मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २२ शनिबार ०८:२०:००
Read Time : > 1 मिनेट
अर्थ

इँटाभटामा भारतीय मजदुर निर्बाध काम गर्दैै

Read Time : > 1 मिनेट
२०७६ चैत २२ शनिबार ०८:२०:००

प्रवेशद्वारमा बाँसको भर्‍याङ तेस्र्याएर बाटो बन्द गरिएको छ । जोकोहीलाई आवतजावत बन्द छ । हुलाकी सडकखण्डको औरही गाउँपालिका–४ गणेशपुर चोकदेखि पश्चिममा दुईवटा इँटा उद्योग छन् । नोबेल करोना भाइरस (कोभिड–१९) का कारण लकडाउन भएपछि हुलाकी सडक सुनसान छ । तर, हुलाकी सडकको उत्तरपट्टि रहेका दुवै इँटा उद्योगमा मजदुरहरू काम गर्दै छन् ।

सेभेन स्टार इँटा उद्योगमा भारतको पश्चिम बंगाल जलपाइगुडी जिल्लाको बनाडहठ गाउँका २ सयभन्दा बढी मजदुरहरू दैनिक काम गरिरहेका छन् । उद्योगमा काम गर्दै आएका मजदुरका स–साना बालबालिका पनि उक्त इँटा उद्योगमा छन् । दिनभरि इँटा बनाउने र ओसार्ने काम गर्दै आएका उनीहरू बिहान–बेलुकाको समय छेउकै गाउँघरमा डुल्दै समय बिताउँछन् ।

यही अवस्था छेउमा रहेको अर्को इँटा उद्योगमा पनि देखिन्छ । विपिन इँटा उद्योगमा भारतीय मजदुरहरू काम गर्दै आएका छन् । उक्त इँटा उद्योग बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोको हो । यता गोलबजार नगरपालिका क्षेत्रमा रहेका २४ वटा इँटा उद्योगमा मजदुरहरू काम गर्दै आइरहेका छन् ।

काम गराएको छैन : व्यवसायी

सेभेन स्टार इँटा उद्योगका मुन्सी देवनाथ यादवले उद्योग बन्द गरिएको दाबी गरे । उद्योग बन्द गर्न जानकारी प्राप्त भए पनि थोरै–थोरै काम दिएर मजदुरलाई राखेको यादवले बताए । उनले भने, ‘बन्द गर्न सूचना त आयो, तर मजदुरलाई पठाउन भ्याएनौँ । थोरै–थोरै काम दिएर यहीँ राखेका छौँ ।’  

विपिन इँटा उद्योगका सञ्चालकसमेत रहेका बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले लामो समयदेखि मजदुरहरू आफ्नो उद्योगमा कार्यरत रहेको बताए । ‘तीन–चार दिनमा कोइला सकिन्छ । अनि काम पनि सकिन्छ,’ उनले भने, ‘सामान्य काम गर्दै आएका छौँ । काम सकिएपछि पठाउँछु ।’

बन्द गर्नुपर्छ : प्रजिअ 

सिराहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले इँटा उद्योगहरू बन्द हुनुपर्ने बताए । ‘बन्द गर्न हामीले जानकारी दिइसकेका छौँ,’ प्रजिअ गुरागाईंले भने, ‘मजदुर राखेर इँटा पोल्ने काम हुनुहुँदैन । तपाईंले जानकारी दिनुभयो, मान्छे पठाएर हेर्न लगाउँछु ।’

कोइला ल्याउन अनुमति माग गरे पनि आफूले नदिएको प्रजिअ गुरागाले बताए । २५ जनाभन्दा बढी मान्छे जम्मा हुन नपाइने भन्दै प्रजिअ गुरागाईंले उद्योगहरूमा सयौँ संख्यामा मजदुर काम गर्दै गरेको विषयमा निगरानी गरिने बताए ।