मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ चैत २१ शुक्रबार १८:५४:००
Read Time : > 1 मिनेट
समाचार

बिरामी नफर्काउने प्रतिवद्धता जनाएको एक साता नबित्दै लुम्बिनी मेडिकल कलेजले फेरि फर्कायो

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १८:५४:००

गत शनिबार बगनासकाली गाउँपालिका २ पोखराथोकका एक बिरामीलाई लुम्बिनी मेडिकल कलेजले एम्बुलेन्सबाटै फर्काइदियो । त्यसपछी दवाबमा परेको कलेजले प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा माफी माग्यो र आइन्दा त्यसो नगर्ने प्रतिवद्धता जनायो । तर एक साता नबित्दै कलेजले बिहीबार अर्का एक बिरामीलाई फर्काएको छ ।

माथागडी गाँउपालिका ४ झडेवाका २० वर्षीय बिष्णु सारुलाई उचित उपचार एवम पारामर्श नदिइ घर फर्काइ दिएको हो । ‘ज्वरो आएकाले म बिहीबार साँझ मेडिकल कलेज गएको थिएँ,’ उनले भने, ‘मलाइ गाह्रो भएको छ भनेर डाक्टरलाइ भनेँ तर, बस्न मिल्दैन भनेपछि फर्किएँ ।’ 

शुक्रबार बिहान पुनः  ज्वरो आएपछि मेडकल कलेज आएका सारुले आफू लुम्बिनीको एक होटलमा काम गर्ने गरेको थाहा पाएपछि अस्पतालले आनाकानी गरेको बताए । उनीसँगै बुधबारबाट उनको बुवा ५२ वर्षीय चन्द्रबहादुर ज्वरोका कारण बिरामी परेका छन् । 

उच्च ज्वरो आएका कारण मेडिकल कलेजको आइसोलेसनमा उपचार गर्न ठिक ठानेर पठाएको माथागडी गाउँपालिकाका स्वास्थ्य संयोजक यामबहादुर चिदीले बताए । सुविधासम्पन्न भनिएको अस्पतालले बिरामीप्रती गरेको ब्यावहारले चिन्तित बनाएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । ‘हामीलाई झन् टेरेनन्, के नै पो गर्न सकिन्छ र ?’ थापाले भने, ‘फेरि उनीहरुको अनुरोधमा पालिकाले एम्बुलेन्सको ब्यवस्था गरेर पठाएका छौँ, त्यहाँ राम्रो ब्यावहार नभए बुटवल लैजाने भन्ने बिषयमा सल्लाह भएको छ ।’ 

तर मेडिकल कलेजका निर्देशक डा. राजु शाक्यले उनको अवस्था सामान्य रहेकोले घर पठाइएको जनाएका छन् । ‘अझैसम्म हामीसँग पिपिइ छैन, हामी आफैले बनाएका छौँ,’ उनले भने, ‘अहिले हामीले अवस्था हेरेर उपचार गरेकै त छौँ नी ।’

प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बिरामीको चाहनाले नै समस्या भएको बताएका छन् । ‘कलेजले भर्ना गर्नु नपर्ने नदेखेर नगरेको तर बिरामीले भर्ना हुन चाहेको देखिन्छ,’ सुवेदीले भने, ‘यहाँ ग्याप छ, बिरामीले बाहिर गएर अरु भन्ने गरेको हो की ? मेडिकल टिमले काम गरेको छ, यस्तो हुँदा उनहिरुलाई तनाव हुन्छ ।’

मानव अधिकारकर्मीले मेडिकल कलेजले बिरामी प्रती गरेको ब्यवहार खेदजनक भएको बताएका छन् । राष्ट्यि मानव अधिकार सरोकार केन्द्र पाल्पाका अध्यक्ष दिवाकर पाण्डेले  बिज्ञप्ती जारी गर्दै निजी अस्पताल कर्तब्यप्रती बिमुख भएकोमा ध्यानकेन्द्रित भएको जनाउदै कानुन बमोजिम कारवाहीको माग गरेका छन् ।

बिरामी फर्काइएका घटनाप्रती प्रदेश सांसद नारायण आचार्य, वीरबहादुर राना, डा.पुरनमान बज्रचार्य पटक पटक बैठकमा छन् तर उनीहरुले बैठक बस्ने बाहेक कुनै भूमिका गर्न सकेका छैनन् । समन्वय गर्ने भूमिकामा आफू नचुकेको र सचेतनाका कामहरु गरेको प्रदेश सांसद नारायण आचार्यले बताए । त्यस्तै डा. पुरनमान बज्रचार्यले केही बैठकमा मात्र आफू गएकाले धेरै थाहा नभएको बताए ।