मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २१ शुक्रबार १८:०७:००
Read Time : > 1 मिनेट
समाचार

लकडाउनमा सरकारी गाडीमा घुम्नेलाई प्रशासनकाे स्पष्टीकरण

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १८:०७:००

लकडाउनको समयमा सरकारी गाडी दुरुपयोग गरेर घुमफिरमा गएका पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लेखनाथ पोखरेललगायत पाँचजनालाई जिल्ला प्रशासन कार्यालय रसुवाले स्पष्टीकरण मागेको छ । 

सरकारी गाडी लिएर जानुको कारण र यथार्थबारे एक साताभित्र स्पष्टीकरण दिन प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले निर्देशन दिएका हुन् । बिहीबार पोखरेललाई लिखित स्पष्टीकरण दिन पत्र पठाएको भण्डारीले बताए । ‘सरकारी गाडी लिएर किन गएको हो ?, यथार्थ के हो ? एक साताभित्र स्पष्टीकरण दिन भनेका छौँ,’ उनले भने, ‘उहाँहरूले जवाफ कस्तो पठाउनुहुन्छ, त्यसपछि के गर्ने भन्ने हुन्छ ।’

बुधबार कार्यालयका प्रमुखसहित पाँचजना कर्मचारी विनापास सरकारी गाडी लिएर जिल्लाको आमाछोदिङ्मो गाउँपालिका– ३ गत्लाङ पुगेका थिए । उनीहरू सदरमुकाम धुन्चेबाट स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए । गोल्जुङ र गत्लाङबीचमा स्थानीयले काठको मुडा राखेर बन्द गरेको बाटो खुलाएर उनीहरू पार्वतीकुण्ड पुगेर गत्लाङतर्फ फर्किएका थिए । 

लकडाउनको समयमा नियम उल्लंघन गरी आएको भन्दै गत्लाङका स्थानीयले गाडीसहित पाँचैजनालाई नियन्त्रणमा लिई प्रहरीको जम्मा लगाएका थिए । गत्लाङका रिसबहादुर तामाङले सवारीचालक रुघाखोकीले ग्रस्त रहेको र अन्य चारजनाले मदिरा पिएको अवस्थामा नियन्त्रणमा लिएको बताएका छन् । 

बुधबार साँझ थाम्बुचेतबाट प्रहरीको एक टोलीले गाडी नियन्त्रणमा लिई मानचेतस्थित नेपाली सेनाको ब्यारेकमा राखेको छ । सोही दिन कार्यालयका प्रमुखसहित पाँचजनालाई जलविद्युत् आयोजनाको गाडीमा साँझ नै सदरमुकाम धुन्चे ल्याई कार्यालयमा छोडिएको थियो । 

जिल्ला प्रशासन कार्यालयबाट डिजेल र पेट्रोल लिनका लागि भन्दै १२ र १३ चैतका लागि कार्यालयको बा.२झ ३८७९ नम्बरको गाडी सदरमुकाम धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएका थिए । त्यसपछि उनीहरू पासविनै गत्लाङ पुगेका हुन् ।

लकडाउनको समयमा वबनापास सरकारी गाडी लिएर घुमफिरमा निस्किएको भेटिएपछि नागरिकहरूले विरोध जनाएका छन् ।  पुनर्निर्माण प्रमुख पोखरेलले भने प्रशासनसँग अनुगमनका लागि गएको दाबी गरेको बताए ।