि सक्ने सहयोग गर्ने उनको भनाइ छ । 
एसोसिएसन अफ अस्ट्रेलियन एजुकेसन रिप्रिजेन्टेटिभ्स इन नेपाल (ऐरी नेपाल)का अध्यक्ष द्विराज शर्मा विद्यार्थीले जाँदा एक वर्षमा लाग्ने शुल्कको प्रतिबद्धता लिएर गएकाले सम्भवतः समस्या नहुने बताए । खान नपाउने समस्या भएमा समाधानका लागि आफूहरूले समेत पहल गर्ने उनले बताए । 

एक वर्ष पुगेकालाई यस्तो छ राहत

अस्ट्रेलिया आएको एक वर्ष पुगेका नेपाली विद्यार्थीका लागि भने सरकारले राहतको प्याकेज ल्याएको छ । विद्यार्थीको कर जम्मा भएको सुपर एनुयसन (नेपालको सञ्चय कोषजस्तै) बाट १० हजार डलरसम्म निकाल्न पाउने निर्णय अस्ट्रेलियन सरकारले गरेको छ । भाडामा बसेका विद्यार्थीलाई भाडा नतिरेको भन्दै निकाल्न नपाउने, सुपरमार्केटमा जति समय पनि काम गर्न पाउने, नर्सिङ अध्ययन गरेकालाई वृद्धाश्रम र घर हेरचाहमा काम गर्न पाउने निर्णय पनि भएको छ । त्यस्तै, भिसाको कन्डिसनअनुसार रकम तिर्न ढिलाइ भए पनि भिसा रद्द नहुने, भिसा अवधि बढाउन समस्या नहुने, कलेज जान नसके घरबाटै अनलाइन कक्षा लिन सक्ने, कुनै कलेजले पढाउन नसकेमा र विद्यार्थीले रकम फिर्ता चाहेमा दिने निर्णय सरकारले गरेको छ ।