१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ चैत २१ शुक्रबार ०९:००:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

काेराेना कहर : देश भित्रन नपाएपछि दशगजामै बास

भारतीय सुरक्षाकर्मीले दुःख दिएको भन्दै भारतीय क्वारेन्टाइनमा बस्न अस्वीकार

Read Time : > 1 मिनेट
२०७६ चैत २१ शुक्रबार ०९:००:००

मातृभूमिमा प्रवेश गर्न पाउनुपर्ने भन्दै भारतबाट फर्किँदै गरेका नेपालीले नेपालगन्ज सीमा नाकामा सरकारविरुद्ध नाराबाजी गरेका छन् । भारतीय प्रहरीले दुःख दिएको भन्दै उनीहरूले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन् । बिहीबार रातिसम्म उनीहरू दशगजा क्षेत्रमा बसेर नाराबाजी गरिरहेका छन् ।

अनेक दुःखकष्ट सहेर बल्लबल्ल सीमा क्षेत्रमा आइपुगेको भन्दै उनीहरूले नेपालभित्रै क्वारेन्टाइनमा बस्न पाउनुपर्ने माग गरेका छन् । भारतीय सीमावर्ती बजार रुपैडिया आएका नेपालीलाई नेपाल र भारतका सुरक्षाकर्मीले भारतीय क्वारेन्टाइनमा लैजान थालेपछि उनीहरू दशगजामा बसेका हुन् ।

एउटा त्रिपालमा चारजनाका दरले एक सय ८१ जनालाई जमुनहानजिक निर्माणाधीन एकीकृत चेक पोस्ट (आइसिपी)को मैदानमा राखिएको छ । ‘भारतीय प्रहरीको लाठी, बुट र गाली खाएर सीमासम्म आइपुग्यौँ, अब भारतीय क्वारेन्टाइनमा जाँदैनौँ,’ सिँजा गाउँपालिका–५ गोरा जुम्लाका दीपक कामीले भने । 

भारतीय क्वारेन्टाइनमा जाँदै नजाने अडान लिएपछि सुरक्षाकर्मीको केही सीप चलेन । भारतबाट फर्किँदै गरेका नेपालीलाई मनाउन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीप्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, सशस्त्र प्रहरी बल, ३० नं. गण हेडक्वार्टर बागेश्वरी गणका गणपति दीपक अधिकारी, नेपाली सेना इमामनगर ब्यारेकका गणपति नहकुल थापालगायत सुरक्षाकर्मीको आग्रहलाई समेत उनीहरूले बेवास्ता गरे । 

दशगजामा मर्न तयार छौँ, तर भारतीय क्वारेन्टाइन जाँदैनौँ

उनीहरूले तीन करोड नेपाली असुरक्षित हुने गरी आफूहरू घर नजाने प्रतिबद्धता जनाउँदै नेपाल सरकारले राख्ने क्वारेन्टाइनमा अनुशासित भएर बस्ने बताएका छन् । ‘हामी जनावर होइनौँ, जसलाई जता मन लाग्यो उतै लैजाने,’ मधुवन नगरपालिका–४ ढोढरीका दीपक बुढाले भने, बरु हामीलाई खान नदिनुस्, तर हामीलाई आफ्नै देशमा बस्न दिनुस् ।’

रोल्पा लिवाङका खिमबहादुर रानाले पनि भारतको क्वारेन्टाइनमा असुरक्षित महसुस गरी जान नमानेको बताए । उनले भारतीय प्रहरीले अनेकौँ दुःख दिएको भन्दै आफ्नै भूमिमा पनि सुरक्षित महसुस गर्न नसकेको बताए । ‘मरे पनि आफ्नै देशमा मर्छौँ, बाँचे पनि आफ्नै देशको भूमिमा बाँचौँला भन्ने लागेर दशगजा छोड्न मानेनौँ,’ उनले भने । 

क्वारेन्टाइनमा न शौचालय न बिजुली र खानेपानी

भारतबाट आएका नेपालीलाई राखिएको ठाउँमा बिजुली बत्ती, खानेपानी, शौचालय केही पनि छैन । अस्थायी शौचालयमा पिसाब गर्न मिल्ने मात्र व्यवस्था छ । ‘शौचका लागि न शौचालय छ न पानी छ,’ सुनील स्मृति गाउँपालिका– ५ रोल्पाका रमेश थापाले भने ।  

बिजुली बत्ती नहुँदा अधिकांशका मोबाइल स्विच अफ भइसकेका छन् । मोबाइल स्विच अफ भएपछि घर परिवारसँग सम्पर्क हुन नसकेको सिँजा गाउँपालिका–५ गोरा, जुम्लाका दानबहादुर शाहीले बताए । ‘अधिकांश साथीभाइको मोबाइल स्विच अफ भएकाले घरपरिवारसँग सम्पर्कविच्छेद भएको छ,’ उनले भने, ‘घरपरिवारसँग सम्पर्क हुन नसक्दा तनाब भएको छ ।’

आवश्यक प्रबन्ध गर्छौँ : प्रजिअ खड्का

भारतबाट आएका नेपालीले भारतीय क्वारेन्टाइनमा जान नमानेपछि क्वारेन्टाइनका लागि दशगजामा निर्माणाधीन आइसिपीको मैदानमा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । दुवै देशका सुरक्षाकर्मीले गरेको आग्रहलाई नेपालीले नमानेको बताउँदै उनले बाध्य भएर दशगजास्थित आइसिपीको मैदानमा राखेको बताए । 

उनले अस्थायी रूपमा क्वारेन्टाइन निर्माण गरेर राखिएको स्पष्ट पार्दै शौचालय र पिउने पानीको व्यवस्था मिलाइने बताए । अस्थायी क्वारेन्टाइनमा एउटा त्रिपालमा चारजनाका दरले एक सय ८१ जनालाई राखिएको उनले बताए । ‘क्वारेन्टाइनमा बस्न अस्थायी शौचालय, मोबाइल चार्ज गर्ने र पिउने पानीको व्यवस्था मिलाउँछौँ,’ प्रजिअ खड्काले भने ।