१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:२६:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

के स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण हो ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ चैत २१ शुक्रबार १०:२६:००

बेलायतका अन्वेषकहरूले खानेकुराको स्वाद थाहा नपाउनु र कुनै चिजमा गन्धको कमी महसुस हुनु पनि कोरोना भाइरस (कोभिड–१९)को लक्षण हुन सक्ने दाबी गरेका छन् । लन्डनस्थित किंग्स कलेजको टोलीले कोरोनाका शंकास्पद लक्षण भएका करिब एक लाख मानिसको अध्ययन गरी यस्तो निष्कर्ष निकालेका हुन् । उनीहरूको रिपोर्टमा भनिएको छ, सामान्य चिसोबाहेक पनि सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध थाहा नपाउनु आदि कोरोनाका लक्षण हुन सक्छन् । 

विज्ञहरू भन्छन्- ज्वरो र खोकी अझै पनि भाइरसको सम्भावित महत्वपूर्ण लक्षण छन्, जसलाई बेवास्ता गर्न मिल्दैन । यदि तपाईं र वरपर बस्ने कुनै पनि व्यक्तिलाई उच्च ज्वरो र खोकीको समस्या छ भने उनीहरू घरमै बस्नुपर्छ ताकि अरूलाई भाइरस संक्रमण नहोस्।

  • लन्डनस्थित किङ्स कलेजको टोलीले तयार पारेको रिपोेर्टमा भनिएको छ, सामान्य चिसोबाहेक सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध थाहा नपाउनु पनि कोरोनाका लक्षण हुन सक्छन् ।
  • प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर भन्छन् ‘अरू लक्षणसँग दाँजेर हेर्दा स्वाद र गन्ध थाहा नपाउने व्यक्तिमा कोभिड–१९ को संक्रमण भएकोे सम्भावना तीन गुणा बढी भएको हाम्रो तथ्यांकले देखाएको छ ।’
  • स्वाद र गन्ध थाहा नपाउनु कोभिड १९ को प्रमुख लक्षण हो भन्ने विश्वास गर्न पर्याप्त प्रमाण नभएको तर्क विज्ञहरूको छ । डब्लुएचओ र पब्लिक हेल्थ इंग्ल्यान्डले पनि यसलाई प्रमुख लक्षणहरूको सूचीमा अझै समावेश गरेको छैन ।

के देखायो अध्ययनले ?

किंग्स कलेजका अन्वेषकहरूका अनुसार उनीहरू कोरोनाका सम्भावित त्यस्ता लक्षणबारेका तथ्य जम्मा गर्न चाहिरहेका छन्, जसबाट विशेषज्ञहरूले थप बुझ्न र पत्ता लगाउन सकुन् । कोभिड सिम्टम्स ट्रायकर एपका अनुसार सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए ।

  •  ५३ प्रतिशतले आफू थकित भएको बताए ।
  •  २९ प्रतिशतले लगातार खोकी लागेको जनाए ।
  •  २८ प्रतिशतले सास फेर्न गाह्रो भएको उल्लेख गरे । 
  •  १८ प्रतिशतले कुनै स्वाद र गन्ध थाहा नपाएको बताए 
  •  १०.५ प्रतिशतले ज्वरो आएको जानकारी दिए ।

यी चार लाखमध्ये एक हजार ७०२ जना मानिसमा कोभिड १९ को परीक्षण भयो, जसमध्ये ५७९मा सकारात्मक र एक हजार १२३ मा नकारात्मक पाइयो । जसमा कोरोना भाइरसको परीक्षण नतिजा पोजेटिभ थियो, तीमध्ये ५९ प्रतिशतले गन्ध र स्वाद थाहा पाउन असमर्थता देखाए ।

के यसलाई प्रमुख लक्षण मान्न सकिन्छ ?

 -स्वाद र गन्ध थाहा नपाउनु कोभिड–१९ को प्रमुख लक्षण हो भनेर विश्वास गर्न पर्याप्त प्रमाण नभएको तर्क विज्ञहरूको छ । यसलाई डब्लुएचओ र पब्लिक हेल्थ इंग्ल्यान्डले प्रमुख लक्षणहरूको सूचीमा अझै समावेश गरेको छैन ।

 - स्वाद र गन्ध थाहा नपाउनुलाई कोभिड–१९ कै लक्षणमा मात्र सीमित गर्न नपर्ने इएनटी युके (बेलायतका आँखा, नाक, घाँटी विशेषज्ञ डाक्टरहरूको प्रतिनिधि समूह)को विश्वास छ । यदि कोरोना संक्रमित व्यक्तिहरूले गन्ध र स्वाद गुमाएको गुनासो गरिरहेका छन् भने त्यो पनि आश्चर्यजनक नहुने उनीहरूको तर्क छ । 

-यद्यपि, विज्ञहरूले स्वाद वा गन्ध थाहा नपाउनुलाई थप लक्षणका रूपमा ध्यान दिनु उपयुक्त हुन सक्नेतर्फ भने संकेत गरेका छन् । तर, योभन्दा महŒवपूर्ण लक्षण ज्वरो र रुघाखोकीलाई बढी प्राथमिकता दिन उनीहरूले सुझाएका छन् ।

-अरू लक्षणसँग दाँजेर हेर्दा स्वाद वा गन्ध थाहा नपाउने व्यक्तिमा कोभिड–१९ को संक्रमण भएकोे सम्भावना तीन गुणा बढी भएको हाम्रो तथ्यांकले देखाएको छ ।’ प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर भन्छन्, ‘त्यही भएर यस्ता व्यक्तिले अरूलाई संक्रमण फैलने जोखिम कम गर्न आफूलाई सात दिन एक्ल्याएर राख्नुपर्छ ।’