१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ चैत २१ शुक्रबार १०:१९:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो 

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १०:१९:००

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी पुगेको छ । जोेन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० लाख २० हजार मानिस कोभिड– १९ बाट संक्रमित भएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ हजार माथि पुगेको छ । 

स्पेनमा बिहीबार भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ९६ पुगेको छ । त्यहाँ २४ घण्टाभित्र १ हजार मानिसको मृत्यु भएको थियो, जुन भाइरसको संक्रमण फैलिएपछि मृत्यु हुनेको सबैभन्दा उच्चतम संख्या हो । त्यहाँ १ लाख १० हजार २ सय ३८ जना संक्रमित भएका छन् । 

इटालीमा भाइरस संक्रमणबाट सबैभन्दा धेरै मृत्यु भएको छ । त्यहाँ १३ हजार ९ सयको मृत्यु भएको छ भने १ लाख १५ हजार संक्रमित छन् । 

गत एक सातामै भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बरले बढेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । त्यहाँ संक्रमितको संख्या २ लाख ३६ हजार पुगेको छ, ५ हजार ६ सयको मृत्यु भएको छ । 

क्यानडाको पब्लिक हेल्थ एजेन्सीका अनुसार भाइरस संक्रमितको संख्या १० हजार १ सय ३२ पुगेको छ र १ सय २७ जनाको मृत्यु भएको छ । 

बेलायतमा हालसम्म २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । अप्रिल २ सम्म १ लाख ६३ हजार १ सय ६४ को स्वास्थ्य परीक्षण गर्दा ३३ हजार ७ सय १८ जनामा भाइरसको सकारात्मक परीक्षण गरिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

जापानले शुक्रबार यात्रा प्रतिबन्ध थप गरेको छ । यसमा बेलायत, अमेरिका र दक्षिण कोरियाबाट जापान यात्रा गर्न प्रतिबन्ध लगाएको हो । योसँगै ७० देशबाट जापान प्रवेश गर्न पाउने छैनन । 

जापानमा २ हजार ४ सय ९५ संक्रमित भएको पुष्टि भएको छ भने ६२ जनाको मृत्यु भएको छ । चीनमा बिहीबार २९ जना संक्रमित भेटिएका छन् । यसमा दुई जना स्थानीय व्यक्ति थिए भने अन्य बाहिरबाट आएका थिए । वुहानमा ४ जनाको मृत्यु भएको छ । 

चीनमा हालसम्म ८१ हजार ६ सय २० जना संक्रमित भएका छन्, जसमा ७६ हजार ५ सय पूर्णरुपमा निको भइसकेका छन् ।