मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २२ शनिबार १६:१७:००
Read Time : > 1 मिनेट
समाचार

लक्षण नदेखिए पनि कोरोनाको संक्रमण भेटियो, सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या चार पुग्यो

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार १६:१७:००

कोरोना संक्रमित धनगढी उपमहानगरपालिका– ५ का एक युवाका परिवारका एक सदस्यमा पनि कोरोना संक्रमण भएको पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । 

दुबईबाट फर्किएका ३४ वर्षीय ती युवामा गत साता कोरोना संक्रमण देखिएको थियो । उनकी भाउजूमा पनि संक्रमण भएको पुष्टि भएपछि शनिबार बिहान घरबाट एम्बुलेन्समा राखेर अस्पताल पुऱ्याइएको हो ।

ती महिलामा कोरोनाको कुनै पनि लक्षण भने नदेखिएको चिकित्सक र परिवारका सदस्यले बताएका छन् । 

गत १३ चैतमा ती युवामा संक्रमण भेटिएपछि परिवारका आठजना सदस्य र संक्रमित युवाको सम्पर्कमा आएका एक गरी नौ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई होम क्वारेन्टाइनमा बस्ने गरी दुई दिनपछि घर पठाइएको थियो ।

कुनै लक्षण नदेखिएकाले जाँच नगर्ने भन्दै उनीहरू कसैको पनि नमुना संकलन गरिएको थिएन । तर, परिवारका सदस्यहरूको पनि नमुना जाँच हुनुपर्ने कुरा उठेपछि गत बुधबार उनीहरूको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । 

संक्रमित युवककी भाउजूको बाहेक परिवारका अन्य सदस्यको नमुना नेगेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा. जगदीशप्रसाद जोशीले जानकारी दिए ।संक्रमित महिलामा पनि कोरोनाको लक्षण नदेखिएको डाक्टर जोशीले बताए । संक्रमित युवाको पनि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

उनको अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । संक्रमित परिवारका सदस्यमा काेराेना संक्रमणा पाेजेटिभ देखिएसँगै नेपालमा पहिलोपटक विदेशबाट आएकाबाहेकमा कोरोना संक्रमण भेटिएको हो ।
 
दुबईबाट फर्किएका ती युवा १० चैतमा स्वास्थ्यमा समस्या भएपछि ११ चैतमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । दुबईबाट उनी ७ चैत बिहान दिल्ली पुगेका थिए । सोही दिन दिउँसो भिष्टार एअरबाट काठमाडौं उत्रिएका ती युवा साँझ काठमाडौं धापासीस्थित आफ्ना मामाको घरमा बसेका थिए ।

उनी ८ चैतमा बुद्ध एअरको विमानमा काठमाडौंबाट नेपालगन्ज पुगेका थिए । विमानस्थलबाट कोहलपुरसम्म अटोरिक्सा, कोहलपुरबाट अत्तरियासम्म हाइस माइक्रो र अत्तरियाबाट विंगरमा धनगढी पुगेका थिए । धनगढीबाट अटोरिक्सामा बसेर घर पुगेका उनी सामान्य ज्वरो आएपछि अस्पताल भर्ना भएका थिए ।

संक्रमित चारैजनाको सेती अस्पतालमा उपचार हुँदै
यस्तै, कैलालीको लम्की घर भएका एकजना पुरुष तथा कञ्चनपुर घर भएका अर्का एक व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिएको छ । 

लम्कीका ती युवा ११ चैतमा गौरीफण्टा नाका भएर भारतबाट आएको खुलेको छ । १२ गतेदेखि लम्कीकै क्वारेन्टाइनमा बसेका ती युवामा कोरोना देखिएपछि शनिबार सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ ।

भारतबाटै घर फर्किएका कञ्चनपुरका अर्का संक्रमित पुरुषलाई पनि सेती प्रादेशिक अस्पतालमै ल्याएर उपचार थालिएको छ । 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार पुगेको छ । यी सबै चारैजनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । प्रदेश सरकारले यस अस्पताललाई कोरोना उपचार विशेष अस्पताल तोकेको छ ।