१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७६ चैत २१ शुक्रबार १६:३३:००
Read Time : < 1 मिनेट
अर्थ

लकडाउनको असर : कञ्चनपुरमा तरकारीभन्दा कुखुरा सस्तो

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७६ चैत २१ शुक्रबार १६:३३:००

कोराेना भाइरसको संक्रमण बढ्न नदिन लकडाउन गरेसँगै मासु बिक्री हुन छोडेको छ । जसका कारण कञ्चनपुरका कुखुरा उत्पादक किसान मारमा परेका छन् । 

अहिले कञ्चनपुरका बजारमा तरकारीभन्दा ब्राेइलर कुखुराको मासु सस्तो भएको छ । आलुको मूल्य प्रतिकिलो ५० रुपैयाँ भए पनि जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रतिकिलो २५ रुपैयाँ छ । मासुभन्दा आलुको मूल्य दोब्बर हुन पुगेको हो । 

लकडाउनअघि कुखुरा उत्पादक किसानले जिउँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय रुपैयाँमा बेच्दै आएका थिए । अहिले उत्पादन भएको कुखुरा खोरमै दुईदेखि चार किलोसम्मका भएपछि दाना नपाएकै कारण किसानले धमाधम घाटा खाएरै भए पनि २५ रुपैयाँ किलोका दरले बिक्री गरिरहेका छन् । कुखुरा फर्मका सञ्चालकले बजार नपाउँदा खोरमै होलसेल दर राखेर बिक्री गरिरहेको बताएका छन् ।

यसअघि कुखुरा उत्पादक किसानबाट मासु व्यवसायीले जिउँदो कुखुरा दुई सय रुपैयाँमा खदिर गरी तयारी मासु दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका थिए । कञ्चनपुरका झन्डै एक हजार कुखुरा उत्पादक किसान छन्  । 

महाकाली नगरपालिका– २ चाँदनी हिमान्सु पोल्ट्री फर्मका सञ्चालक भरत भट्टले खोरमा उत्पादन भएका कुखुरा बजार अभावका कारण सस्तोमा बिक्री गर्न बाध्य भएको बताए । 

‘पोल्ट्री फर्ममै होलसेल दरमा बिक्री गरिरहेका छौँ,’ ‘उनले भने, ‘भएकाे दाना सकियो, अब कुखुरा पाल्न सकिँदैन ।’ दाना नपाएपछि खान नपाई कुखुरा खोरमै मर्न दिनुभन्दा थोरै मूल्यमा नै भए पनि बिक्री गर्नु ठीक भएकाले बाध्य भएर यस्तो गरेको उनले बताए । 

उनले एक हजार कुखुरा सस्ताेमा बेचेको बताए ।