मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २१ शुक्रबार १५:३७:००
Read Time : > 2 मिनेट
प्रविधि

‘लकडाउन’ अवधिमा नेपालीको ‘मोविलिटी’ कति घट्यो, गुगलको तथ्याङ्क सार्वजनिक

Read Time : > 2 मिनेट
२०७६ चैत २१ शुक्रबार १५:३७:००

कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिएसँगै यसविरुद्ध सबै क्षेत्रले सहकार्य गरिरहेका छन् । विश्वकै ठूलो टेक कम्पनी गुगलले पनि विभिन्न किसिमले सहकार्य गरिरहेको छ ।  

कोरोना भाइरसबारे जब हामी कुनै सूचनाका लागि सर्च गर्छौं, गुगलले विश्व स्वास्थ्य संगठनको आधिकारिक जानकारी देखाउने गरेको छ । यसैगरी युट्युब एवं अन्यमा  विश्व स्वास्थ्य संगठनको निशुल्क विज्ञापन प्रकासित गरेर कोरोना भाइरसबाट विश्वभरका मानिसहरुलार्य कोरोना भाइरसबाट जोगिने उपायबारे जानकारी दिने गरेको छ । 

यसैक्रममा गुगलले कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट सिर्जित नयाँ परिस्थितिसँग सम्बन्धित जानकारी पनि दिन पनि थालेको छ । यसक्रममा उसले ‘लक डाउन’ को पालना कति भइरहेको छ, यसबारे पनि तथ्याङ्क दिनेछ । स्वास्थ्य अधिकारी एवं व्यवस्थापन क्षेत्रलाई मद्दत पुगोस् भन्ने उद्देश्यका साथ गुगलले यस्तो जानकारी सार्वजनिक गर्न थालेको हो । यसक्रममा उसले ‘लक डाउन’ को समय मानिसहरुले कुन ठाउँको भ्रमण गर्छन्, ती ठाउँको तथ्याङ्क ‘ट्रयाक’ गर्न पनि थालिसकेको छ ।  

नेपालको स्थिति 
सोही आधारमा उसले नेपालको तथ्याङ्क पनि सार्वजनिक गरेको छ, जुन निम्न बमोजिम छ :

मनोरञ्जन : गुगलको प्रतिवेदन अनुसार क्याफे, रेस्टुरेन्ट, किनमेल केन्द्र, संग्रहालय, पुस्तकालय र चलचित्र थिएटरमा जाने मानिसको संख्या २९ मार्चमा ७८ प्रतिशतले घटेको देखिएको छ ।

किराना र फार्मेसी : मार्च २९ मै खाद्य स्टोर, खाद्य भण्डार, तरकारी बजार, मेडिकल, फार्मेसी लगायतका स्थानमा जाने मानिसको संख्या ६९ प्रतिशतले घटेको छ ।

पार्क  : पार्कमा जाने मानिसको संख्या ५५ प्रतिशतले घटेको छ ।

स्टेसन : बस पार्क एवं यातायात स्टेसनमा जाने मानिसको संख्या ७४ प्रतिशतले घटेको छ ।

कार्यस्थल : कार्यस्थलमा जाने मानिसहरुको संख्या ७२ प्रतिशतले घटेको छ ।

वासस्थान : आफ्नो आवासीय क्षेत्रमा जाने मानिसहरुको संख्या भने २८ प्रतिशतले बढेको छ । यसको अर्थ घर जाने मानिसको संख्या हुनसक्छ ।

यद्यपी, नेपालमा धेरै जसो प्रयोगकर्ताहरुले आफ्नो गुगल अकाउन्टलाई व्यवस्थित रुपमा र निश्चित विवरण राखेर बनाएका हुँदैनन् । यही कारण डिजिटल रुपमा गुगलले बनाएको तथ्याङ्क पूर्णरुपमा मेल नखान पनि सक्छ । 

यसकारण तथ्याङ्क 
केही दिनअघि युरोपियन युनियनकी न्यायिक प्रमुख भेरा जोरोभाले गुगललाई महामारीका क्रममा वैज्ञानिकहरुलाई सहयोग गर्न अनुरोध गरेकी थिइन् । त्यस लगत्तै गुगलले ‘लक डाउन’ अवधिमा मानिसहरुको भ्रमण सम्बन्धी तथ्याङ सार्वजनिक गर्ने योजना थालेको हो । योजना अनुसार, गुगलले विभिन्न स्थानको भ्रमणमा रहेका मानिसहरुको तथ्यांकका आधारमा विवरण प्रकाशित गर्न थालिसकेको छ ।  

कम्पनीले ‘लक डाउन’ अवधिमा प्रत्येक २ या ३ दिनअघिको मानिसको भ्रमण तथ्याङ्कसँग तुलना गरेर नयाँ विवरण प्रकाशित गर्नेछ । यसक्रममा कुनै पनि व्यक्तिको व्यक्तिगत जानकारीमा कुनै हानी नगर्ने प्रतिवद्दता गुगलले गरेको छ । 

कम्पनीले गुगल म्याप र अन्य उपकरणहरुको सहयोगमा मानिसहरु पुगेको स्थानको विवरण संकलन गरेको हो । अर्थात् पार्क, पसल, स्टेसन, कार्यस्थल, वासस्थान जस्ता क्षेत्रमा कति मानिस आवतजावत गरिरहेका छन् त्यसको तथ्याङ्क संकलन तथा सार्वजनिक हुनेछन् ।   

गुगलले प्रकाशन गर्न सुरु गरेको प्रतिवेदनमा कुनै पार्कमा ३ दिनसम्म कति मानिसहरु गए वा आजको दिन कति मानिस गए भन्नेसम्मका तथ्याङ्क छन् ।  

आफूले सार्वजनिक गर्ने उपरोक्त तथ्याङ्कहरु ‘लक डाउन’ का लागि प्रभावकारी देखिए आवश्यक समयसम्म प्रकाशन गर्न आफू तयार रहेको जानकारी गुगलले गराएको छ ।  कुनै प्रयोगकर्ताले आफ्नो भ्रमण विवरण लुकाउन चाहे भने ‘गुगल क्रोम’ मा ‘म्यानेज लोकेसन हिस्ट्री’ मा गएर आफ्ना डाटा सेयर नगर्ने छुट पनि गुगलले दिएको छ । 

गुगलले पहिलो ‘कम्युनिटी मोविलिटी रिपोर्ट’ मा नेपालसहित विश्वका १ सय ३३ मुलुकको तथ्याङ्क प्रकाशित गरेको हो । यो प्रतिवेदनमा यसैवर्षको सुरु अर्थात् जनवरी ३ देखि फेब्रुअरी ६ सम्ममा विभिन्न स्थानमा पुग्ने मानिसको संख्या २९ फेब्रुअरीमा कतिले घटेको छ भन्ने देखाइएको छ ।  

तथ्याङ्क २९ फेब्रुअरीसम्मको भएपनि पूरा प्रतिवेदन तयार पार्न लामो समय लागेका कारण हिजो (बिहीबार, २० चैत्र) मा मात्रै विवरण प्रकाशित गरेको छ ।