मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:५१:००
Read Time : > 2 मिनेट
सप्तरंग

क्वारेन्टाइनमा दर्शक : फुर्सदमा हेर्नैपर्ने ७ नेपाली सिनेमा

Read Time : > 2 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:५१:००

कोभिड–१९ का कारण अहिले दर्शकहरू फुर्सदमा छन् । सामाजिक सञ्जालमा पुस्तक पढिरहेको, फिल्म हेरिरहेकोलगायत तस्बिर र स्टाटसहरू पोस्ट गरिरहन्छन् । फिल्म हेर्नेहरूले विदेशी मात्र हेरिरहेजस्तो लाग्छ । किनकि, सामाजिक सञ्जालका वालमा विदेशी फिल्म नै सिफारिस गरिएको पाइन्छ । नेपाली फिल्मको चर्चा खासै सुनिँदैन । तर, ०४० र ०५० को दशकमा केही राम्रा नेपाली चलचित्र बनेका थिए । यहाँ केही प्रतिनिधि फिल्म छन्, जसले फुर्सदको समयमा नेपाली फिल्मको स्वाद फरख गराउन सक्छन् :

बलिदान

०५० को दशकका नेपाली फिल्मको समीक्षा हुँदै गर्दा निर्देशक तुलसी घिमिरे छुट्दैनन् । दर्जनौँ हिट फिल्म दिएका घिमिरेको ‘बलिदान’ समीक्षात्मक हिसाबले बलियो फिल्ममध्ये एक हो । साथै, बक्स अफिसमा पनि सफल फिल्म हो । देशभक्ति र पञ्चायतकालीन समयमा प्रजातन्त्र पुनस्र्थापनाको संघर्षकथा यस फिल्ममा चित्रित छ । नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शान्ति मास्केलगायतको बेजोड अभिनयले पनि उत्तिकै तान्छ ।

मुखुण्डो

छिरिङ रितार शेर्पाको पहिलो फिल्म हो, मुखुण्डो । नेपालबाट पहिलोपटक ओस्करमा विदेशी भाषामा प्रतिस्पर्धा गर्न गएको यो फिल्मले ०५० को दशकको नेपाली समाज, छोराको मोह र अन्धविश्वासलाई मिहिन ढंगले केलाएको छ । मिथिला शर्मा र गौरी मल्लको जबर्जस्त अभिनय हेर्न पनि यो फिल्म हेर्नैपर्छ । पछिल्लो समय ‘सेतो सूर्य’, ‘कालो पोथी’जस्ता फिल्ममा निर्माताका रूपमा काम गरेका छिरिङ रितार शेर्पा आफ्नो पहिलो फिल्मबाटै नेपाली सिने उद्योगमा स्थापित भएका थिए ।

वासुदेव

नेपाली आख्यानमा सुपरिचित ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक’माथि बनेको ‘वासुदेव’ पारिवारिक कथानक चलचित्र हो । ०५० को दशकमा बन्ने गरेका नेपाली चलचित्रको कथ्य परम्पराबाट यो फिल्म विमुख नरहे पनि नीर शाहले पात्रहरूलाई बलियो गरी उठाएका छन् । डेब्यु फिल्मबाटै सफलताको स्वाद चाखेका शाहको ‘वासुदेव’ ०५० को दशकको प्रतिनिधि नेपाली फिल्ममै पर्छ ।

नुमाफुङ

नवीन सुब्बा निर्देशित ‘नुमाफुङ’ अन्तर्राष्ट्रियस्तरमा जाने पहिलो नेपाली फिल्म हो । विभिन्न विदेशी फिल्म फेस्टिभलमा अवार्ड जितेको यो फिल्मलाई समीक्षकहरू खास नेपाली फिल्म भन्छन् । बलिउडको धङधङीमा बाँचिरहेको नेपाली सिने उद्योगमा मौलिक कथा लिएर ‘नुमाफुङ’ आएको थियो । नेपाली मौलिक कथा र नेपाली कथावाचन शैलीलाई बुझ्न यो प्रतिनिधि फिल्म हो ।

दर्पण छाया

तुलसी घिमिरेकै ‘दर्पण छाया’ ०५० को दशकको प्रतिनिधि रोमान्टिक चलचित्र हो । दिलीप रायमाझी, निरुता सिंह र उत्तम प्रधानले प्रमुख भूमिकामा अभिनय गरेको यो फिल्ममा उत्तम प्रधान दृष्टिविहीनको चरित्रमा छन् । अन्तिममा बिछोड र पीडामा गएर समप्त हुने यो फिल्म प्रदर्शन भएपछि यति सफल भयो कि त्यो समयमा फिल्म नहेरेको मान्छेलाई पनि फिल्मको कहानी कण्ठ थियो ।

तुलसी घिमिरेकै अर्को फिल्म ‘देउता’ पनि दर्शकलाई मन पर्न सक्छ । राजेश हमालको अन्य फिल्मभन्दा उत्कृष्ट अभिनय रहेको यो सिनेमा पनि त्रिकोणात्मक प्रेमकथामा आधारित छ । सिर्जना बस्नेतको डेब्यु यो फिल्ममा श्रवण घिमिरे पनि मुख्य भूमिकामा छन् । अहिलेको पुस्ताले राजेश हमालको उत्कृष्ट अभिनय हेर्न चाहे यो फिल्म उपयोगी हुन सक्छ ।

कुसुमे रुमाल

त्रिकोणात्मक प्रेमकथामा बनेको यो फिल्मबाट गायक उदित नारायणले डेब्यु गरेका थिए । रजत जयन्ती मनाउन सफल यो फिल्ममा उदित, तृप्ति नाडकर र भुवन केसीको मुख्य भूमिका छ । तुलसी घिमिरे निर्देशित रोमान्टिक फिल्म कुसुमे रुमालले त्यो समयमा युवापुस्तामाझ ठूलो चर्चा पाएको थियो ।

प्रेमपिण्ड

‘गैरी खेतको शिरै हान्यो, वर्षायामको दरौँदीले’ गीत अहिले पनि स्कुले किशोरीका लागि नृत्य गर्ने सबैभन्दा सजिलो र सुन्दर गीत हो । यो गीत २६ वर्षअघि प्रदर्शन भएको फिल्म ‘प्रेमपिण्ड’को हो । यादव खरेल निर्देशित यो ऐतिहासिक फिल्म स्वर्गीय बालकृष्ण समको नाटकमा आधारित छ । शासकको दम्भ, सान र अहंकारबीच फुलेको सुन्दर, तर वियोगान्त कथा प्रेमपिण्डले बताउँछ ।