जर्मनीको फुटबल रंगशालालाई अस्थायी अस्पताल बनाइने
जर्मनीको सबैभन्दा ठूलो वेस्टफलेन फुटबल रंगशालालाई कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाइने भएको छ । बोरुसिया डर्टमन्ड फुटबल टिमले एक विज्ञप्ति जारी गर्दै शनिबारदेखि नै अस्पतालको रूपमा प्रयोग हुने बताएको हो ।
‘शनिबारदेखि सिंगल इदुना पार्क फुटबलमा केन्द्रित हुनेछैन, यो कोरोना भाइरस संक्रमणको लक्षण देखिएका मानिसको उपचारमा प्रयोग गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
डर्टमन्डका प्रबन्ध–निर्देशक हन्स जोआकिम वाटत्के र कार्टन क्रेमरले ‘सक्रियताका साथ मानिसलाई सहयोग गर्ने आदर्श स्थान’ भएको प्रतिक्रिया दिएका छन् ।
क्लबले नर्थ राइन वेस्टफालिया राज्यको संयोजनमा फुटबल मैदान स्वास्थ्य सेवाका लागि परिवर्तन गरेको हो । जर्मनीमा भाइरसबाट ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने एक हजार दुई सयको मृत्यु भएको छ ।