१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७६ चैत २१ शुक्रबार १९:२८:००
Read Time : > 1 मिनेट
समाचार

प्रादेशिक अस्पताल जनकपुरमा कोरोनाको नमुना परीक्षण सुरु

Read Time : > 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७६ चैत २१ शुक्रबार १९:२८:००

प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ । शुक्रबाार बिहान प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको निरीक्षणपछि परीक्षण सुरु गरिएको छ । शुक्रबार दिनभरिमा ६ जना कोरोना शंकास्पद व्यक्तिको स्वाब परीक्षण गरिएको छ । 

तर, अहिलेसम्म उनीहरूको रिपाेर्ट आउन नसकेको प्रादेशिक अस्पताल जनकपुरका कोरोना ल्याबका निर्देशक रामविनय साहले जानकारी दिए । ‘शुक्रबार हामीले ६ जनाको स्वाब संकलन गरी जाँचको काम गरिरहेका छौँ,’ उनले भने, ‘तर अहिलेसम्म कसैको रिपाेर्ट आएको छैन ।’  

कोरोना संक्रमण र रोकथामलाई ध्यान दिँदै स्वास्थ्यकर्मीको हकमा २५ लाखको बिमा र चिकित्सकको हकमा तलबको १००५, प्राविधिकको हकमा ७५५ र अन्य कर्मचारी हकमा ५०५ भता बढाइएको मन्त्री साहले बताए । 

प्रादेशिक अस्पतालमा परीक्षण सुरु गरिएको प्रयोगशालामा दैनिक १० जनासम्मको नमुना परीक्षण गर्न सकिने प्रदेश २ जनस्वस्थ्य प्रयोगशालाका ल्याब टेकनिसियन निरीक्षक युगलकिशोर यादवले जानकारी दिए ।

दुई स्थानमा थप ल्याब सञ्चालन हुने
प्रादेशिक अस्पताल जनकपुरले कोरोना परीक्षण सुरु गरेसँगै प्रदेश सरकारले थप दुई स्थानमा कोरोना परीक्षणका लागि ल्याब सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र सप्तरी राजविराजको सगरमाथा अस्पतालमा पिसिआर मेसिन जडान गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ । साथै कोरोना महामारीको सम्भावित खतरालाई मध्यनजर गर्दै प्रदेशभर ५० वटा भेन्टिलेटरसहितको आइसियू तयार गर्नसमेत सामाजिक विकासमन्त्रीलाई निर्देशन दिएको छ । 

प्रादेशिक अस्पताल जनकपुरमा १०, वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा १० र अन्य ६ वटा जिल्लामा ५–५ वटा भेन्टिलेटर जडान गर्ने सरकारको तयारी छ ।

त्यसैगरी,  मुख्यमन्त्री लालबाबु राउतले आठवटै जिल्लामा १–१  एम्बुलेन्स र शववाहनको व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । ‘अहिलेको अवस्थामा प्रदेशमा कोरोनाको कहर सामान्य छ,’ मुख्यमन्त्री राउतले भने, ‘भविष्यमा यो महामारी बढ्ने सम्भावना रहेकोले थप स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रियासमेत गाडि बढाउन प्रदेश सरकारले लागेको छ ।’