१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ चैत २१ शुक्रबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार

शल्यक्रिया गर्न तयार पारिएको बिरामीले खोकेपछि नोवेलले गऱ्यो अन्यत्र रेफर

नोेवेल मेडिकल कलेजले कोरोना भनेको बिरामीको एपेन्डिक्सको शल्यक्रिया 

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १८:३१:००

गत बुधबार मोरङको पथरी शनिश्चरे–७ की नीरमाया घिमिरे (नाम परिवर्तन)लाई एक्कासि दाहिनेपट्टिको पेट दुखेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा भर्ना गरियो ।

नोवेल मेडिकल कलेज तथा अस्पतालका सञ्चालक सुनिल शर्माको छिमेकीसमेत रहेकी ७० वर्षीया उनको बुधबार राति नै ९ बजे शल्यक्रिया गर्ने तयारी भयो । सबै टेस्ट पूरा भएर बिल पनि काटियो । तर, शल्यक्रिया गर्ने अन्तिम तयारी हुँदै गर्दा वृद्धाले खोकिन् ।

शल्यक्रियाको सम्पूर्ण तयारी पूरा भए पनि वृद्धाले खोकेपछि चिकित्सकहरू एकाएक पन्छिए । 'कोरोना पनि रहेछ, यहाँ शल्यक्रिया हुँदैन' भनेका चिकित्सकहरूले बिहीबार बिहान भने शल्यक्रिया गर्ने चिकित्सक अभाव भएको भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिए ।

दुई दिनदेखि केही नखाएकी वृद्धालाई घरमै लगेर खानेकुरा खुवाएपछि बिहीबारै अपराह्न ३ बजे बिपी प्रतिष्ठान पुऱ्याइयो । उनको राति नै एपेन्डिक्सको शल्यक्रिया भयो । ‘राम्रो अस्पताल ठानेर नोवेल लगियो, तर त्यहाँका चिकित्सकले बिरामीले खोकेको भन्दै बिपी रेफर गरिदिए,’ वृद्धाका छोराले भने, ‘हामी त प्रतिनिधि पात्र मात्र हौँ । नोवेलले खोक्यो भने सामान्य बिरामीलाई पनि फर्काइदिँदो रहेछ ।’

‘खोकेकै भरमा एपेन्डिक्सको बिरामीलाई उपचार नगरी फर्काइयो,’ उनले भने, ‘त्यसमाथि कोरोना भनेर हामीलाई ठूलो मानसिक तनाव दियो । हिजो बेलुकीदेखि मात्र ढुक्क भयौँ ।’ चिनेकै मान्छेको अस्पताल भनेर जाँदा झन् धेरै तनाव भोग्नुपरेको भन्दै उनले बिरामी र बिरामीका आफन्तलाई अनावश्यक तनाव नदिन अस्पताल प्रशासनलाई आग्रहसमेत गरे ।

‘तीन दिनदेखि पेट दुखेको र एक दिनदेखि ज्वरो पनि आएको रहेछ,’ बिपी प्रतिष्ठानको शल्यक्रिया विभागका डा. निर्मल साहले भने, ‘एपेन्डिक्स भएको पाइएपछि बिहीबार राति नै शल्यक्रिया गरिएको हो ।’ उनका अनुसार बिरामीको अवस्था अहिले सामान्य छ ।