मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जोसुआ सर्फस्टेन/मेलिसा मार्क्स
२०७६ चैत २१ शुक्रबार ०८:२४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

कोरोना भाइरस विस्तार रोक्न परीक्षण मात्र पर्याप्त हुँदैन

Read Time : > 3 मिनेट
जोसुआ सर्फस्टेन/मेलिसा मार्क्स
२०७६ चैत २१ शुक्रबार ०८:२४:००

अमेरिका अहिले कोरोना भाइरस प्रकोपको नयाँ इपिसेन्टमा रुपान्तरित भएको छ । उसले रोगविरुद्ध लड्नका लागि कोरोना भाइरसबाट संक्रमितको परीक्षणमा उलेख्य वृद्धि गराएको छ । यो सकारात्मक कुरा हो । तर, संक्रमितको पहिचान भएपछि जुन स्तरमा तिनलाई आइसोलेट गर्ने र तिनको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राख्ने कार्य गरिनुपथ्र्यो, त्यो भएको छैन । तथापि यी दुई कदम कोभिड–१९को विस्तार नियन्त्रणमा अत्यावश्यक हुन्छ । 

अमेरिकामा अहिले परीक्षण र सम्पूर्ण स्वास्थ्य सेवा व्यक्ति–व्यक्तिमाथि केन्द्रित देखिन्छ । तर, यो संकटमा परीक्षणको मुख्य उद्देश्य स्वचेतना होइन, रोग नियन्त्रण हो । भाइरसलाई एउटा व्यक्तिबाट अर्को व्यक्तिमा प्रसार हुन रोक्नबाट केही प्रमुख निरोधात्मक कार्य अवलम्बन गरिनुपर्छ । 

कोरोना भाइरस नियन्त्रणमा दक्षिण कोरियाले जुन सफलता हासिल गर्‍यो, त्यसमा परीक्षण मात्र जिम्मेवार छैन । त्यहाँ परीक्षणपछि जति अन्य कदम उठाइए, ती पनि उत्तिकै महत्वपूर्ण साबित भए । कोरियामा नयाँ व्यक्तिमा कोरोना भाइरस देखिँदा स्वास्थ्यकर्मीले ती व्यक्तिको सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिको खोजी गर्छन् । यहाँसम्म कि तिनले खाजा खाएका स्थानमा गएका मानिसको समेत खोजी हुन्छ ।

भाइरस नियन्त्रणमा सफल रहेको अर्को देश ताइवानले तिनको नागरिकका लागि टोलफ्री नम्बर जारी ग¥यो, जुन परीक्षण, आइसोलेसन र आवश्यक पर्दा क्वारेन्टाइनको समयमा सहयोग प्रदान गर्न प्रयोग गरिन्थ्यो । आवश्यक स्वास्थ्य जाँच, खाना वितरण तथा अन्य स्रोतको व्यवस्था सोही नम्बरबाट हुन्थ्यो । कोरोना भाइरसको विस्तार रोक्ने हो भने अमेरिकामा पनि यी अभ्यास लागू गरिनुपर्छ । अर्थात् भाइरसको परीक्षणपछि तिनलाई फैलिन नदिन आवश्यक अन्य कदम उठाइनुपर्छ । 

महामारीको प्रकोपमा पर्न सक्ने जोखिममा रहेका समुदायले सीमित परीक्षण सामग्रीलाई अति आवश्यक समूहको सहयोगमा पु¥याउनुपर्छ । न्युयोर्क सिटीले अहिले यही रणनीति अपनाइरहेको छ । त्यहाँ थोरै परिणाममा रहेको परीक्षणका सामग्री अत्यावश्यक बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र उपायेग गरिँदै छ । अस्पतालमा भर्ना भएका बिरामीमा भाइरस पोजेटिभ देखिए तिनलाई एक्ल्याइन्छ र त्यस क्रममा विशेष सावधानी अपनाइन्छ । स्वास्थ्यकर्मी र अन्य अत्यावश्यक कर्मचारीलाई भाइरस पोजेटिभ देखिएमा तिनलाई उपचारको जिम्मेवारीबाट हटाइन्छ । तीबाट अन्य बिरामीमा भाइरस नसरोस् भन्नका लागि यस्तो कदम उठाइएको हुन्छ । 

कोरोना भाइरस संक्रमणको विस्तार रोक्न अमेरिकाले परीक्षणकेन्द्रित रणनीति अपनाइरहेको छ, त्यसपछि अपनाउनुपर्ने कदम नसमेटिए यो रणनीति प्रभावकारी हुनेछैन 

कोभिड–१९ ले धेरै प्रभावित नबनाएका स्थानमा परीक्षण कार्य गम्भीर रूपमा अस्वस्थ्य र मृत्युको जोखिममा भएका समूहका लागि उपभोग गरिनुपर्छ । नर्सिङ होमजस्ता स्थानमा एकजना संक्रमितले अन्य दर्जनौँ बिरामीलाई संक्रमण फैलाउन सक्छ । पहिले अशक्तको वास हुने त्यस्ता स्थानमा संक्रमित फैलिएमा धेरैलाई इन्टेन्सिभ स्यहारको आवश्यकता हुन्छ । यदि संक्रमण नियन्त्रण गर्ने प्रयास सफल भएन भने संक्रमितलाई अन्यत्रका अस्थायी आवासमा सार्नुपर्ने हुन सक्छ ।

सियाटलले संक्रमित बेघरबाट अन्य बेघरमा रोग नसरोस् भनेर संक्रमितलाई राख्न मोटेल प्रयोग गरिरहेको छ । एकपटक जोखिमा रहेका जनसंख्यालाई परीक्षण गरेपछि मात्र कोरोना भाइरस संक्रमणको लक्षण देखिएका अन्य मानिसको परीक्षण सुरु गर्नु उपयुक्त हुन्छ । तर, यहाँ एउटा महत्वपूर्ण विषय उठ्छ, परीक्षणमा नयाँ पोजिटिभ देखिएपछि उसको सम्पर्कमा आएकाहरूको पहिचान र क्वारेन्टाइनको काम सुरु हुन्छ । 

कुनै व्यक्तिलाई पोजिटिभ देखिएको केही घन्टाभित्र, जनस्वास्थ्यकर्मीले संक्रमित व्यक्तिका हरेक पाइललाई पहिल्याउनुपर्छ । त्यसपछि, फोन कल अथवा म्यासेजमार्फत तिनको सम्पर्कमा आएकाहरू सबैलाई १४ दिन क्वारेन्टाइनमा बस्न आग्रह गरिनुपर्छ । क्वोरन्टाइनमा बसेकाहरूको लक्षणको निगरानी गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सम्पर्कमा आएकाहरूको लक्षण बिकराल बन्दै गएमा जनस्वास्थ्यकर्मीले तिनलाई सम्पर्क गरेर अन्यत्र सार्नुपर्छ । यो कदम समुदायका अन्य हिस्साको सुरक्षाका लागि आवश्यक हुन्छ ।

उदाहरणका लागि म्यानह्याटनमा फोर सिजन होटेलले भाइरस संक्रमितको उपचारमा संलग्न चिकित्सक, नर्स तथा अन्य स्वास्थ्य कर्मचारीलाई निःशुल्क कोठाको व्यवस्था गरेको छ । ती कर्मचारी तिनको घरमा जाँदा परिवारका अन्य सदस्यलाई रोगको संक्रमण हुने डरले होटेलले उक्त कदम उठाएको हो । केही समूहलाई घरमा क्वारेन्टाइनका लागि आर्थिक अभाव भोग्नुपर्ने हुन सक्छ । तिनको लागि सार्वजनिक कोषको उपभोग गरिनुपर्छ । 

अमेरिकाले उसको राज्य र स्थानीय जनस्वास्थ्य निकायमा प्रकोपविरुद्ध कदम उठाउन पर्याप्त कर्मचारी र स्रोतको अभाव छ भन्नु गैरजिम्मेवारी हुन्छ । चीनको वुहानमा मात्रै संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गर्न १८ हजार व्यक्ति खटाइएको थियो । तर, दुर्भाग्यवश, अमेरिकाको जनस्वास्थ निकायले विगत सात वर्षमा ३० हजार कर्मचारी गुमाएको छ । यसको पूर्तिका लागि निजी–सार्वजनिक साझेदारी अवलम्बन गरिनुपर्छ । यसअन्तर्गत व्यवसाय तथा सामुदायिक संगठनले कर्मचारी भर्ती गर्ने, सार्वजनिक स्वास्थ्य विद्यालयले तिनको तालिम गराउन सहयोग गर्ने र स्वास्थ्य निकायले ती जनस्वास्थ्यकर्मीको फौज परीक्षणपछि गरिनुपर्ने कार्य सञ्चालन गर्न आक्रामक रूपले परिचालन गरिनुपर्छ ।

बिमादाता र अन्य प्रमुख उपभोक्ता व्यवसायले तिनको कल सेन्टरलाई तालिम प्राप्त चिकित्सक र कर्मचारी प्रदान गर्नुपर्छ । ती कल सेन्टरमा फोन गर्नेलाई आइसोलेसन तथा क्वारेन्टाइनका आवश्यकताबारे प्रस्ट्याइनेछ । त्यसका साथै त्यो समयमा आवश्यक स्रोतबारे जानकारी पनि गराइनेछन् । जसको बस्नलाई घर छैन, तिनका लागि बसोवासको व्यवस्था गर्नुपर्छ । यसका लागि होटेल, होस्टलका कोठा र अन्य सम्मेलन भवनको प्रयोग गर्न सकिन्छ । यो सब सुरु गर्न बृहत् परीक्षण पर्खेर बसिरहनुपर्दैन । 

लक्षण पहिचानले संक्रमणको जोखिममा रहेका मानिसको जानकारी गराउँछ । र, तदअनुरूप कदम चालिनुपर्छ । त्यसले कल सेन्टर, संक्रमितको सम्पर्कमा आएकाहरू पहिल्याउने र आइसोलेसनमा बस्दा सहयोग गर्ने कुरालाई अहिले व्यवस्थित गर्नुपर्छ । जब परीक्षण थप उपलब्ध हुँदै जान्छ, फलोअप रणनीति थप प्रभावकारी बन्नेछ । अमेरिकाका लागि महत्वपूर्ण प्रश्न कति धेरै कोरोना भाइरस परीक्षण गर्ने भन्ने होइन, बरु रोग पहिचानपछि थप कदम उठाइयो कि उठाइएन भन्ने हो । अहिले परीक्षण सामग्रीको अभावको समयमा संक्रमणको लक्षण नदेखिएका वा हल्का अस्वस्थ देखिएका संक्रमितलाई घरमै बस्ने व्यवस्था गरेर, रोगको विस्तार गर्ने जोखिम भएका समूहमाथि ध्यान दिनुपर्छ । कोरोना भाइरसविरुद्ध जति छिटो कदम उठायो, रोगको विस्तार त्यति नै प्रभावकारी रूपमा रोकिनेछ । यी कदमले कालान्तरमा हाम्रै स्वास्थ्यको भलाइ गर्नेछ । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

लेखकद्वय जोन हप्किन्स विश्वविद्यालयका फ्याकल्टी सदस्य हुन् ।