मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २२ शनिबार १९:१०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा भेटिए ६ जना कोरोना संक्रमित

सीमा क्षेत्रमा थप कडाई​​​​​​​

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार १९:१०:००

रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै सीमामा थप कडाइ गरिने भएको छ ।

शनिबार रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुई र मर्चवारीमाई गाउँपालिकाको पैदल दूरी १० मिनेटको मात्र रहेको मर्चवारीमाईका अध्यक्ष केशवनन्दन बानियाँले बताए ।

‘सीमावर्ती भारतीय गाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएको जानकारी पाएसँगै मर्चवार क्षेत्र पूरै त्रसित छ,’ अध्यक्ष बानियाँले भने, ‘सबै त्रसित छन् । कोही पनि घरबाहिर निस्किएको अवस्था छैन ।’ उनले स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर सीमा पूर्ण रूपमा बन्द गराउन आग्रह गरिएको बताए । कोल्हुई मर्चवारवासीको प्रमुख बजार हो ।

उनीहरू दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएकाहरू भएको खुलेको छ । उनीहरूलाई भारतीय प्रहरीले गत बुधबार नियन्त्रणमा लिएर बिआरडी मेडिकल कलेज गोरखपुरमा नमुना परीक्षणका लागि पठाएको थियो । शनिबार बिहान रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरूलाई पनि क्वारेन्टाइनमा राखिएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

खुला सीमाका कारण जोखिम बढेसँगै प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए ।
 
सीमा क्षेत्रमा थप कडाइ
सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमित भेटिएसँगै रुपन्देही प्रशासनले सीमा क्षेत्रमा थप कडाइ गरेको छ । सीमा सिल गर्न थालिएको भन्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सीमा क्षेत्रमा एकले अर्कोलाई देख्ने गरी सशस्त्र प्रहरी परिचालन गर्न लागिएको बताए । उनले भने, ‘केही स्थानमा आजै र बाँकी स्थानमा भोलि सिल गरिनेछ ।’

सीमा क्षेत्र सिल गर्न थप दुई सय सशस्त्र प्रहरी माग गरिएकोमा शनिबार साँझसम्ममा ८० जना आइसकेको सशस्त्र प्रहरीको ३८ नम्बर गुल्म रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोख्रेलले जानकारी दिए । उनले भने, ‘उनीहरूलाई आजै सीमा क्षेत्रको सुरक्षामा पठाइएको छ ।’ थप जनशक्ति आइतबार आइपुग्ने र उनीहरूलाई पनि आएलगत्तै सीमा क्षेत्रमा खटाइने उनको भनाइ छ ।