मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ चैत २० बिहीबार ११:११:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा सामाजिक सञ्जाल : कोही 'पुसअप च्यालेन्ज'मा, कोही पुराना तस्बिरमा

Read Time : > 2 मिनेट
२०७६ चैत २० बिहीबार ११:११:००

अभिनेता तथा पाइलट विजय लामा यतिवेला सामाजिक सञ्जालमा ‘पुसअप च्यालेन्ज’मा व्यस्त देखिन्छन् । आफ्नो फेसबुक पेजमार्फत उनले यसबीचमा सातपटक साथीहरूलाई च्यालेन्ज गरिसकेका छन् । आफूले पुसअप गर्दै गरेको भिडियो फेसबुकमा हाल्ने र च्यालेन्ज गर्न मन लागेका साथीलाई ट्याग गर्ने । पहिलो भिडियोमा ५० पटक पुसअप गरेर साथीहरूलाई त्यति नै पु-याउन च्यालेन्ज दिएका लामाले सातौँ भिडियोमा त्यसलाई ७० पटक पु-याएका छन् । एउटा भिडियोमा कमेन्ट गर्दै निर्देशक दीपेन्द्र लामाले लेखेका छन्, ‘इनर्जी यसरी बढिरहे लकडाउनपछि तपाईंलाई एरोप्लेन चाहिँदैन, आफैँ उड्न सक्नुहुन्छ ।’

कोभिड–१९ ले भौतिक शरीरलाई सामाजिक दूरीमा राख्न बाध्य बनाएको वेलामा सामाजिक सञ्जालहरूले भर्चुअल दुनियाँमार्फत त्यो दूरी घटाउन मद्दत गरिरहेका छन् ।

यस्तै, अभिनेत्री वर्षा राउतले गत सोमबार फेसबुकमा आफ्नो तस्बिर अपलोड गरिन् । तर, आफ्नो एकल तस्बिरमा उनले साथीहरूलाई पनि ट्याग गरिन् । खासमा, उनले ट्याग च्यालेन्ज गरेकी थिइन् । उनलाई त्यसका लागि प्रेरित गरेकी थिइन्, नासिरा शाहले । शाहले आफ्नो तस्बिरमा राउतलाई ट्याग गरेर लकडाउनमा सामाजिक सञ्जालमार्फत मनोरञ्जन लिने विधि सिकाइदिइन् । राउत पनि के कम ! साथीहरूलाई ट्याग गरेर आफ्नोतर्फबाट पनि च्यालेन्ज सुरु गरिन् । पट्यारलाग्दो दैनिकीमा आपसी स्नेह प्रकट गर्ने नयाँ शैली पछ्याएका हुन्, उनीहरूले ।

मिस नेवाः २०११ सुनिता डंगोलको कुरा फरक छ । उनी फेसबुक लाइभमार्फत हरेक साँझ रञ्जना लिपि सिकाइरहेकी छन् । लकडाउन सुरु भएकै साँझदेखि उनले समय बिताउने नयाँ शैली पछ्याएकी हुन् ।

लकडाउन घोषणा भएयता खासगरी फेसबुकमा यस्ता धेरै रमाइला गतिविधि देखिइरहेका छन् । इलामका वसन्त अधिकारीले लकडाउनको फुर्सदिलो दैनिकीलाई मनोरञ्जनको माध्यम बनाएका छन् । पहिलो दिन उनले लेखे– घरअगाडिको बाटो भएर ३९ जना मानिस हिँडे, जसमा महिला–११, पुरुष–१९ र बालबालिका नौजना थिए । तेस्रो दिन उनी घरको छतमा उक्लिए र वरिपरिका घरका छतमा राखिएका ट्यांकी गन्न थाले । ६१ वटा ट्यांकी गन्न भ्याए, जसमा ६ वटा रिजालको, चारवटा हिलटप र नौवटा हिलटेक ब्रान्डका रहेको ठम्याए । अनि लेखे– बाँकीको पहिचान खुलेन । चौथो दिन उनले चिनीका आठ दाना टेबलमा हु-याए । र, एउटा झिँगाले एक दाना सक्न ९० मिनेट लगाउने गरेको पत्ता लगाए ।

संखुवासभाका विष्णु अधिकारी पनि के कम ! गत आइतबार उनले आफ्नै शरीरको गतिविधि नियाले । जसअनुसार आठ हजार चार सय ५३ पटक सास फेरेको, २१ पटक खोकेको, १२ पटक हाँसेको र सात हजार ९९ पटक आँखा झिम्क्याएको गन्न भ्याए । 

त्यति मात्रै होइन । फेसबुकमा साथीभाइका पुराना तस्बिर खोजी–खोजी लाइक र कमेन्ट गर्ने लहरै चलेको छ, यतिवेला । यही लहरमा कतिपयले आफ्ना एल्बम पल्टाउँदै पुराना तस्बिरलाई मोबाइल क्यामेराले खिचेर फेसबुकमा पोस्ट गरिरहेका छन् । अनि एउटै कमेन्टलाई कपी गर्दै पेस्ट गर्ने पनि लहर चलेको छ, सामाजिक सञ्जालमा । 

घरमै सेटअप गर्दै अभिनेता तथा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा ।

‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ, यो फोटोलाई बुस्ट गर्नलाई उठ, यो कोरोनालाई भगाउनलाई उठ’ । भाइरल बनेको एक कमेन्ट हो यो । यस्तै, ‘कृपया कमेन्ट गरिसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुहोला र स्यानिटाइजर लगाउनुहोला’ लेखिएको कमेन्ट पनि धेरैको तस्बिरमा हाल्न भ्याएका छन्, फेसबुक प्रयोगकर्ताले । ‘भन्दा गफ गरेजस्तो, तपाईंको यो जादुमय तस्बिर हेरेपछि मलाई कोरोनासँग लड्ने हौसला मिलेको छ । यो तस्बिर इटाली, चीन, अमेरिकाले पाए भने अर्बौंमा किनेर लैजान्छन् होला’ । यो कमेन्ट पनि भाइरल बनेको छ, यतिवेला ।

फेसबुकमै अर्को ट्रेन्ड पनि छ– साथीलाई आफ्नो स्टाटसमा ट्याग गर्ने अनि तपाईंसँग कहाँ भेट भएको थियो भनेर लेख्ने । खासमा, कोभिड–१९ ले भौतिक शरीरलाई सामाजिक दूरीमा राख्न बाध्य बनाएको वेलामा सामाजिक सञ्जालहरूले भर्चुअल दुनियाँमार्फत त्यो दूरी घटाउन मद्दत गरिरहेका छन् ।

‘यतिवेला साथीभाइ टाढा छन्, सामाजिक सञ्जालले उनीहरूसँग रमाइलो गर्ने बहाना दिएका छन्,’ इलामका अन्वेष थुलुङ भन्छन्, ‘साथीभाइलाई चिल गर्ने मौका बनेको छ, लकडाउन ।’ गुल्मीका जय दीक्षितको भनाइमा संसार नै कोरोनामय भएका वेला सामाजिक सञ्जालमा पनि त्यसकै प्रभाव देख्न सकिन्छ ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्मा पनि यतिवेला सकारात्मक भावनाको विकास अत्यावश्यक देख्छन् । ‘प्रसन्न मुद्राले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ,’ उनी भन्छन्, ‘यो हाँसो र रमाइलो गरेर बिताउनुपर्ने समय हो, जसले मनमा डर पैदा हुनबाट रोक्छ ।’ तर, लामो समय सामाजिक सञ्जालमा बिताउँदा स्वास्थ्यमा नकारात्मक असर पर्नेतर्फ ध्यान दिन उनी सुझाउँछन् । भन्छन्, ‘परिवारभित्रै एकअर्कालाई हँसाउने, चुट्किला भन्ने र रमाइला अनुभव सुनाउँदा अझ प्रभावकारी हुन्छ ।’