मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १४:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

स्वास्थ्य सामग्री खरिद अनियमिततामा छिटाे अनुसन्धान र कारबाही हुनुपर्छ : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार १४:२७:००

कांग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद अनियमितताको अनुसन्धान र कारबाहीमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै देउवाले अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात  पुऱ्याएको बताए । 

स्वास्थ्य सामग्री खरिद प्रकरणको निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्न खोजिएको, ढाकछोप गर्ने प्रयत्न भइरहेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।

देउवाले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, 'कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन यतिवेला हामी सरकारको साथमा छौँ र हरसम्भव सघाइरहेका छौँ । युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाएका छौँ, तर उत्तिकै धैर्य, पारदर्शिता एवं विधि–प्रक्रियाको पालना गर्न सचेत गराएका छौँ । तर, अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात  पुऱ्याउने कार्य गरेको छ ।'

अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतको कमसल सामग्री खरिदजस्ता अत्यन्तै आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नभएको उनले उल्लेख गरेका छन् । देउवाले ढिलासुस्ती र अनियमिततामा सामेलहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी ओलीलाई आग्रहसमेत गरेका छन् । 

लकडाउनका कारण एक ढंगले बन्द समाजको स्थिति बनेका वेला भ्रष्टाचारका प्रकरणले सहजता पाउन सक्ने वातावरणलाई दृष्टिगत गर्दै सम्बन्धित संवैधानिक निकायले विशेष चनाखो भई कार्य गर्न आवश्यक रहेको देउवाको भनाइ छ । 

देउवाले अपारदर्शी ढंगले स्वास्थ्य सामग्री खरिद भएको समाचार सार्वजनिक भएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणको गहिरो अनुसन्धान गर्न र कारबाहीको प्रक्रिया अघि बढाउन जरुरी रहेको पनि बताएका छन् ।