१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
खगेन्द्र भट्टराई
२०७५ माघ ९ बुधबार ०७:५४:००
Read Time : > 1 मिनेट
साहित्य

कारागारमा पुस्तकालय अभियान 

Read Time : > 1 मिनेट
खगेन्द्र भट्टराई
२०७५ माघ ९ बुधबार ०७:५४:००

कारागार अपराधी थुन्ने ठाउँका रूपमा मात्र बुझ्नु पक्कै गलत हुन्छ । यो चरित्र सुधार गर्ने ठाउँ हो । यतिवेला कारागारका कैदीबन्दीलाई पढाउने अभियानमा छन् कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाह । उनी प्रदेशका आठै कारागारमा पुस्तकालय बनाउने अभियानमा छन् । अध्ययनबाट सकारात्मक सोच विकास हुँदा समाजमा शान्तिसुरक्षा पनि प्रभावकारी हुने महेशविक्रमको भनाइ छ । 

त्यसो त महेशविक्रम चिनिएका साहित्यकार पनि हुन् । मुलुकमा सशस्त्र द्वन्द्वको समयमा हिंसाको उद्गमस्थल मानिएको रोल्पामा बसेर ‘छापामारको छोरो’ कथासंग्रह लेखे । जुन पुस्तकले मदन पुरस्कार पायो । साहित्यले काल्पनिक विषयवस्तुभन्दा समाजका भोगाइहरू प्रस्तुत गर्दा आनन्द महसुस हुने उनी बताउँछन् । 

साहित्यलाई समाजको इतिहास ठान्ने शाह मानव सभ्यता र सामाजिक सभ्यता सम्झाउने माध्यम पनि साहित्यलाई नै ठान्छन् । ‘इतिहास विजेताको लेखिन्छ, तर साहित्य विपन्नको आवाज बोल्छ,’ उनी भन्छन्, ‘समाजबारे बुझ्न साहित्य अध्ययन नगरी हुँदैन ।’ त्यसकारण आफूले ‘कारागारमा पुस्तकालय’ अभियान चलाएको उनले बताए । 

कर्णाली प्रदेश प्रहरीको नेतृत्वमा आएपछि डिआइजी महेशविक्रमले कर्णालीका सबै जिल्लाको भ्रमण गरे । कारागारहरूको निरीक्षण गरे । आफूले कैदीबन्दीको आकांक्षा बुझेपछि अभियान थालेको बताउँछन् । ‘कैदीबन्दीहरू आफ्नो सजाय भुक्तान गरेर समाजमै फर्किंदा उनीहरूलाई हेर्ने सामाजिक दृष्टिकोण बदल्न पनि पुस्तकालय आवश्यक छ,’ उनी भन्छन्, ‘जब कर्णालीका जिल्लाहरूमा गएँ, त्यतिवेला कैदीबन्दीहरूले राखेको आकांक्षाअनुसार यो अभियान थालिएको हो ।’

समुदाय नागरिक साझेदारीअन्तर्गत थालिएको यो अभियानले विभिन्न अभियोगमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरूको मानवअधिकारको संरक्षण गर्न सकिने उनको बुझाइ छ । एउटा अपराध गरेर कारागार गएको मान्छेले अन्य विभिन्न अपराधमा संलग्न भएकाहरूसँगको संगतले कारागारबाट निस्कँदा ‘अपराधको डिग्री’ हासिल गर्न सक्ने सम्भावनालाई पनि यो अभियानले कमजोर बनाउने उनको तर्क छ । कारागारमा सजाय भुक्तानसँगै उनीहरूलाई अध्ययनशील बनाउन र मनोरञ्जन दिन पनि पुस्तकालय प्रभावकारी हुने उनले बताए । ‘कारागारका बन्दी सुधारका लागि अन्य थुप्रै उपायसँगै अध्ययन र मनोरञ्जन पनि प्रमुख कुरा हो,’ उनले भने, ‘जुन समाजमा ऊ फर्किन्छ त्यही समाजमा उसलाई हेर्ने दृष्टिकोण बदल्न पनि यो अभियान जरुरी छ ।’ 

कर्णालीका सबै कारागारहरूमा पुस्तकालय स्थापनाका लागि थालिएको यो स्वयंसेवी अभियान हो । अभियानका लागि महेशविक्रमले विभिन्न जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा ‘कारागारमा किताब’ उपसमिति गठन गरी किताब संकलन गर्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार र विभिन्न व्यक्तिहरूको समन्वयमा कारागारमा आवश्यक पूर्वाधार र किताबहरू जुटाउने योजना भएको उनले सुनाए । 

सोहीअनुरूप विभिन्न जिल्लामा उपसमितिहरूले काम थालनी गरिसकेका छन् । माघभित्र सुर्खेत र जुम्लामा पुस्तकालय स्थापना गरिसक्ने योजना भएको महेशविक्रमले बताए । उनले भने, ‘त्यसका लागि आवश्यक काम पनि भइरहेको छ ।’ किताब संकलनका लागि विभिन्न प्रकाशनगृहसँग छलफल गरिएको र उनीहरू सकारात्मक रहेको उनले बताए । ‘पुस्तक लेखक, प्रकाशनगृह र त्यससँग सम्बन्धित विभिन्न संघसंस्थासँग किताबका लागि आग्रह गरिएको छ,’ उनले भने । यो अभियानमा कर्णालीका साथै अन्य विभिन्न क्षेत्रको सहयोग हुने उनको विश्वास छ ।