Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार ०८:४२:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कोरोना नियन्त्रणमा खटिने सेना–प्रहरीलाई शतप्रतिशत भत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २१ शुक्रबार ०८:४२:००

कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीसरह नै सुरक्षाकर्मीले पनि प्रोत्साहनभत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर सरकारले दैनिक तीन सय रुपैयाँ खाजा खर्चदेखि शतप्रतिशतसम्म भत्ता दिने निर्णय गरेको छ । १६ चैतको मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई भत्ता दिने निर्णय गरेको हो ।  

पिपिई लगाएर खटिनेलाई शतप्रतिशत भत्ता

पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पिपिई) लगाएर फिल्डमा खटिने सुरक्षाकर्मीले तलबबराबर नै भत्ता पाउनेछन् । पेसेन्ट रिसिभिङ टिम (पिआरटी)मा पिपिई लगाएर खटिने सुरक्षाकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा केन्द्रमा यस्तो टिम रहेकामा जिल्ला–जिल्लामा यस्तो टिम गठन गरिएको छ । 

त्यस्तै, पिपिई नलगाई पिआरटी टिममा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । पिआरटीमा ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजाखर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्युटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ । 

सरकारले निर्णय बिहीबार तीनै सुरक्षा निकायमा पठाएको छ । सुरक्षा निकायले पनि देशभरिका कार्यालयमा सर्कुलर गरेको छ । सरकारले भत्ता दिने निर्णय प्राप्त भएको र त्यसको जानकारी सबै प्रहरी कार्यालयलाई गराइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । यसबाट फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीको मनोबल बढ्ने उनले बताए । लकडाउनको कार्यान्वयनदेखि शंकास्पद बिरामीलाई अस्पताल लैजाने काममा प्रहरी खटिएका छन् । त्यस्तै, सशस्त्र प्रहरी पनि लकडाउन कार्यान्वयन र सीमा क्षेत्रमा अनुगमनमा खटिएको छ । नेपाली सेनालाई क्वारेन्टाइन व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको छ । कतिपय जिल्लामा सिडिओको मातहतमा सेना पनि सुरक्षामा खटिएका छन् । 

६ प्रदेश निमित्त प्रमुखको भरमा
लकडाउन कार्यान्वयनदेखि शंकास्पद व्यक्ति खोज्ने कामसमेत प्रहरीका जिम्मामा छन् । तर, प्रहरीका महत्वपूर्ण कार्यालयहरू भने करिब दुई महिनादेखि निमित्तको भरमा चलेका छन् । 

सात प्रदेश प्रहरी कार्यालयमध्ये ६ कार्यालय निमित्तका भरमा चलेका छन् । प्रदेश नम्बर २ बाहेक अन्यत्र एसएसपीले निमित्त प्रमुख भएर काम गरेका छन् । प्रहरी प्रधान कार्यालयमा पनि एकजना मात्र डिआइजी छन् । 

नेपाल प्रहरीमा प्रशासनतर्फ डिआइजीका २६ पद छन् । त्यसमध्ये २२ पद रिक्त छन् । समयमा बढुवा हुन नसक्दा अहिलेको संकटको अवस्थामा प्रहरीलाई काम गर्न समस्या भएको छ । निमित्तको भरमा महत्वपूर्ण कार्यालयहरू चल्दा यसबाट शान्तिसुरक्षाको काम प्रभावकारी हुन सकेको छैन । 

तस्विर: रासस