मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार २०:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कोराेनाविरुद्ध सरकारको कदममा साथ दिन राष्ट्रपतिको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार २०:१७:००

 राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदमलाई साथ दिन आह्वान गरेकी छिन् । राष्ट्रका नाममा शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले त्यस्तो आह्वान गरेकी हुन् । उनले भनेकी छिन्, ‘हामी कुनै भावनामा बगेर होइन, बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहमा हार्दिक आह्वान गर्दछु ।’ 

सरकारले लिएको नीति र पहलका कारण भाइरसको आन्तरिक संक्रमण नदेखिएको र विदेशबाट आएकाहरूको पनि उपचार भइरहेकाले फैलन नपाएको उल्लेख गर्दै राष्ट्रपतिले सबैलाई सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रणबाहिर नजाओस् भनेरै सरकारले पूरै देशमा लकडाउन गरेको भन्दै राष्ट्रपतिले यस्तो वेला सबैले परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन संयमित भएर घरबाहिर ननिस्कन र सामाजिक दूरी कायम गर्न पनि ध्यानाकर्षण गराएकी छिन् । दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवीहरू सबैभन्दा बढी प्रभावित भएको भन्दै राष्ट्रपतिले उनीहरूका लागि सरकारले विभिन्न राहत प्याकेजको घोषणा गरेकोमा खुसी व्यक्त गरेकी छिन् ।

साथै, उनले विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आ–आफ्नो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आह्वान गर्दै  सबैले यथास्थानमा रहेर कोरोनाविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्ने अपेक्षा पनि गरेकी छिन् ।

राष्ट्रपतिले विभिन्न देशमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि सबै मित्रराष्ट्रप्रति आभार प्रकट गरेकी छिन् । साथै, उपचारका लागि सहयोग पुऱ्याउने सबै संघसंस्था, उपचारको तयारीमा रहेको नेपाल सरकार,  प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबैलाई धन्यवाद दिएकी छिन् । उनले महामारीको वेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने डाक्टर, नर्स, समग्र स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको धैर्यताको उच्च सम्मान गरेकी छिन् ।