१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मेरी कोम, भारतीय बक्सिङ खेलाडी
एजेन्सी नयाँ दिल्ली
२०७६ चैत २१ शुक्रबार ०७:१२:००
Read Time : > 1 मिनेट
खेलकुद

ओलम्पिक स्वर्णपछि मात्र सन्न्यास : मेरी कोम

Read Time : > 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
२०७६ चैत २१ शुक्रबार ०७:१२:००

भारतीय महिला मुक्केबाज मेरी कोमले जीवनमा एउटा लक्ष्य राखेकी छिन्, ओलम्पिक स्वर्ण । ओलम्पिक स्वर्णबाहेक उनको करिअरमा अब अर्को लक्ष्य नै छैन । यद्यपि, आफ्नो तौल समूहमा ६ पटकसम्म विश्व च्याम्पियन बनेकी मेरी कोमले भारतलाई ओलम्पिकमा स्वर्ण दिलाउन सबै किसिमका प्रयास गरिने बताएकी छिन् । २०१२ लन्डन ओलम्पिककी कास्यपदक विजेता मेरी कोम २०१६ को रियो ओलम्पिकमा छनोट हुन सकिनन् । 

योपटक छनोट चरण पारी गरी मेरी कोमले टोकियो ओलम्पिकमा आफ्नो स्थान पक्का गरिन् । कोरोना भाइरसका कारण टोकियो ओलम्पिक अब अर्को वर्ष निर्धारित मितिमै हुनेछ । यसको अर्थ मेरी कोमजस्ता ओलम्पिकमा छनोट भएका अन्य खेलाडीलाई डेढ वर्ष तयारीको समय रहेको छ । अर्को वर्ष ओलम्पिकमा सहभागी हुँदा मेरी कोम ३८ वर्षकी हुनेछिन् ।

यो उमेर भनेको सक्रिय खेल जीवनबाट सन्न्यासको क्षण हो । धेरैजसो खेलाडीले यो उमेरसम्म आफ्नो खेल जारी राख्दैनन् । अपवादका रूपमा थोरै खेलाडी मात्र ३८ वर्षपछि पनि खेलिरहेका छन् । खेल जीवनकै सुन्दर सपना साकार पार्न अग्रसर भएकी मेरी कोम उमेर बाधक नहुने बताउँछिन् । खेलमा आवश्यक पर्ने पक्ष नै आत्मविश्वास हो । यही दरिलो आत्मविश्वासले गर्दा नै उनले टोकियो ओलम्पिकमा भारतलाई स्वर्ण दिलाउने हिम्मत राखेकी हुन् । 

मेरी कोमका आलोचकहरूले उमेरकै कारण उनी भारतलाई पदक दिलाउन नसक्ने दाबी गर्दै हिँडेका छन् । आफ्ना आलोचकको भनाइसँग असहमति जनाउँदै मेरी कोमले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्ताबाटै गतिलो उत्तर फर्काइन् । ‘मेरो एक मात्र लक्ष्य ओलम्पिक स्वर्ण हो, लक्ष्य पूरा नहुँदासम्म मेरो शरीरले आराम पाउँदैन,’ उनले भनिन्, ‘उमेरको मापदण्डअनुसार सन्न्यास लिने समय हो, तर म लक्ष्य भेट्टाएर छाड्छु ।’ 

सन्न्यास लिने उमेरमा पनि भारतलाई स्वर्ण दिलाउने उद्देश्यका साथ मिहिनेत गरिरहेको उनको भनाइ छ । ‘मेरो ध्यान केवल भारतलाई स्वर्ण दिलाउनमै छ, यो उमेरमा पनि अभ्यास गरिरहेको छु,’ उनले भनिन्, ‘ओलम्पिकमा छनोट हुन पनि आफैँमा कठिन थियो ।’ खेलमा इमानदारी तथा मिहिनेतका कारण नै ओलम्पिक छनोटमा सफलता पाएको उनले बताइन् । 

‘मसँग सफलताको कुनै मन्त्र छैन, इमानदारिता र मिहिनेतकै कारण आज यो स्थानमा छु,’ उनी भन्छिन्, ‘जीवनमा उतारचढाव आइरहन्छ, तर सपनालाई पूरा गर्न ध्यानकेन्द्रित गरिराख्नुपर्छ ।’ यसैबीच मेरी कोमले कोरोना भाइरसविरुद्ध लडिरहेको बताएकी छिन् । घरमै सेल्फ आइसोलेसनमा बसेको जानकारी उनले दिएकी छिन् ।