Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २१ शुक्रबार २०:१२:००
Read Time : > 1 मिनेट
अर्थ

हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगले दैनिक ३० करोड क्षति व्यहोर्दै

Read Time : > 1 मिनेट
सुदीप शिवाकोटी हेटौँडा
२०७६ चैत २१ शुक्रबार २०:१२:००

कोरोना भाइरस संक्रमणका कारण हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरू बन्द हुँदा दैनिक करिब ३० करोड क्षति भइरहेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार औद्योगिक क्षेत्रभित्रका उद्योगहरूले दैनिक मुनाफा गर्ने करिब ३० करोड रुपैयाँ क्षति व्यहाेरिरहेका छन् । औद्योगिक क्षेत्रभित्रका एक सय ११ मध्ये हाल दुईवटा उद्योग एक सिफ्ट मात्र चलिरहेका छन् ।

एक सय नौ उद्योग बन्द हुँदा ती उद्योगहरूले दैनिक मुनाफा गर्ने करिब ३० करोड नोक्सान व्यहोर्नुपरेको पोखरेलले बताए । औद्योगिक क्षेत्रभित्रका सबै उद्योग निरन्तर सञ्चालन हुँदा मासिक एक अर्ब राजश्व सरकारलाई बुझाउँदै आएको पनि उनले जानकारी दिए ।

सरकारलाई बुझाउने राजश्वलाई हेर्दा औसतमा एउटा उद्योगले मासिक तीन करोड ३० लाख रुपैयाँबराबरको कारोबार गर्ने उनको भनाइ छ । उनले लकडाउनको अवधि बढेमा वा कोरोनाको संक्रमण अझ बढी फैलिएमा केही उद्योग सधैँका लागि बन्द हुन सक्नेसमेत बताए । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउनुपर्ने र बजारमा मागअनुसार उत्पादित वस्तु लैजान नसक्ने अवस्थाका कारण साना लगानीका केही उद्योग बन्द हुन सक्ने उनको दाबी छ ।

उद्योगीको चिन्ता : बैंकको ब्याज र कर्मचारीको तलब
लकडाउनपछि उद्योग पूर्ण रूपमा बन्द हुँदा हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगीहरू चिन्तित छन् । बैंकमा बुझाउनुपर्ने मासिक किस्ता, ब्याज र कर्मचारीलाई दिने तलब कसरी व्यवस्था गर्ने भन्नेबारे चिन्तित भएको उद्योगीहरूले बताएका छन् । सरकारले विपतका कारण बन्द भएका उद्योगका लागि ब्याजमा सहुलियत र विशेष प्याकेज नल्याए आफूहरूको अवस्था नाजुक हुने उनीहरूको भनाइ छ ।

४५ सय मजदुर कामविहीन
लकडाउनपछि औद्योगिक क्षेत्रभित्रका मझौला तथा ठूला उद्योगमा कार्यरत चार हजार पाँच सय मजदुर कामविहीन भएका छन् । उद्योग बन्द हुँदा तलब पाउने–नपाउने अन्योल हुँदा मजदुर थप समस्यामा परेको संघले जनाएको छ । त्यसैले कामविहीन बनेका र समस्यामा परेका मजदुरका लागि सरकारले तत्काल केही व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरका लागि राहत बाँडिए पनि रकम अभाव हुँदा आवश्यक सामग्री खरिद गर्न नसकिएको निर्माणसम्बद्ध श्रमिक संघले जनाएको छ । दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका पर्सा, बारा, रौतहटलगायत तराईका अधिकांश मजदुर पैदलै घर फर्किरहेका छन् ।