१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २२ शनिबार ०८:५४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

१३ इन्डोनेसियन धार्मिक अगुवामाथि अभद्र व्यवहार

स्थानीय मात्र होइन, जनप्रतिनिधिले समेत वास नदिएपछि प्रहरीले गर्‍यो व्यवस्थापन

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार ०८:५४:००

कोरोना संक्रमणको आशंकामा राजधानीका विभिन्न स्थानका बासिन्दा र जनप्रतिनिधिबाट १३ इन्डोनेसियन धार्मिक अगुवामाथि अभद्र व्यवहार भएको छ । गत बुधबार सिरहाबाट काठमाडौं आएका उनीहरूले उपत्यकाका विभिन्न स्थानमा विरोधको सामना गर्नुपर्‍यो भने इमाडोलमा दुर्व्यवहार नै सहनुपर्‍यो । 

बिहीबार बेलुकीबाट भने प्रहरीले उनीहरूलाई आवास र खानपानको व्यवस्थापन गरेको छ । दुई महिनादेखि नेपालमा रहेका उनीहरू गत बुधबार सप्तरीबाट काठमाडौंको नेपालटार आएका थिए । भारतमा कोरोना संक्रमण फैलिएको धार्मिक सभाबाट आएको भन्दै स्थानीयले विरोध गरेपछि बुधबारै राति ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा पुर्‍याइएको थियो । तर, त्यहाँ पनि स्थानीयले विरोध गरे । महालक्ष्मी नगरपालिकाले मुस्लिम आयोगका पदाधिकारी, गृहसचिव र स्थानीय प्रशासनसँग परामर्श गरेपछि उनीहरूलाई बिहीबार राति गोदावरी नगरपालिकाको एक क्वारेन्टाइनमा लगियो । तर, त्यहाँ पनि जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरीले बिहीबार एक क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरेको हो । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले विदेशी धार्मिक अगुवाहरूलाई विभिन्न स्थानमा राख्ने प्रयास गर्दा जनप्रनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरी आफैँले व्यवस्थापन गरेको बताए । प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयका अनुसार अब विदेशी धार्मिक अगुवाहरूको समस्या व्यवस्थापन भइसकेको छ । उनले भने, ‘विभिन्न स्थानमा धार्मिक अगुवाहरूलाई राख्ने विषयमा समस्या आएको थियो । अहिले प्रहरीले समाधान गरिसकेको छ ।’ 

एसएसपी राईका अनुसार धार्मिक अगुवाहरू चीनमा कोरोना संक्रमण नफैलिँदै नेपाल आएका थिए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख मित्रबन्धु शर्माले धार्मिक अगुवाहरूको हिस्ट्री अध्ययन गर्दा सप्तरी र काठमाडौंबाहेक अन्यत्र कतै नगएको पाइएको बताए । 

समन्वय नहुँदा समस्या

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले प्रहरी र स्थानीय सरकारसँग समन्वय नगर्दा समस्या भएको बताए । उनले भने, ‘प्रहरी र स्थानीय सरकारबीच समन्वय अभाव देखियो । प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेको भए उहाँहरूलाई समस्या हुने थिएन ।’ एक धार्मिक कार्यक्रममा सहभागी हुन गत २१ जनवरीमा इन्डोनेसियाबाट ६ जना र ११ फेब्रुअरीमा सातजना गरी १३ जना धार्मिक अगुवा नेपाल आएका हुन् । उनीहरू १४ देखि १६ फेब्रुअरीमा सप्तरीमा भएको धार्मिक कार्यक्रममा सहभागी भएका थिए । 

स्थानीय नेताले अवसर गुमाए : एसएसपी टेकप्रसाद राई 
महानगरीय प्रहरी परिसर ललितपुर

जनप्रतिनिधिले नेपाल धार्मिक सहिष्णुता भएको देश हो भन्ने सन्देश दिने अवसर गुमाउनुभयो । धार्मिक अगुवाहरू चीनमा कोरोना संक्रमण नफैलिँदै नेपाल आउनुभएको रहेछ । त्यो नबुझी कोरोना संक्रमित भएझैँ गरेर विरोध हुनुले राम्रो सन्देश गएन । उहाँहरूमाथि मानवीय व्यवहार पनि हुन सकेन । ढिलै भए पनि हामीले उहाँहरूको व्यवस्थापन गरेका छौँ ।