मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रेम चन्द काठमाडौं
२०७६ चैत २१ शुक्रबार २०:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पेट्रोल व्यवसायीको अड्को : ३० करोड घाटा भएको दाबी

Read Time : > 2 मिनेट
प्रेम चन्द, काठमाडौं
२०७६ चैत २१ शुक्रबार २०:४७:००

देशव्यापी लकडाउनले पेट्रोलियम पदार्थको बिक्री करिब ठप्प रहेका वेला पेट्रोलियम व्यवसायीले आफूहरूलाई ३० करोड नोक्सान भएको र सरकारले उक्त नोक्सान व्यहोर्नुपर्ने बताएका छन् । पछिल्लो समय नेपाल आयल निगमले एकैपटक १० रुपैयाँ प्रतिलिटरका दरले पेट्रोल र डिजेलको मूल्य घटाएकाले आफूहरूले ३० देखि ४० करोड रुपैयाँ घाटा व्यहोर्नुपरेको पेट्रोलियम व्यवसायीहरूको दाबी छ । अहिले पेट्रोल तथा डिजेलको बिक्री करिबकरिब ठप्प भएका वेला कसरी ३० करोड रुपैयाँ घाटामा हुन्छ भनेर उपभोक्ताकर्मीले प्रश्न उठाएका छन् ।

नेपाल आयल निगमका अनुसार लकडाउन अवधिमा पेट्रोल तथा डिजेलको बिक्री करिब ९० प्रतिशतले घटेको छ । तर, सरकारले पेट्रोल तथा इन्धन भण्डारण गर्न लगाएरै अचनाक एकैपटक १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाउँदा आफूहरूलाई ३० देखि ४० करोड रुपैयाँ नोक्सान हुन गएको पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको भनाइ छ ।

एसोसिएसनले बिहीबार नेपाल आयल निगमलाई पत्राचार गर्दै प्रारम्भिक अनुमानअनुसार ३० देखि ४० करोड नोक्सान व्यहोर्नुपरेकाले उक्त नोक्सान मन्त्रालय वा निगमले पूर्ति गरिदिनुपर्ने उल्लेख गरेको छ । ‘एकैपटक १० रुपैयाँ घटाउँदा निगमको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । र पेट्रोलियम व्यवसायीहरूको ३० देखि ४० करोड रुपैयाँसम्म घाटा हुन गएको छ,’ एसोसिएसनको पत्रमा उल्लेख छ ।

पत्रमा अहिले निगमले गरेको कार्यले भविष्यमा आपूर्तिमा समेत संकट उत्पन्न हुन सक्ने भन्दै क्षतिपूर्ति गराउने व्यवस्था गर्न धम्की दिइएको छ । ‘यस कार्यले भविष्यमा पेट्रालियम पदार्थको नियमित आपूर्तिमा समेत असर प्रस्ट भएको छ । उक्त घाटा व्यवसायीहरूले धान्नसमेत नसक्ने भएकाले क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था हुन जोडदार माग गर्दछौँ,’ एसोसिएसनको पत्रमा भनिएको छ ।

एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोल व्यवसायीलाई ठगेको बताए । यस्तो अवस्थामा आफूहरूले भविष्यमा काम गर्ने वातावरण नहुने प्रधानको भनाइ थियो । ‘८ गते हामीलाई बोलाएर संकटका लागि स्कट राख्न भनियो । हामीले पुरानो मूल्यमा किनेर तीन करोड लिटर राखेकै थियौँ,’ प्रधानले भने, ‘पछि गएर एकैपटक १० रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाइयो । ठूलो नोक्सान व्यहोर्नुपऱ्यो । राज्यप्रति विश्वास गर्ने वातावरण रहेन ।’

तर, उपभोक्ता अधिकारकर्मीले मुलुक नै संकटमा परेको वेला व्यवसायीले धम्कीपूर्ण पत्र लेखेर राज्य आफ्नो पडकमा रहेको देखाउन खोजेको अर्थ लगाएका छन् । पेट्रोल तथा डिजेलको मूल्य घट्ने क्रममा रहेको थाहा हुँदाहुँदै व्यवसायीले पेट्रोल सञ्चित गर्नै नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले दाबी गरे ।

‘मूल्य घट्ने भएपछि व्यवसायीहरूले पेट्रोल नै उठाउँदैनन् । १५ दिनअगाडि मात्रै दुई रुपैयाँ भाउ घट्ने भएपछि तेल बिक्री नगरेर आमउपभोक्तालाई सकसमा पारेका हुन्,’ महर्जनले भने, ‘यस्तो गर्नु कानुनतः अपराध हो । अहिले पनि बिक्री ठप्प भएका वेला कसरी ३० करोड नोक्सान हुन्छ ? यो अनावश्यक बखेडा झिक्ने काम हो ।’

यसअघि गत फागुन अन्तिम साता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्दो भएकाले नेपाली पेट्रोल व्यवसायीले चैत २, ३ र ४ गते तीन दिन पेट्रोलको कारोबार बन्द गरेर उपभोक्तालाई अप्ठ्यारोमा  पारेका थिए ।

त्यस्तै, पेट्रोलको मूल्य बढेका वेला व्यवसायीलाई नाफा हुने देखेर दुई–तीन दिन अघिदेखि नै भण्डारण मात्रै गरेर उपभोक्तालाई सास्ती दिने काम पेट्रोल व्यवसायीले गर्दै आएका उपभोक्ताकर्मी महर्जनको आरोप छ । ‘मूल्य बढेको वेला नाफामा जान्छन् । त्यति वेला बोल्दैनन् । अहिले घाटा भयो भन्नु बदमासी हो,’ महर्जनले भने, ‘राज्य हाम्रो मुठ्ठीमा छ । हामीले घुमाउन सक्छौँ भन्ने मानसिकताले अनावश्यक बखेडा निकाल्ने काम गरिएको छ । राज्य झुक्नुहुँदैन ।’ 

निगम भन्छ– व्यवसायमा रिस्क स्वाभाविक
नेपाल आयल निगमले व्यवसायमा कहिले नाफा कहिले घाटा स्वाभाविक भएको भन्दै रोइलो नगर्न व्यवसायीलाई आग्रह गरेको छ । निगम कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण निगमलाई मूल्य घटाउन नैतिक दबाब परेकाले घटाइएको बताउँदै व्यवसायीको घाटा भयो भन्दैमा घाटापूर्ति गर्न नसकिने बताए । ‘व्यवसायीले घाटा भयो भनेर हुँदैन । व्यवसायमा अलिकति रिस्क त हुन्छ नै,’ उनले भने, ‘मूल्य बढाउँदा व्यवसायीलाई फाइदा पनि हुँदो हो । त्यतिवेला निगम उनीहरूसँग माग्न जाँदैन ।’

निगमले बिक्री गरिसकेपछि त्यसपछिको नाफाघाटा व्यवसायीको नै भएकाले यसमा धेरै रोइलो नगर्न पौडेलले आग्रह गरे । ‘१० रुपैयाँ मूल्य घटाउँदा निगमलाई पनि ७ रुपैयाँ सोझै घाटा भयो,’ उनले भने, हामी त जाँदैनौँ आइओसीसँग माग्न । त्यस्तै व्यवसायीले पनि सहेर बस्ने हो ।’

यसअघि निगमको नियामक आपूर्ति मन्त्रालयले गत ८ गते व्यवसायीलाई बोलाएर संकटका लागि इन्धन मौज्दात राख्न भनेको थियो । त्यसपछि व्यवसायीले मौज्दात राख्न थालेका थिए । लकडाउनपछि पेट्रोलियमको बिक्री करिबकरिब ठप्प छ ।  त्यसपछि निगमले गत १९ चैतबाट पेट्रोल तथा डिजेलको साबिक मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । सोही कारण व्यवसायीले अहिले घाटा भएको बताएका हुन् ।