मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ चैत २२ शनिबार ०९:४७:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

उपेक्षामा भुटानी शरणार्थी औषधि अभाव, खाद्यान्न सकिएर भान्सामा तनाव

Read Time : > 3 मिनेट
२०७६ चैत २२ शनिबार ०९:४७:००

भुटानी शरणार्थी शिविर बेल्डाँगी छाप्रो नम्बर १८१ की जोगमाया राई (६२) लाई तीन वर्षअघि प्यारालाइसिस भयो । उनको शरीरको बायाँ भाग अझै पनि राम्रोसँग चल्दैन । एउटा खुट्टा घिसार्दै भए पनि भित्र–बाहिर गर्न उनले छाडेकी छैनन् । 

शरीर नचल्नुको पीडाले त उनलाई त्यति सताउँदैन, जति परिवारको बिछोडले सताउँछ । उनलाई प्यारालाइसिस सुरु हुनेबित्तिकै श्रीमान्ले छाडेर गए । चार छोरा र एक छोरी अमेरिका उडेको चार वर्ष भयो । घरमा एक्लै जोगमायालाई अहिले लकडाउनको समयमा के खाएर छाक टार्ने भन्ने समस्याले सताएको छ । अरू वेला छिमेकीले सहयोग गर्थे । अहिले लकडाउनले छिमेकी शरणार्थीहरू पनि दैनिक मजदुरी गर्न जान पाएका छैनन् ।

‘अहिले त दुई छाकका लागि एकैपटक खाने गरेको छु । अस्ति अरूले सहयोग गरेर मकै र चामल ल्याएकी थिएँ । कहिले मकै खान्छु, कहिले चामल मिसाएर,’ उनी भन्छिन्, ‘अहिले त जंगलमा निगुरो पाइन्छ, नभए त चियासँग खान्थेँ । चियासँग मकैको भात खाँदा कस्तो हुन्छ होला ? अब प्रशस्त खान त आफू गर्न पनि सक्नुप¥यो नि !’ 

कोरोनाको त्रासले सरकारले लकडाउन सुरु गर्नुअघि उनले जोहो गरेको चामल सकिनै लागेको छ । अब पाँच दिन पनि थाम्ला कि नथाम्ला भन्ने अवस्थामा पुगेको छ । श्रीमान् त फर्केर पनि आउँदैनन् । छोराछोरीले एकपटक सम्पर्क पनि गरेका छैनन् । ‘मलाई उनीहरू (छोराछोरी)को नम्बर थाहा छैन । मेरोमा फोनै गर्दैनन्,’ भक्कानिँदै उनी भन्छिन्, ‘अस्ति त सेभ थियो । बुढाले नै आएर डिलिट गरेछ । बाहिर निस्कन पनि पाइँदैन रे ! अब मर्ने त होला नि !’

यतिवेला सरकारले स्थानीय तहमार्फत विपन्न परिवारको तथ्यांक लिँदै छ । दैनिक ज्यालादारीमा काम गर्नेलाई खाद्यान्न उपलब्ध गराउने चर्चा पनि छ । तर, दातृनिकायले रासन दिन छाडेको भुटानी शरणार्थी शिविरमा कसैको नजर परेको छैन ।

श्रीमतीकै स्याहारमा मनबहादुरको दिन बित्छ

शिविरकै छाप्रो नम्बर १८९ का ७० वर्षीय मनबहादुर कार्कीलाई पनि अहिले उस्तै तनाब छ । कमाउने कोही छैनन् । दुई छोराहरू काम गर्दैनन् । श्रीमती खिनमायालाई मानसिक रोगले च्यापेको १६ वर्ष भयो । घर छाडेर हिँड्न मिल्दैन, उनी । श्रीमतीकै स्याहारमा उनको दिन बित्छ । घरमा खाना पनि सकिँदै छ । लकडाउनले दैनिकी पनि अस्तव्यस्त बन्दै छ । ‘अरू वेला त गाउँमा गएर खेतमा काम गर्थेँ । त्यसले खान त पुग्थ्यो । अहिले त घरबाट बाहिर निस्कन पनि पाइँदैन,’ मनबहादुर भन्छन्, ‘संस्थाले श्रीमती मानसिक बिरामी भएकाले तीन महिनामा ६ हजार त दिन्छ । अस्ति दिएको सकियो । योपटक आयो कि ! तर, निकाल्न पाएको छैन । घरको खाना पनि सकियो ।’

६ हजार शरणार्थीमध्ये वृद्धवृद्धा, अशक्त, बिरामी तथा एकल महिला कष्टमा 

झापाको दमकस्थित बेल्डाँगी शिविर र मोरङको पथरीशनिश्चरेस्थित शिविरमा रहेका करिब ६ हजार शरणार्थीमध्ये यो लकडाउनको समयमा वृद्धवृद्धा, अशक्त, बिरामी तथा एकल महिलालाई सबैभन्दा गाह्रो भएको छ । दातृ निकायले दिने रासन कटौती गरेपछि उनीहरू दैनिक ज्यालादारीमा काम गर्दै आएमा थिए । तर, लकडाउनले काम गर्न नपाएपछि घरमा चुलो नै निभ्ने अवस्था आएको बेल्डाँगी शिविर छाप्रो नम्बर १८० की एकल महिला सीतामाया गुरुङ बताउँछिन् । ‘मेरा दुईजना छोराहरू छन् । दुईजना बुबाआमा नभएका बालक राखेकी छु । उनीहरूलाई मजदुरी गरेर खुवाउँदै थिएँ । अब त्यो पनि बन्द भयो,’ उनी भन्छिन्, ‘मेरो मात्र हैन । मजस्ता धेरैको चुलो नै नबल्ने अवस्था आउन लाग्यो ।’ 

झापाको दमकस्थित बेल्डाँगी शिविर र मोरङको पथरीशनिश्चरेस्थित शिविरमा रहेका करिब ६ हजार शरणार्थीमध्ये लकडाउनको समयमा वृद्धवृद्धा, अशक्त, बिरामी तथा एकल महिलालाई सबैभन्दा गाह्रो भएको छ । कोरोना रोकथामका लागि देशव्यापी लकडाउनको समय थपिँदै जाँदा शरणार्थीको चुलो नबल्ने मात्र होइन दीर्घरोगीले खाँदै आएका औषधीसमेत सकिँदैछ । 

यतिवेला सरकारले स्थानीय तहमार्फत विपन्न परिवारको तथ्यांक लिँदै छ । दैनिक ज्यालादारीमा काम गर्नेलाई खाद्यान्न उपलब्ध गराउने चर्चा पनि छ । तर, दातृ निकायले रासन दिन छाडेको भुटानी शरणार्थी शिविरमा कसैको नजर परेको छैन । 

दमक नगरपालिकाले पनि सबै वडाबाट राहतका लागि विपन्न नागरिकको तथ्यांक संकलन गर्ने काम गरिरहेको जनाएको छ । तर, यही नगरमा बसोबास गर्ने भुटानी शरणार्थी शिविरसम्म चाहिँ पुग्न सकेको छैन । ‘अरूतिर त राहत बाँड्छन् रे ! हाम्रो (शिविर) मा त के ल्याउँथे होला र !’ शिविरकी एकल महिला भीमकुमारी राई भन्छिन्, ‘आफ्नो त घर पनि लड्न लागेको छ । (घरतिर देखाउँदै) यो त बनाउन सकेको छैन । अब कसरी खाने होला ? दुईजना छोराछोरीलाई कसरी खुवाउने ?’ 

शिविरमा अधिकांशलाई तेस्रो देशबाट पैसा पठाउने गरेकाले दैनिकी चलाउन सहज छ भन्ने सोच्छन् । तर, शरणार्थीको दैनिकी त्यस्तो छैन । उनीहरू आफैँ दुःख गरेर दैनिकी चलाउँदै आएका छन् । ‘अरूले सोचेजस्तो कहाँ हुन्छ र !’ भीमकुमारी भन्छिन्, ‘उता उहाँहरू (आफन्त)लाई पनि त परिवार चलाउनुपर्ने हुन्छ । वर्षमा एकपटक पाँच/छ हजार दिएकाले के पुग्थ्यो र !’

औषधि सेवनबाट वञ्चित हुँदै पाँच सयभन्दा बढी शरणार्थी

शिविरमा बाँकी रहेका ६ हजारभन्दा बढी शरणार्थीको स्वास्थ्य बिमा गरिएको छ । त्यही बिमामार्फत उनीहरूका लागि दमक अस्पतालमा काठमाडौंबाट मनोचिकित्सक तथा अन्य रोगका डाक्टरहरू आउने गर्छन् । त्यो समय प्रत्येक महिनाको १० र ११ गते पर्छ । उनीहरूलाई एक महिना पुग्ने औषधि त्यही समय दिइन्छ । तर, एक हप्ता बितिसक्दा पनि लकडाउनका कारण डाक्टर आएका छैनन्, न त शरणार्थी अस्पताल जान नै सकेका छन् । शिविरमा सबैभन्दा धेरै मानसिक रोगी छन् । त्यस्तै, सुगर, ब्लडप्रेसरलगायत पाँच सय शरणार्थीले दैनिक औषधि प्रयोग गर्दै आएको भुटानी शरणार्थी अपांगता संघकी अध्यक्ष देवीमाया गुरुङले बताइन् । ‘अब त सबैको औषधि सकियो । बाहिर गएर खान सक्ने अवस्थामा कोही शरणार्थी छैनन्,’ उनले भनिन्, ‘यस्तो हुँदा त बिरामीलाई धेरै गाह्रो पर्छ । हामीलाई स्वास्थ्य सेवा दिँदै आएको आम्दा अस्पतालबाट औषधि बाँडियोस् ।’

नगरपालिकाकी उपप्रमुख गीता अधिकारी भन्छिन्–समन्वय भइरहेको छ

दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर) सँग भुटानी शरणार्थीका विषयमा समन्वय भइरहेको बताइन् । ‘युएनएचसिआरले शरणार्र्थीलाई छाडिसकेको छैन । यस्तो अवस्थामा हामीले एक्लै केही गर्न सक्दैनौँ,’ उनले भनिन्, ‘यसका लागि युएनएचसिआरसँग समन्वय भइरहेको छ । चाँडै केही निर्णय होला ।’ तर, शरणार्थीलाई कसरी राहत दिने भन्नेबारेमा ठोस निर्णय नै नभएको स्रोतले जनाएको छ ।