मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी म्याड्रिड
२०७६ चैत २२ शनिबार ०७:०४:००
Read Time : > 2 मिनेट
खेलकुद

कोरोना महामारीले थलिएपछि शान्त युरोपियन फुटबल

Read Time : > 2 मिनेट
एजेन्सी म्याड्रिड
२०७६ चैत २२ शनिबार ०७:०४:००

नियमित गतिविधि यथावत् चलिरहेको भए, अहिले पूरै युरोप फुटबलमय भइरहेको हुन्थ्यो । युरोपियन च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर, ला लिगा, बुन्डेस लिगा, सिरी ए, फ्रेन्च लिग वानमा सबै ध्यानकेन्द्रित हुन्थे होला । तर, अहिले युरोप अभतपूर्व संकटको सामना गरिरहेको छ । १२ महिना नै फुटबल गतिविधिमा व्यस्त रहने युरोपमा अहिले सन्नाटा छाएको छ ।

युभेन्टसका स्ट्राइकर पाउलो डिबाला भन्छन्, ‘अहिले युरोप शान्त छ, किनकी, सम्पूर्ण विश्व कोरोनाको चपेटामा छ । मैले आफैँ यो पीडालाई नजिकबाट भोगेको छु । थाहा छैन, यो मुस्किलको समय कहिले सकिन्छ ।’

एकै खेलमा ५० हजारभन्दा माथि समर्थक उपस्थित रहने रंगशालाहरू अहिले सुनसान छन् । एक देशबाट अर्को देशमा लिग हेर्न पुग्ने फुटबल कल्चर अहिले कोरोना महामारीमा थलिएको छ । निर्वाध आवजावत हुने युरोपियन देशले अहिले आफ्नो सिमाना बन्द गर्न बाध्य भएका छन् । 

एकै खेलमा ५० हजारभन्दा माथि समर्थक उपस्थित रहने रंगशालाहरू अहिले सुनसान छन् । एक देशबाट अर्को देशमा लिग हेर्न पुग्ने फुटबल कल्चर अहिले कोरोना महामारीमा थलिएको छ ।

अझ लकडाउनका कारण मानिस घरमा नै बन्धक छन् । फुटबलर होम क्वारेन्टाइनमा छन् । कोरोना महामारीले अनिश्चित भविष्य चाँडै हराउने विश्वासमा घरमै कैद छ, सिंगो युरोप । विश्वका प्रतिष्ठित शीर्ष पाँच लिग खेल्ने सयौँ खेलाडी र उनै खेलाडीबाट आश्रित युरोपको ठूलो अर्थ व्यवस्था अहिले सुनसान छ । शीर्ष क्लबहरू आफैँलाई आगामी भविष्यमा हुन सक्ने आर्थिक संकटले पिरोलेको छ । क्लबलाई मात्र होइन, अब सिंगो युरोप नै कसरी तंग्रिएला भन्ने प्रश्न व्याप्त छ ।

फुटबल गतिविधिबाट प्राप्त हुने अर्बौँ डलरले चलेको युरोपियन अर्थतन्त्रले भविष्यका बारेमा सोच्ने फुर्सद पाएको छैन । चर्चित क्लबका खेलाडी आफ्नो तलब कटौती गर्न मन लागी –नलागी तयार भएका छन् । यो कहिलेसम्म रहने सिंगो विश्वलाई थाहा छैन । युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपियन फुटबल महासंघ (युइएफए)ले प्रतिष्ठित च्याम्पियन्स लिग अनिश्चितकालका लागि स्थगित गर्दा आफ्ना ५५ सदस्य राष्ट्रहरूसँग भिडियो कन्फ्रेन्स गरेको थियो ।
 
अधिकांश देशले महासंघसँग घरेलु फुटबल लिगको सञ्चालन आगामी दिनको ठूलो समस्याका रूपमा उदाउने र फुटबल ब्युँतिन समय लाग्नेतर्फ सचेत रहन आग्रह गरे । धेरै देशलाई कोरोनापछिको फुटबलको भविष्य के होला भन्ने प्रश्न छ ? महासंघका अध्यक्ष अलेक्जेन्डर केफ्रिन निरीह सुनिए । 

उनीसँग जवाफका रूपमा सबै सदस्य राष्ट्रलाई हौसला बढाउनुबाहेकको विकल्प थिएन । उनले भने, ‘नसोचेको यो अवस्थाबाट सिंगो विश्व लड्नुपर्ने बाध्यता आएको छ । त्यसैले, अहिले सबैले धैर्यपूर्वक आफ्नो आगामी दिनका बारेमा योजना बनाउनुपर्नेछ ।’ 

युरोपियन फुटबल पुरानै अवस्थामा ल्याउन महासंघले कुनै कसर बाँकी नराख्ने अलेक्जेन्डरले बताए । तर, अनिश्चित बनेको युरोपको फुटबल गतिविधि मैदानमा पुन कहिले ओर्लिने हो, यसको ठोस जवाफ उनीसँग पनि छैन् । कोरोना कति पीडादायी छ भन्ने कुरा इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी खेलाडी डिबालाले भोगेका छन् । उनी भन्छन्, ‘कोरोनाको लडाइँमा प्रत्यक्ष भोगाइबाट थाहा भयो, यो कति खतरनाक र पीडादायी छ भनेर । मैले यो क्षणलाई महसुस गरेँ ।’ 

कोरोनामाथि जित निकालेपछि उनले भने, ‘हरेक पाँच मिनेटमा मलाई सास फेर्न गाह्रो हुन्थ्यो । सास फेर्नकै लागि मैले ठूलो संघर्ष गरेको थिएँ । अहिले समस्यालाई जितेर बाहिर निस्किएको छु । म अहिले प्रार्थना मात्र गर्न सक्छु, सबैको स्वास्थ्य सुध्रियोस्, पहिलो प्राथमिकता मानिसको स्वास्थ्य नै हो ।’

सिंगो युरोपले सुरुमा कोरोना भाइरसलाई हल्का रूपमा लिएका थिए । त्यही भएर बन्द रंगशालामा भए पनि प्रतियोगिता गराउने हिम्मत गरिए । तर, यसको महामारी यति तीव्र बन्यो कि विश्वका ठूला प्रतियोगिताहरू एकपछि अर्को गर्दै निरन्तर स्थगित हुँदै गए, र युरोपियन फुटबल ठप्प भयो । अहिले युरोप शोकाकुल छ । हरेक देशका नागरिकहरू अहिले आफन्तको मृत्युमा शोकाकुल छ । सिंगो युरोपले अहिले भयावह अवस्था भोगेको छ । सायद यस्तो अवस्था फेरि नआउला कि ?